कपिलवस्तु । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणलाई ध्यानमा राख्दै विकासका कामलाई अगाडि बढाउनु पर्ने बताएकी छिन् ।
कपिलवस्तुको बाणगंगा २ नन्दनगरस्थित कैलाश आश्रमद्धारा आयोजित २७ औँ ज्ञानमहायज्ञलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले चुरे मानव जिवन समेत भएको बताउँदै प्रकृतिलाई सिगार्दै विकासको गतिलाई अघि बढाउनुपर्नेमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले १२७ फिट अग्लो कैलाश विश्वनाथ ज्योतिलिङ्ग, महायज्ञमा निर्माण गरिएका २ ओटा प्रवेशद्धार, अष्टचिरञ्जिवी मुर्ति र विश्रामलयको अनावरण तथा दुर्गा मन्दिरको पुजा अर्चना गरेकी थिइन् । यस्तै राष्ट्रपति भण्डारीले कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका केही मुलुकमा फैलिरहेको र सोही कारण आफु चिन्तित भएको बताइन् । यसको संक्रमणबाट बच्न राष्ट्रपति भण्डारीले सरकारले अवलम्बन गर्न भनेका सम्पूर्ण स्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह गरिन् ।
राष्ट्रपति भण्डारीले यस अवसरमा कपिलवस्तुवासीसंग भेटघाट गर्ने मौका पाएको भन्दै खुशी व्यक्त समेत गरिन् । शिक्षाको सुरुवात नै गुरुकुलबाट भएको बताउँदै राष्ट्रपति भण्डारीले यस कैलास आश्रमलाई संस्कृत विश्वविद्यालयसंग सहकार्य गर्न सुझाव दिइन् । राष्ट्रपति भण्डारीलाई कैलाश आश्रमको अवलोकन तथा दर्शनको क्रममा आश्रम संचालक समिति, अध्ययनरत बटुकहरुले बजागाजा सहित स्वागत तथा सम्मान गरेका थिए ।






