बालमन्दिरमा पढन आएका छोरा छोरी सम्पर्क बिहिन भएपछि खाेज्दै काठमाडाैं आइन् ७० वर्षिय आमा

सांकेतिक तस्विर

डोटी । सायल गाउँपालिका–२ ग्वाँनी गाउँकी ७० वर्षीया गङ्गादेवी सिंह आफ्ना एक छोरा र छोरीको खोजी गरिदिन काठमाडौँ पुगेकी छिन् । विसं २०५७ मा नाबालक छोरा नरेशबहादुर तथा छोरी दुर्गाकुमारीलाई बालमन्दिरमा पढाउने भन्दै केआइसिंह गाउँपालिका तथा हाल गोदावरी नगरपालिका–८ जमुनाझाडी बस्ने भान्जी नाता पर्ने जगत्रादेवी सिंहले लगेको उनको भनाई छ ।

गङ्गादेवीका ती नाबालक छोराछोरीलाई नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय बालमन्दिर नक्सालमा भर्ना गरेको र पछि ती बालबालिका नेपाल बाल सङ्गठनले दुई वर्ष राखी छोरी दुर्गालाई विसं २०५९ मा स्पेनका नागरिक मार्ता कम्पीलिट तथा छोरा नरेशलाई विसं २०५८ मा इटालीका नागरिक त्रिभिरी फरेन्स्को र बुज्जेरो अन्ना इम्लियालाई धर्मपुत्रका रुपमा पठाएको नेपाल बाल सङ्गठनको रेकर्डमा देखिएको छ ।

ती बालबालिका हालसम्म पनि आमाको फोन सम्पर्कमा नआएपछि ७० वर्षीया गङ्गादेवी आफ्ना छोराछोरीको अवस्था बुझिदिन अहिले काठमाडौँ पुगेकी हुन् । घरमा अन्य परिवारका सदस्य नभएको र छोराछोरीको पनि अवस्था वर्षौंसम्म अज्ञात रहेका कारण उनीहरुको अवस्था बुझ्नका लागि आफू काठमाडौँ पुगेको गङ्गादेवीले बताइन् ।

‘निःशुल्क पढाउँछौँ भनेर छोराछोरी घरबाट ल्याए, अहिले उनीहरु काँ छन्, के गर्दैछन्, कुनै अत्तोपत्तो छैन, म मर्ने अवस्थामा पुगी सके, मेरा छोराछोरीसँग मेरो भेट गराइदिनु प-यो ।’ गङ्गादेवीका छोराछोरी बाल सङ्गठनको जिम्मा दिने उनकी भान्जी नाता पर्ने जगत्रादेवीले ती बालबालिका अहिले कहाँ छन् आफूलाई पनि जानकारी नभएको बताउँदै आएको पीडित आमाको गुनासो छ ।

‘भान्जीले पनि मलाई बालबालिका कहाँ छन्, जानकारी छैन सबै मिलेर खोजौँ भन्छिन्, म बूढी मान्छे कहाँ खोजौँ, मेरो अवस्था यस्तो छ ।’ गंगादेवीले भनिन् ।

नरेश तथा दुर्गाकुमारीलाई पढाउने जिम्मा लिई पछि धर्मपुत्रका रुपमा स्पेन र इटालीका नागरिकलाई जिम्मा दिने नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय बालमन्दिर नक्सालमा समेत ती बालबालिकाका ’boutमा थप कुनै खबर आएको रेकर्ड छैन । सो सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले २१ वर्ष अगाडि ती बालबालिका बाल सङ्गठनमा भर्ना गरेको तथा उनीहरु स्पेन र इटालीमा पठाइएको भन्ने रेकर्ड मात्रै आफू कहाँ भएको बताइन् ।

उनले भनिन् ‘आफ्ना छोराछोरीको अवस्था बुझ्नका लागि आमा गङ्गादेवी आउनुभएको थियो, नरेश र दुर्गालाई स्पेन र इटालीका नागरिकले धर्मपुत्रका रुपमा लगेको भन्ने रेकर्ड छ, बाँकी हामीसँग अन्य कुनै कागजपत्र छैन, बालबालिका खोजी गर्नका लागि हामी पनि पहल गर्छौं ।’

हालसम्म अवस्था अज्ञात रहेका ती बालबालिकाको खोजीका लागि महिला तथा बालबालिका मन्त्रालयबाट पहल गरे चाँडो पत्ता लाग्ने अध्यक्ष न्यौपानेले जानकारी दिए । वर्षौंदेखि अवस्था अज्ञात रहेका आफ्ना छोराछोरीको खोजीका लागि आमा गङ्गादेवीले विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज, अधिकारकर्मीलगायत सबैमा आग्रह गरेकी छिन् । दुई छोराछोरीको अवस्था वर्षौंदेखि अज्ञात रहेपछि अहिले गङ्गादेवी साहराविहीन भएकी छिन् । रासस

तपाइको प्रतिक्रिया
(Visited 324 times, 1 visits today)

epaper

ताजा समाचार

‘७ वर्षमा १५० खर्बको अर्थतन्त्र’