मोरङ । विराटनगरमा बुधबारदेखि २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
विराट बुद्ध स्पोर्ट्स क्लबको आयोजनामा विराटनगरस्थित डिग्री कलेजको मैदानमा जारी प्रतियोगिताको पहिलो दिन दुई खेल भएका छन् । उद्घाटन खेल बराबरीमा रोकियो भने पहिलो दिन नै भएको दोस्रो खेलमा रेडस्टार कलेजले विजययात्रा शुरु गरेको छ ।
पहिलो खेल गोलरहित बराबरीमा रोकिएपछि विराटनगरका ग्रिनल्याण्ड कलेज र निहारिका कलेजले १–१ अंक बाँडेका छन् । खेलको म्यान अफ द म्याच निहारिकाका झमक मगर घोषित भए ।
दोस्रो खेलमा पथरीको रेडस्टार कलेजले विराटनगरको हिमालय दर्शन कलेजलाई ४–१ गोलमा पराजित ग¥यो । रेडस्टारका लागि ९ औं मिनेटमा ओम राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । ३२ औं मिनेट र खेलको अन्तिम समयमा नामसाङ लिम्बू र ४४ औं मिनेटमा विनायक लिम्बूले गोल गरे ।
हिमालय दर्शनका लागि एक मात्र सान्त्वना गोल नारायण खड्काले गरे । खेलको म्यान अफ द म्याच रेडस्टारका नामसाङ लिम्बू भए । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गरे । उद्घाटन समारोहमा एन्फाका सह–महासचिव वसन्त अर्याल, नेकपा मोरङका युवा तथा खेलकुद विभाग प्रमुख पर्शुराम बस्नेत, क्लबका अध्यक्ष रोहित कोइराला लगायतले खेलाडिहरुलाई शुभकामना दिए ।
प्रतियोगितामा ग्रिनल्याण्ड, निहारिका, रेडस्टार, हिमालय दर्शन, कान्तिपुर, कोसी मल्टिपल, बुद्ध इंग्लिस बोर्डिङ र महेन्द्र मेमोरियल एकेडेमीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षकले नगद १० हजारका साथमा २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा, सर्वाधिक गोलकर्ताले नगद १० हजारका साथमा २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गर्ने छन् ।
यस्तै उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । बिहीबारको पहिलो खेल विराटनगरका कान्तिपुर र कोसी कलेज तथा दोस्रो खेल ग्रामथानको बुद्ध इंग्लिस बोर्डिङ स्कुल र दुहबीको महेन्द्र मेमोरियल एकेडेमीबीच हुनेछ ।






