काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिन एकान्तबास रहने भएका छन् ।
पार्टी राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने ‘राजनीतिक प्रतिवेदन’ लेख्न उनी एकान्तबास हुने भएका हुन् । स्रोतका अनुसार सोमबारदेखि उनी एकान्तबास भई प्रतिवेदन लेखनमा जुटेका छन् ।
‘पार्टी कार्यालय तथा निवासमा भीडभाड भइरहेको छ । दिनहुँ भेटघाट, कार्यक्रमका कारण प्रतिवेदन लेख्नमा अप्ठयारो भइरहेको छ,’ स्रोत भन्छ, ‘उहाँ दुई तीन दिन एकान्तबास भएर सम्पूर्ण समय दस्तावेज लेखनमा लाग्नुहुन्छ ।’
प्रचण्ड दस्तावेज तयार पार्न काठमाडौं उपत्यकानजिकै जान लागेका छन् । भीडभाडले दस्तावेज तयार पार्नका लागि अधूरै रहने भन्दै प्रचण्ड काठमाडौं उपत्यकानजिकै जान लागेको स्रोत बताउँछ । दस्तावेज, अध्ययन र आराम गर्न उनी अरुबेला पनि हात्तीवन रिसोर्ट, सिन्धुपाल्चोक सुकुने जाने गरेका छन् । यसपटक भने ‘कहाँ जाने ?’ भन्ने खुलाइएको छैन ।
माओवादी केन्द्रले ११ देखि १३ पुसमा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै छ । यसका लागि विभिन्न समिति गठन तयारीसमेत तीव्र बनाइएको छ ।
यता, केन्द्रले विधान परिमार्जनसमेत गर्ने भएको छ । सम्मेलनमा प्रस्तुत गर्ने विधानमा आवश्यक परिमार्जन गर्न स्थायी कमिटी सदस्य देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका यादवसम्मिलित विधान मस्यौदा समिति गठन गरिएको छ । समिति आन्तरिक तयारीमा जुटिसकेको छ ।
महाधिवेशनबाट ‘बहुपदीय मोडेल’मा जान लागेको माओवादी केन्द्रले पदाधिकारी र सदस्य खाका तय गर्नेछ । विधान मस्यौदा समितिले प्रस्ताव गरेको विधान आवश्यक संशोधनसहित महाधिवेशनबाट पारित भएपछि सोही अनुसार नेतृत्व चयन हुनेछ ।
पालिका र वडा अधिवेशन गरिसकेको माओवादी केन्द्रले आगामी २५ मंसिरमा सातै प्रदेश सम्मेलन गर्दै छ । महाधिवेशन प्रतिनिधि छनोटसमे सँगै गर्ने तयारी छ ।
माओवादी केन्द्र स्थायी कमिटी सदस्य गणेश साह राष्ट्रिय सम्मेलनको आन्तरिक तयारी तीव्र रूपमा भइरहेको बताउ“छन् । ‘राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न गर्न तयारी तीव्र भइरहेको छ, यसअघि हामी अहिले प्रदेश तह सम्मेलन गर्दैछौं,’ उनी भन्छन्, ‘पालिका र वडा तह सम्मेलन सम्पन्न गरेका छौं । बाँकी केही ठाउँमा सम्पन्न गर्ने तयारी छ ।’
प्रदेश सम्मेलन उद्घाटन अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम छ । नेतृत्व चयन गर्दा सर्वसम्मत र त्यसो हुन नसकेको अवस्थामा लोकतान्त्रिक प्रक्रियाअनुसार अघि बढ्ने ‘सर्कुलर’ माओवादी केन्द्रको छ ।






