न्युयोर्क । कोरोना भाइसर विश्वव्यापी रूपमा फैलिँदै गर्दा विश्वभरिकै मनोरञ्जन बजार प्रभावित भएको छ । कोरोनाको त्रासले सिनेमा हल बन्द हुने क्रम जारी छ । फेसन सो, फिल्म फेस्टिबल, म्युजिक कन्सर्टजस्ता मनोरञ्जन प्रधान कार्यक्रम पनि विश्वव्यापी रूपमा रोकिन थालेका छन् ।
हलिउडमा फिल्म सुटिङ रोकियो
कोरोना भाइरसको संक्रमण अमेरिकामा देखिएपछि यहाँ फिल्म निर्माताले फिल्मको सुटिङ समेत हाललाई रोकेका छन् । अमेरिकामा आधा दर्जन फिल्मको सुटिङ रोकेको हलिउड फिल्म प्रोड्युसर एसोसिएसनले जनाएको छ । अमेरिका बाहिर छायांकन भइरहेको फिल्मलाई पनि छायांकन रोकेर मुलुक फर्कन प्रोड्युसर एसोसिएसनले निर्देश गरेको छ ।
मिसन इम्पोसिबल ७ स्थागित
यसै क्रममा मिसन इम्पोसिबल ७ को सुटिङ चार दिन अघिबाट रोकिएको छ । रिलिजको मिति नजिकिँदै गर्दै यो फिल्मको बाँकी केही छायांकन इटालीमा चलिरहेको थियो । पछिल्लो समय इटालीमा कोरोना भाइरसको संक्रमण बढेको र अमेरिकी सरकारले यस्तो बेलामा सुरक्षित रूपमा आफ्नो मुलुक फर्कन आह्वान गरेको भन्दै मिसन इम्पोसिबल ७ युनिट सुटिङ नै स्थगित गरेर आफ्नो मुलुक फर्केको छ । फिल्मको निर्माण संस्था पारामाउन्टले भनेको छ, ‘हाम्रा कलाकार र क्रिउ मेम्बरको स्वास्थ्य नै हाम्रो पहिलो दायित्व हो । त्यसैले हामीले उनीहरूलाई सुरक्षित राख्नका लागि तत्काल छायांकन रोकेर सुरक्षित स्थानमा पठाएका छौं ।’ अब कोरोनाको प्रभाव केही मत्थर भएपछि तीन सातादेखि एक महिनाभित्रबाट बाँकी छायांकन सुरु गरिने पनि पारामाउन्ट फिक्चरले जनाएको छ ।
फ्रान्स र इटालीमा फिल्म हल बन्द
विश्वव्यापी रूपमा संक्रमण देखिएको कोरोना भाइरसकको प्रभाव र बिरामी बढेपछि इटाली र फ्रान्सले त्यहाँका सिनेमा हलसमेत बन्द गरेको छ । सबै सांगीतिक कार्यक्रम तथा जमघटमा रोक लगाएको छ । फ्रान्समा कोरोनाको प्रभाव निकै बढेपछि त्यहाँको सम्पूर्ण फिल्मको छायांकन एक महिनाका लागि रोकेको त्यहाँको फिल्म प्रोड्युसर एसोसियसनले जनाएको छ । त्यहाँ हुने आधा दर्जन फिल्म फेस्टिबल स्थगित गरिएको छ । फिल्म हलमा पनि दर्शक जान छाडेका छन् । जसका कारण फिल्म हल नै बन्द गर्नुपरेको छ । यही अवस्था इटालीको छ । इटालीको मिलानो फेसनको फेसन सो कोरोनाकै कारण रोकिएको छ । इटालीमा सिनेमा हलमा दर्शक जान छाडेका छन् । त्यहाँको मनोरञ्जनात्मक कार्यक्रम पूर्णधरासयी भएका छन् ।
जेम्स बोन्डको फिल्म रिलिज रोकियो
हलिउडको सबैभन्दा लामो शंखलाअन्तर्गत प्रभावशाली सिक्वेल फिल्म ‘जेम्स बोन्ड’को नयाँ फिल्म ‘नो टाइम टु डाई’को रिलिज रोकिएको छ । यो फिल्मको रियिल यही अप्रिलमा थियो । फिल्मको रिलिजका लागि विश्वव्यापी रूपमा तीव्र प्रचार भइरहेको बेला कोरोना भाइरसको प्रभाव विश्वव्यापी रूपमै फैलिएपछि निर्माण पक्षले यसै साता यो फिल्मको रिलिज स्थगित गरेको छ । जेम्स बोन्डको आधिकारिक ट्वीटरमार्फत यो फिल्मको रिलिज हाललाई रोकेको भन्दै यसबाट पर्ने असर’bout दर्शकसँग माफी मागिएको छ । यो फिल्मको रिलिज अप्रिलबाट यसै वर्षको नोभेम्बर महिना पु¥याइएको छ ।
रोकियो १०औं बेजिङ फिल्म फेस्टिबल
चीनबाट सुरु भएको कोरोना भाइरसले अझै पनि चीनमा गाँजिरहेको छ । कोरोनाको भाइसरको प्रभावबाट चिनियाँहरू अझै मुक्त हुन सकेका छैन । दैनिक यो रोगबाट मृत्यु हुने क्रम चीनमा अझै जारी छ । जसका कारण चिनियाँका मनोरञ्जन बजार पूर्णठप्प भएको छ । बहुसंख्यक प्रान्तमा सिनेमा हल दर्शकबिहीन अवस्थामा छन् । चीन सरकारको आयोजनामा हुने ‘१०औं बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल–२०२०’ कोरोनाको कारण हाललाई स्थगित गरिएको छ । यो महोत्सव अनिश्चित समयका लागि स्थागित गरिएको महोत्सव आयोजक पक्षले जनाएको छ । यो महोत्सव रोक्नुको मुख्य कारण सुरक्षालाई देखाइएको छ, ‘कोरोनको प्रभाव चीनमा बढेको छ । फिल्म महोत्सवमा देश विदेशका सिनेकर्मी तथा दर्शकको सहभागिता हुने भएकाले कोरोना संक्रमणबाट अतिथिलाई जोगाउन महोत्सवलाई कोरोनाको संक्रमणमा सुधार नआएसम्मका लागि रोकिएको हो ।’ आयोजक पक्षले जनाएको छ ।