जनकपुरधाम । जनकपुरस्थित राजधानी संवाददाता सुजीतकुमार झाद्वारा मैथिली भाषामा लिखित अनुसन्धानमूलक पुस्तक ‘पुनि पुनि होत विवाह’ सार्वजनिक भएको छ । सोमवार जनकपुरमा आयोजित एक समारोहका बीच उक्त कृति सार्वजनिक भएको हो ।
रामजानकी विवाह सम्बन्धमा लेखिएको सो पुस्तकको प्रकाशन मधेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको छ । ६८८ पुष्ठको सो पुस्तकलाई यसअघि संघिय संस्कृति मन्त्रालय विद्यापति पुरस्कार कोषले एक लाखको पुरस्कार प्रदान गरेको थियो ।
पुस्तकको लोकार्पण मधेश सरकारको भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले संयुक्त रुपमा गरेका थिए ।

पुस्तकलाई मधेश प्रदेश भित्र रहेका प्रदेश नगरपालिका गाउँपालिका, मन्त्रालय र प्रमुख कार्यालयमा राखिने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले जानकारी दिए । ‘पुस्तकमा रामजानकीको विवाह सम्बन्धी महत्वपूर्ण कुरा आएको छ । बाहिरबाट जानकपुर आउनेहरुले पनि यो पुस्तक मार्फत जनकपुरका वारेमा जानकारी पाउने छन् ।’ मन्त्री महतोले भने ।
भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले मैथिली पुस्तकालय ठाउँमा बनाउन सुझाब दिए । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो समारोहमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनकपुरधामको पहिचान रामजानकीसंग रहेकाले यो पुस्तकले जनकपुरधामको पर्यटन बढाउन सहयोग गर्ने बताए ।






