काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रूपैयाँको कारोबार भएको छ ।
सोमबार सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको एक दिनमा मात्र १७ करोड १५ लाख ९३ हजार १ सय २८ रूपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, नेसनल हाइड्रो पावरको १५ करोड ३२ लाख, हिमालयन डिस्टिलरीको १४ करोड ९७ लाख, महालक्ष्मी विकास बैंकको १४ करोड ४५ लाख र एनटीसीको १३ करोड ९२ लाखभन्दा माथिको कारोबार भएको छ ।
लगातार ओरालो लागेको सेयर बजारमा सोमबार सुधार भएपछि लगानीकर्ता हौसिएका छन् । सोमबार परिसूचक ‘नेप्से’ ३२.२२ अंकले बढेर २५४६.०९ बिन्दुमा उक्लिएको छ । आइतबार नेप्से ७२.३० अंकले घटेर २५१३.८९ बिन्दुमा ओर्लिएको थियो ।
आइतबारको तुलनामा कारोबार रकम केही बढेको छ । आइतबार चार अर्ब ९ करोड ७ लाख ६५ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार बढेर ४ अर्ब ५४ करोड २३ लाख ५४ हजार रूपैयाँको कारोबार भएको छ । सोमबार कारोबारमा आएका २ सय २७ कम्पनीका ९४ लाख ७१ हजार ३ सय ३१ कित्ता सेयर किनबेच भएका छन् ।
सोमबार ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.६३ अंकले बढेर ४८०.९७ बिन्दुमा पुगेको छ ।
१३ वटै उपसमूहको परिसूचक सकारात्मक बनेका छन् । सोमबार सबैभन्दा धेरै विकास बैंक उपसमूहको सेयर मूल्य बढेको छ । यस उपसमूहको सेयर मूल्य यस दिन ३.४५ प्रतिशतले बढेको छ । यस्तै, जलविद्युत् कम्पनी र फाइनान्स कम्पनी उपसमूहको सेयर मूल्य यस दिन २.८८ र २.५४ प्रतिशतले बढेको नेप्सेले जानकारी दिएको छ ।
सोमबार मेरो माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ । यस्तै, कृषि विकास बैंकको सेयर पनि आज सकारात्मक सर्किट लेबलमा कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
आइतबार सबैभन्दा धेरै गुमाउने कम्पनी जनउत्थान लघुवित्त वित्तीय संस्था रहेको छ । यस संस्थाको सेयर मूल्यमा यस दिन ६.८८ प्रतिशतले गिरावट आएको छ ।