काठमाडौँ । चलचित्र कठपुतलीको ट्रेलर हेर्दै गर्दा बुधबार अभिनेत्री गौरी मल्लदेखि मिथिला शर्मासम्मलाई आफुहरुले दर्शकलाई तर्साउन सकियो की सकिएन भन्ने चिन्ता थियो । अरु अभिनयको तुलनामा भूत प्रेतको अभिनय निकै कठिन हुने पनि उनीहरुको भनाई थियो । भूत प्रेत हुन्छ भन्ने विश्वास भएर पनि आफुहरुले प्रत्यक्ष नदेखेका कारण भूत प्रेत बनेर प्रस्तुत हुनको लागि अरु भूमिका भन्दा केही गाह्रो हुने अभिनेत्री गौरी मल्लले बताईन् ।
बलिउडको तुलनामा नेपालमा हरर्र जनराको फिल्म निकै कम बन्ने गरेको छ । यसो हुनुमा यो जनराको फिल्म बनाउन नै गाह्रो भएर पनि हो । कथा ससक्त हुनुका साथै दर्शकलाई फिल्म हेर्दा भयभित बनाउन सकेमात्र यस्ता फिल्म चल्ने सम्बन्धित सिनेकर्मीहरुको कथन छ । हलिउड, बलिउडमा मात्र हैन, दर्शकलाई भूत प्रेतको कथा र चरित्रबाट भयभित बनाउन सक्ने हरर्र फिल्म नेपालमा पनि राम्रो चल्ने गरेको छ ।
यो आधा दशक यता निर्माण भएका हरर जनराको नेपाली चलचित्रमा एक दिन एक रात, सुनकेसरी, पर्व, माला, घर लगायत हुन् । आधा दशकमा ५ वटा मात्र नेपाली हरर जनराको फिल्म निर्माण हुनुले पनि भूत प्रेतको कथामा फिचर फिल्म बनाउन गाह्रो हुने प्रस्ट छ ।
यसरी आधा दशक यता निर्माण भएका यी पाँच नेपाली हरर जनराको फिल्म मध्य सुनकेसरी र घरले राम्रो मुनाफा कमायो । यी दुबै फिल्म मध्यम बजेटको हुनुका साथै राम्रो व्यापार गर्नुले पनि निर्मातालाई मुनाफा भएका हो ।
चलचित्र सुनकेसरीकी निर्माता तथा नायिका ऋचा शर्माका अनुसार फिल्ममा भूत बनेर दर्शकलाई तर्साउनु त्यति सहज कार्य हैन । यसका लागि उनले चलचित्र सुनकेसरीमा सोही अनुसारको मेकअप गरेर भूतको रुपमा प्रस्तुत हुनु परेको थियो । त्यसलाई अझ ससक्त तुल्याउन भूत प्रेतको पात्रलाई एनिमसेनबाट अझ डरलाग्दो बनाईइो । ऋचाले बताए अनुसार सोही कारण चलचित्र सुनकेसरीले दर्शकलाई राम्ररी तर्साउन तथा डराउन सक्यो । तसर्थ दर्शकले यो फिल्मलाई रुचाएको पनि यी अभिनेत्रीको कथन छ । यस्ता फिल्ममा कलाकारको प्रभावशाली अभिनयसँगै एनिमेसन, भिएफएक्सबाट दर्शकको मुटु काँप्न सक्ने दृष्य पस्कनु पर्छ । सोही कारण ससक्त हरर्र जनराको फिल्म बनाउन त्यति सजिलो नभएको पनि उनको कथन थियो ।
व्यबसायिक रुपमा सफल अर्को हरर्र जनराको नेपाली चलचित्र घरलाई पनि दर्शकले मन पराएका थिए । जसका कारणले फिल्मले नेपालमा राम्रै व्यापार ग¥यो । यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन निर्माण गरेका थिए । दुई वर्ष अघि रिलिज भएको यो चलचित्र एउटै घर भित्र छायाँकन गरिएको थियो । फिल्मको भूतको चरित्रमा अभिनेत्री सुरक्षा पन्तलाई सफल रुपमा उतार्न निकै मेहनत गरिएको खनालको कथन छ ।
यस्तै अर्को हरर फिल्म पर्वको व्यापार पनि राम्रै भयो । बाँकी दुई नेपाली हरर फिल्म एक दिन एक रात र मालाले भने सामान्य व्यापार गरे । नेपालमा मात्र हैन, दर्शकलाई हलमा तर्साउन तथा भयभित बनाउन सफल हरर फिल्महरु हलिउड देखि बलिउडसम्म पनि सफल भएका छन् । तर यस्ता हरर फिल्मले दर्शकलाई भयभित बनाउन सकेन भने त्यस्ता फिल्महरु असफल हुने गरेको सिनेकर्मीहरुको कथन छ ।
कलाकारलाई भूत बनेर अभिनय गर्न त गाह्रो हुन्छ नै । अरु फिल्मको तुलनामा भूत प्रेतको कथा समेटेर ‘हरर जनरा’को फिल्म बनाउन झनै गाह्रो हुने गरेको पनि चलचित्रकर्मीहरुको कथन छ । तथापि निर्देशक भिमसेन लामाले हरर जनरामा नयाँ चलचित्र कठपुलती निर्देशन गरेका छन् । यो चलचित्र दर्शकलाई तर्साउन सर्वाधिक सफल भएको भन्दै कठपुतलीले अमेरिकाको एउटा अन्तराष्ट्रिय फिल्म महोत्सबमा उत्कृष्ट हरर फिल्मको अवार्ड नै जितेको छ ।
यही १३ पुषमा रिलिज हुने कठपुतलीले दर्शकलाई रामैसँग भयभित बनाउन सक्ने यसका कलाकारहरुले बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा दाबी गरे । पृथ्वी राना मगरले निर्माण गरेको यो फिल्मलाई सम्पदा मल्लले लेखेकी हुन् । जसमा कर्मा, उषा रजक, गौरी मल्ल, मिथिला शर्मासहितका कलाकारको मुख्य भूमिका छ ।






