नायिकाको डोल्पा डायरी : खुसी खोज्ने हो भने कर्णाली जानू

काठमाडौं । अहिले कर्णाली क्षेत्रमा निकै कष्ट छ । डाँडापाखामा सेतमम्मे हिउँ छन् । चौंरी र भेडा लिएर लेक चढेकाहरू भटाभटी बेसी झर्दै छन् । जाडो असाध्यै बढेको छ । कति ठाउँमा तापक्रम माइनसमा छ ।

उकालो ओरालो । हिँड्ने बाटो साँघुरो । त्यस भेगका मान्छेका दुःख कति हो कति । काठमाडौंमा बसेर सुन्दा यस्तै लाग्छ । ‘कर्णाली भनेकै दुःखै दुःखको भारी हो । त्यस्तो दुःख अन्त कतै छैन ।’ तर, नायिका सुरक्षा पन्तलाई कर्णालीवासी दुःखी जस्तो लाग्दैन ।

उनी अहिले कर्णाली क्षेत्रको तिनै सुख्खा डाँडामा हिँउ परेको तस्बिर हेरेर रोमाञ्चित छिन् । एक महिनाअघि मात्रै अपर डोल्पाको सु गाउँबाट फर्केकी सुरक्षालाई लागेको छ, ‘सुटिङ केही दिन लम्बिएको भए त म पनि हिउँसँग रमाउन पाउने थिएँ, कर्णालीवासी जस्तै ।’ दुई महिना हिमाली क्षेत्रमा बसेर काठमाडौं फर्किएकी सुरक्षा पहिलो एक महिना विदेशी फिल्मको सुटिङका क्रममा मनाङ बसिन् ।

लगत्तै चलचित्र ‘बुलाखी’का लागि अपर डोल्पा पुगिन् । ‘सुटिङको सिलसिलामा दुई महिना हिमाली क्षेत्रमा यात्रा गरें । मैले सोचेको र सुनेको भन्दा निकै फरक रहेछ, त्यहाँको जीवनशैली,’ उनले भनिन् । कर्णालीका विषयमा काठमाडौंले गरेको व्याख्या अपुरो भएजस्तो लाग्यो उनलाई । अपर डोल्पाको सु गाउँमा तीन साता बिताएकी सुरक्षाले डोल्पा हिँड्नुअघि सोचेकी थिइन्, मान्छेहरूका दुःख धेरै छन् । जनजीवन असाध्यै कष्टकर छ ।’ तर, उनी जब डोल्पा पुगिन्, काठमाडौंमा बसेर सुनेका सबै कुरा मित्थ्या लाग्यो । ‘कति कुरालाई काठमाडौंले एक्स्ट्रिम व्याख्या गर्दो रहेछ,’ उनले भनिन् । जब सु गाउँ पुगिन् उनलाई लाग्यो, ‘मान्छेको प्रवृत्ति दुःख बेच्ने रैछ । दुःखका कुरालाई सुन्नेले पनि बढो चाख मानेर सुनिदिँदा रहेछन् ।’ डोल्पाका सन्दर्भमा काठमाडौंको बुझाइ छ, ‘प्राकृतिक रूपमा अप्ठयारो ठाउँ । हावा चल्छ । रुखो धूलो उड्छ । हिउँ पर्छ । बाटो अप्ठयारो छलगायत ।’ तर, त्यहीँ जन्मिएर हुर्किएकाहरू भने काठमाडौंवासीको बुझाइमा सहमत छैनन् ।

उनीहरू त्यही अप्ठयारो ठाउँमा यति मज्जाले ‘इन्ज्वाइ’ गरिरहेका छन् । बुढापाकाहरू काठमाडौंलाई खिसी गर्छन् । एक दिन सुटिङ गर्दागर्दै भात खाँदा दिउँसोको चार बज्यो । सुरक्षालगायतको टोली खाना खाँदै थियो । स्थानीय महिलाको एउटा टोली आयो र अचम्म मान्दै हे-यो ।

अपर डोल्पाको सु गाउँमा तीन साता बिताएकी सुरक्षाले डोल्पा हिँड् नुअघि सोचेकी थिइन्, मान्छेहरूका दुःख धेरै छन् । जनजीवन असाध्यै कष्टकर छ ।’ तर, उनी जब डोल्पा पुगिन्, काठमाडौंमा बसेर सुनेका सबै कुरा मित्थ्या लाग्यो ।

त्यहीमध्येकी एउटी महिलाले भनिन्, ‘काठमाडौंका मान्छे सुखी हुन्छन् भन्ने सुनेका थियौं हैन रहेछ । कस्ता दुःखी । यति बेला पनि कसैले भात खान्छ ? हाम्ले त खाजा पनि खाइसकेम् ।’ डोल्पाको हरेक घरको आँगनबाट बिहान उठ्नेबित्तिकै देखिने हिमालको चमकले सुरक्षालाई यति लोभ्याएछ कि काठमाडौं बसेकी उनी अहिले पनि उठेपछि डोल्पाको चिसो हावा मिस गर्दिरहिछन् । ‘बिहान उठेपछि श्वास फेर्दा जुन हावा पाइन्छ, त्यो आनन्दको व्याख्या गर्ने शब्द नै भेटिँदैन,’ उनले डोल्पाको चिसो हावाको महिमा गाइन् ।

सुटिङको सेड्युल ‘टाइट’ भएकाले असाध्यै सुन्दर मानिने सोफेक्सुन्डो ताल घुम्न नपाएकोमा भने उनलाई थकथक लागिरहेको छ । काठमाडौंमा बेलाबेलामा महिला सत्ताको कुरा सुनेकी सुरक्षाले डोल्पा पुगेपछि महिला सत्तासँग साक्षात्कार गर्ने अवसर पाइन् । पुरुषहरू विवाहपछि महिलाकै घर जान्छन् भन्ने सुनेकी मात्रै सुरक्षाले डोल्पा पुगेपछि घरज्वाइँहरूलाई नजिकैबाट नियाल्ने अवसर पाइन् । ‘त्यहाँ प्रायः सबै घरज्वाइँ बस्ने चलन रहेछ,’ उनले भनिन् । उनले घरको कमान्ड सम्हालेर बसेका महिला वास्तवमै खुसी देखिन् ।

तर, घरज्वाइँ बसेका पुरुषमा उत्साह हराएको अनुभव गरिन् उनले । उनको बुझाइमा घरको कमान्ड महिलाले सम्हाल्ने भएपछि कतिपय पुरुष उद्देश्यविहीन हुँदा रहेछन् र केही पुरुष बिहानैदेखि मदिरामा लठ्ठ भएको पनि पाइन् । पुरुष डोमिनेट सोसाइटी बुझेकी सुरक्षाले डोल्पा पुगेपछि अनुभव गरिन्, ‘महिला सत्तामा पनि समाज ठीकठाक चाहिँ हुँदैन रहेछ, हो, महिलामा मातृत्वभाव हुन्छ त्यसकारण उनीहरू पुरुष सत्तामा रहेर पनि घरपरिवार सम्हाल्छन् अनि इन्ज्वाइ गरेर बस्छन् ।’ अर्को गज्जब लाग्दो प्रसंग थियो, स्थानीय मेलापर्व ।

‘त्यहाँ प्रायः सबै घरज्वाइँ बस्ने चलन रहेछ,’ उनले भनिन् । उनले घरको कमान्ड सम्हालेर बसेका महिला वास्तवमै खुसी देखिन् ।

समाजमा सद्भाव कायम गर्न स्थानीय मेलापर्वले भूमिका निर्वाह गरेको उनले अनुभव गरिन् । पहिलोपटक नजिकै बसेर देउता चढेको हेरिन् । देउता चढेको हेरेपछि स्वास्थ्य होइने, आफ्नै किसिमको मान्यता रहेछ डोल्पावासीमा । सुरक्षाको बुझाइमा कतिपय परम्परा रूढिग्रस्त भए पनि समाजमा सद्भाव कायम गर्न तिनै परम्पराले भूमिका निर्वाह गरेको छ । ‘स्थानीय मेलापर्व सम्पन्न गर्न स्थानीय यसरी लाग्नुहुन्छ । सबले यो मेरो आफ्नै काम हो भन्ठानेर गर्ने प्रवृत्ति रहेछ,’ उनले अनुभव साटिन् । युवा पुस्ताको सक्रियतामा कतिपय पर्वलाई छोटो मिठो गर्ने परम्परा चाहिँ त्यहाँ पनि सुरु भएको रहेछ । ‘छोटो मिठो गरेर मोबाइलमा भिडियो खिचेर राख्ने परम्परा चाहिँ त्यहाँ पनि सुरु भएको रहेछ । तर, परम्परा जोगाउन युवा पुस्ताको सक्रियता पनि उस्तै छ,’ उनले भनिन् ।

तीते फापरको रोटी

डोल्पामा सेतो चामल पाइँदैन । सेतो चामल, चाउचाउ, बिस्कुट, लेज, कुर्कुरे खच्चरको ढाड चढेर डोल्पा पुगेको छ । त्यहीँ उत्पादन हुने तीते फापरको रोटी, सिमीभन्दा मिठो चाहिँ हुन्न । फिल्म युनिटको आफ्नै आफ्नै किचन थियो । सहरबाटै लगेको सेतो चामलको भात पाक्थ्यो ।

तर, सुरक्षाले डोल्पा बसुन्जेल तीते फापरको रोटी र सिमी खाइन् । बिहान पिउने गरेको जडिबुटी चिया अहिले पनि मिस गरिरहन्छिन् । प्याकेटको ओखर देखेकी सुरक्षाले बोटमै फलेको ओखर देखेको पनि डोल्पामै हो । ‘थोरै फले पनि प्रोटिनयुक्त वस्तु उत्पादन हुँदोरहेछ कर्णालीमा,’ उनले भनिन् । मासुका परिकार बनाउनमा पनि डोल्पालीहरू सिपालु भएको पाइन् । यी सब हुँदाहुँदै पनि विद्यालय जानैपर्छ भनेर कर गर्ने नहुँदा विद्यालयप्रतिको मोह थोरै भएको पाइन् ।

