भगवती लेमिनेट्सको अर्काे कर्तुत : राजस्व छल्न व्यक्तिका नाममा तीन लाखको चेक र गोप्य कारोबार


काठमाडौं । भगवती लेमिनेट्स प्रालिले राजस्व छली गर्ने उद्देश्यले संस्थामा आउनुपर्ने पैसा व्यक्तिगत रूपमा लिने गरेको अर्को प्रमाण फेला परेको छ । संस्थामा पैसा आउँदा त्यसको हिसाब सरकारलाई देखाउनुपर्ने र सोहीअनुसार राजस्व तिर्नुपर्ने भएकाले सो प्रालिले व्यक्तिगत चेक लिएर गोप्य कारोबार गर्ने गरेको थप प्रमाण फेला परेको हो ।

यसै क्रममा सानेपास्थित सुरज फर्निचर उद्योगका सञ्चालक रवीन्द्र ठाकुरले भगवती लेमिनेट्सका कन्ट्री म्यानेजर विकास सिंहको व्यक्तिगत नाममा ३ लाख रुपैयाँको चेक काटेको पाइएको हो ।

स्रोतका अनुसार सुरज फर्निचरले भगवती लेमिनेट्सबाट विभिन्न फर्निचर ल्याए पनि भगवती लेमिनेट्सको नाममा चेक काट्दा त्यो हिसाव सिस्टममा देखिने भएकाले प्रालिको नाममा चेक नकाटी गोप्य रूपमा विकास सिंहको नाममा चेक काटिएको छ ।

राजस्व नबुझाउने वा ठगी गर्ने भगवती लेमिनेट्सको ‘ट्याक्स प्लानिङ’को नीति र निर्देशनअनुसार नै सुरज फर्निचरले सिंहको नाममा चेक काटिदिएको स्रोतको दाबी छ । स्रोतका अनुसार अनुसन्धान गर्दै जाने हो भने भगवती लेमिनेट्सले संस्थागत आम्दानी लुकाउन व्यक्तिको नाममा चेक काटेर गोप्य रूपमा करोडौंको कारोबार गरेको भेटिने देखिएको छ, जुन अवैध र गैरकानुनी हो ।

भगवती लेमिनेट्सले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गरेर राजस्व छल्दै आइरहेको छ । सुरज फर्निचरसँग कारोबार गर्दा पनि सो प्रालिले यसरी नै कच्चा बिलमार्फत कारोबार गरेको हो ।

उसले ‘पक्का बिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउन र भित्रभित्रै कारोबार हुने कच्चा बिल वास्तविक कारोबारका लागि प्रयोग गर्ने गरेको छ ।

सो प्रालिले कच्चा बिलको भुक्तानी लिँदा व्यक्तिगत नाममा लिने गरेको छ । यो रकम बैंकमा जम्मा गर्दा भौचर स्लिपमा ‘सापटी भुक्तानी’ आदि लेखेर व्यवस्थापन गर्ने गरिएको छ ।

गत १७ मंसिरको मितिमा सुरज फर्निचरका सञ्चालक ठाकुरले भगवती लेमिनेट्सका कन्ट्री म्यानेजर सिंहको नाममा ३ लाख रुपैयाँ चेक काटेको फेला परेपछि भगवती लेमिनेट्सको थप कर्तुत बाहिर आएको हो ।

लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको सो लेमिनेट्स प्रालिले नक्कली बिल बनाएर करोडौं राजस्व छली गर्दै आएको खुलासा भइसकेको छ ।

कम्पनीले ग्रेडिङ गर्दा थोरै मोटाइको प्लाइलाई ‘ए’ ग्रेडको लेबल तथा ब्रान्डिङ गरी बिक्री गरेको र ग्राहकलाई निम्नस्तरको सामान बिक्री गरी उच्च मूल्य असुली भ्याट बिल बनाई राजस्व छली गरेकोसमेत पाइएको छ ।

भगवती लेमिनेट्सले ‘बी’ ग्रेडिङको प्लाइउडलाई ‘सी’ ग्रेडको मूल्य राखी कर छल्न भ्याट बिल बनाएर थप बद्मासी गर्दै आइरहेको छ ।
३ लाख रुपैयाँको चेक भगवती लेमिनेट्सको नाममा नकाटी विकास सिंहको नाममा किन काटेको भन्ने राजधानीको जिज्ञासामा सुरज फर्निचर उद्योगका सञ्चालक सुरज ठाकुरले भने घुमाउरो जवाफ दिए । उनले सिंह आफ्नो साथी भएकाले उनीबाट सापटी रकम लिएको र सो रकम फिर्ता गरेको दाबी गरे ।

राजधानीको जिज्ञासमा सुरुमा अक्मकिएका ठाकुरले पछि भने सापटी रकम फिर्ता गरिएको बताएका थिए । यद्यपि, उनले झन्डै डेढ वर्षदेखि भगवती लेमिनेट्ससँग आफूहरूले कुनै कारोबार नगरेको समेत दाबी गरे । ३ लाख रुपैयाँको चेक लिएका भगवती लेमिनेट्सका कन्ट्री म्यानेजर सिंहसँग राजधानीले पटकपटक सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन सकेन ।

भगवती लेमिनेट्सले राजस्व छली गर्ने उद्देश्यले सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । नेपालमा नियतवश कर छली गर्ने व्यक्तिविरुद्ध कडा कानुन छ । नक्कली बिल वा अन्डर इनभ्वाइस गरी कर छले ठगिएको रकममा शतप्रतिशत जरिमाना र ६ महिनाको जेल सजाय हुने कानुनी व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 458 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतबीच द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु