कपिलवस्तु । विश्व सिमसार क्षेत्रमा सूचित जगदीशपुर ताल पाहुना चराको आगमनले मनमोहक बनेको छ । ताल भरि जता हे¥यौं त्यतै चरा देखिन थालेपछि पर्यटकहरु मन्त्रमुग्ध बन्न थालेका छन् ।
तालमा अहिले मरुल, सिलसिले हाँस, बिजुला गैरी, सुनजुरे हाँस ,खडखडे र सिन्दुरे हाँस प्रशस्त देखिएका छन् । त्यस्तै सुईरोपुछ्रे, चखेवाचखेवी, बेल्चा ठँुडे, हरिहाँस, नादुन, बगाले सिमकुखुरा, जलेवा, सुईरोठूडे, मालक र हरियो टाउकेहाँस पनि उत्तिकै छन् ।
हिउँद यामको बढ्दो जाडो छल्न नेपालमा पाहुन बनेर चरा आउँछन् । त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, तालतलैया र नदी आसपास हजारौँ चरा बसाई सरी आउने गर्छन् । कतिपयले बच्चा कोरलेर हुर्काएर पनि जाने गर्छन् ।

उत्तरी मुलुक रूस, चीन, मंगोेलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् । त्यस्तै मध्य एसियाका तुर्केमिनिस्तान, अजरबैजान, किर्गिस्तान र साइवेरियाबाट यहाँ चरा आउछन् । नेपालमा वर्सेनी १ सय ५० बढी प्रजातिका चरा आउँछन् ।
जलवायु परिवर्तन र आहारविहारले चरालाई समस्या परिरहे पनि यहाँ भने चरा बढ्नु राम्रो हो चराविद् सोम जिसीले बताए । ‘यसलाई जोगाई राख्न सकियो’ भने ‘यो मुलुकमै चरा अवलोकनको राम्रो गन्तब्य बन्छ ।’ उनले भने । ‘एक÷दुई घण्टामै ४० बढी प्रजातिका चरा देख्न पाउना हुँदा यहाँको महत्व बढेको छ ।’ चराविद् दिनेश गिरीले भने । संख्या बढ्नुले तराईमा जगदीशपुर उपयुक्त बासस्थल हो भन्ने बुझिन्छ । यहा प्रशस्त आहार पाउने र सुरक्षित महसुस गर्ने हुदा चरा वर्सेनी बढ्नु चरा अध्ययन गर्नेलाई उपयुक्त ठाँउ बनेको छ । तालको चारै तर्फ खेत र बालीनाली भएको हुँदा यहाँ चरा आकर्षित भई टाढाटाढाबाट आउने गरेका छन् ।

१ सय ५७ हेक्टरमा फैलिएको ताल कृत्रिम रुपमा बनाइएको मुलुकको सबैभन्दा ठुलो ताल हो । आईयूसिएन नेपालले गरेको एक अध्ययनले यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख गरेको छ । त्यस्तै ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाईने जनाएको छ । त्यस मध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका चराहरु जाडो याममा आउने र ३ प्रजातिका चराहरु आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभवन्य जन्तु पानी बिरालो र ८ प्रजातिका चरा पनि पाइन्छ ।
सन २००३ मा विश्व सिमसार क्षेत्रमा सुचीकृत तालमा प्रशस्त मात्रामा चारो (चराको खानेकुरा) पाइने भएकोले यहाँ आउन रुचाउने डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन मोहन स्यान्डील्य बताउछन् ।