सरकारी शिक्षक समयमा नपुग्ने समस्या त छ नै स्कुल जान धेरै बाटो हिँड्न पर्दा अभिभावकले ‘जानैपर्छ’ भनेर कर गर्दा रहेनछन् । गाउँमा मेला लाग्दा स्कुलै बन्द हुने परिपाटी चित्त बुझेन सुरक्षालाई । तर, पनि मेडिकल शिक्षा अध्ययनमा डोल्पावासीको उपस्थिति लोभलाग्दो भएको पाइन् । ‘सायद कर्णालीले आरक्षण पाएकाले पनि होला । प्रायः घरमा मेडिकल शिक्षा पढेका मान्छे भेटिन्थ्यो,’ उनले भनिन् । काठमाडौंमा जस्तै सरसफाई डोल्पामा हुन्न ।

त्यहाँ चल्ने हावा र पर्ने हिउँका कारण मान्छे चाहेर पनि काठमाडाैका जस्तै सुकिला हुन सक्दैनन् । सिजनअनुसार हात गोडामा विभिन्न ब्रान्डका लोसन लगाएर हिँड्ने सुरक्षाले आफूलाई कुनै अप्ठ्यारो नभएको बताइन् । ‘मेरो क्यारेक्टर नै त्यस्तै थियो । धेरै सुकिलो भएर बस्न नमिल्ने । नङभित्र मैलो पालेर पनि मैले इन्ज्वाइ गरें,’ उनले भनिन् । आफूले निर्वाह गर्ने चरित्रले त्यहीँको वातावरणमा भिज्न सहज भएको कुरा पनि गरिन् उनले । डोल्पावासीको बुझाइमा काठमाडौं बेसी हो । हिउँपरेको बेला घुम्न जाने ठाउँ । राज्यप्रति त्यति ठूलो गुनासो छैन उनीहरूको । न त अपेक्षा नै ।

अर्ग्यानिक कथामा ‘बुलाखी’

जारीको कथामा बनेको बुलाखीमा मुख्य भूमिका निर्वाह गरेकी सुरक्षाले सोही फिल्मको सुटिङको क्रममा तीन साता डोल्पामा बिताइन् । प्रायः फरक भूमिका निर्वाह गर्न मन पराउने सुरक्षाले धनपति, गोपी, आमालगायतका फिल्ममा अभिनय गरेकी छन् ।

मौलिक कथामा नेपाली चलचित्र बन्नुपर्छ भन्ने मान्यता राख्ने सुरक्षालाई लाग्छ नेपालको आफ्नै ढुकुटीमा यति धेरै अग्र्यानिक कथा छन् । तर, ती कथालाई खोज्ने काम थोरै मात्रै निर्देशकले गरे झैं लाग्छ उनलाई । खासमा उनी सिभिल इन्जिनियर हुन् । इन्जिनियरिङको काम पनि जारी राखेकी छन् । इन्जिनियरिङका काम पनि फिल्म जस्तै छानेर मात्रै गर्छिन् ।

डोल्पाको सौन्दर्य देखेर मोहित भएकी सुरक्षा अर्को कुरामा चिन्तित छिन् । त्यहाँका पुराना घर प्राकृतिक वातानुकूलित र मौलिक छन् । तर, पछिल्लो समय विकासका नाममा सिमेन्ट र टिन जोडेर घर बनाउने प्रवृत्ति देखेर आइन् । आग्रहको भाषामा भन्छिन्, ‘आधुनिक बनाउने नाममा मौलिकता मास्न हुन्न भनेर सिकाउन जरुरी छ ।

मनाङे मितिनी

विदेशी प्रोजेक्टको फिल्म सुटिङका क्रममा मनाङ पुगेकी सुरक्षाले एक महिना पुरै मनाङमा बिताइन् । मनाङ प्राकृतिक रूपमा मात्रै सुन्दर छैन, काठमाडौंले दिन नसक्ने भौतिक सुविधा उपलब्ध गराउने हैसियत राम्रैसँग राख्छ । बुटवलमा हुर्किएकी सुरक्षालाई मनाङ पुगेको बेला मित लगाउने प्रस्ताव आयो ।

फरक परिवेशका व्यक्तिहरूको साइनोले संस्कार, संस्कृति, रहनसहन बुझ्न थप मद्दत पु-याउँछ भन्नेमा सचेत थिइन् उनी । मित मितिनी आफैंमा पवित्र साइनो हो । उनले मित लगाइन् । घ्यु दलेर टाउको ठोकाउनु पर्ने रहेछ । मनाङकै संस्कार अनुरूप मित लगाइन् । जब टीकाटालो सुरु भयो उनी त छक्कै परिन् । ‘मलाई टीका लगाएर दिइएका पैसा र उपहार देखेपछि लाग्यो, हामी त निकै कन्जुस रहेछौं ।’ टीका लगाएर दिएको दक्षिणामा हजारबाहेकको नोटै थिएन ।

तपाइको प्रतिक्रिया
(Visited 1,090 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा केन्द्रीय समिति बैठक सोमबार