सुदूरपश्चिममा भारी हिमपात जनजीवन प्रभावित, यातायात अवरूद्ध


बझाङ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भएको छ । बझाङ जिल्लालगायत बाजुरा, दाचुल्ला, बैतडी, डडेल्धुरा, डोटी सबै जिल्लामा हिमपात भएको हो ।

बिहीबार दिउँसोबाट पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात समेत सुरु भएको हो । वर्षासँगै जिल्लाका सबै क्षेत्रमा भने भारी हिमपात सुरु भएको छ । दुई वर्षपछि बझाङको सदरमुकाम चैनपुरमा समेत भारी हिमपात भएको छ । २०७६ सालमा सदरमुकाम चैनपुरमा हिमपात भएको थियो र २०७६ सालपछि २०७८ सालमा हिमपात भएको हो । हिमपात भएसँगै जिल्लाको जनजीवन प्रभावित बनेको छ । रातिदेखि लगातार परेको हिमपातका कारण जिल्लाको टेलिफोन सेवा, यातायात सेवा र विद्युत् सेवा समेत अवरुद्ध बनेको छ ।

भारी हिमपात भएका कारण जयपृथ्वी राजमार्गअन्तर्गत ढोल्यामोड श्रीभावरलगायतका दर्जनभन्दा बढी ठाँउमा बाक्लो हिमपातका कारण जिल्लाबाट लामो दूरीमा चल्ने दर्जनंै सवारी साधन बिच बाटोमै अलपत्र परेका छन् । लगातार हिमपात भइरहेका कारण राजमार्ग सञ्चालनमा ल्याउन समय लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, लगातार परेको वर्षासँगै आएको हिमपातकै कारण विभिन्न ठाँउमा विद्युत्का पोल र तारहरू चुटिएपछि विद्युत् सेवा समेत अवरुद्ध भएको छ । बाक्लो हिमपात भएका कारण कहाँ कति क्षति भयो भन्ने एकीन विवरण छैन । नेपाल विद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रका कार्यालय प्रमुख हरेन्द्र राई यादवले भने श्रीभावर, ढोल्याकोड, दुदिलाखान, अनारखोलीलगायतका दर्जनभन्दा बढी ठाँउमा ३÷४ फिटभन्दा बढी हिमपात भएको छ । तत्कालै जान सकिने अवस्था छैन । बाटोभरि नै हिमपात भएका कारण यातायातका साधनहरू बन्द भएका छन् । त्यसैले विद्युत् सञ्चालन गर्न समय लाग्ने बताए ।

बिहीबारदेखि घाम नलगेका कारण बाँताको लेकमा नेपाल टेलिकमको टावरमा सोलारका ब्याट्री चार्ज हुन नपाउँदा टेलिफोन सेवा समेत अवरुद्ध बनेको नेपाल टेलिकम बझाङ शाखाले जनाएको छ । जसका कारण जिल्लाको जनजीवन निकै नै प्रभावित बनेको छ । असोज र कात्तिक महिनामा आएको बेमौसमी वर्षाले जिल्लाका धेरै स्थानीय तहले निर्माण गरेका सिँचाइ कुलाहरू तहननहस भएपछि अधिकांश स्थानीयको खेतीयोग्य जमिन बाँझै रहेको थियो ।

थलारा गाउँपालिका–९ मालुमेलाका टेकबहादुर खड्काले भने, ‘वर्षाले ठूलो राहात पुगेको छ । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षाका कारण आफूहरूको सिँचाइ कुलो बाढी र पहिरोले तहसनहस पारी दिएको थियो । वर्षासँगै परेको हिमपातले ठूलो सहयोग मिलेको भन्दै उनले खुसी व्यक्त गरे’

यस्तै, बमौसमी वर्षाका कारण सुर्मा गाँउपालिका–२ को डोगडीमा पनि सिँचाइ कुलो बगाएपछि आकासे पानीकै भरमा गहुँ बाली लगाएका डोगडीका किसान पनि हिउँ परेर गहुँ बाली सप्रिने भन्दै खुसी भएका छन् । आफूहरूलाई ठूलो राहत पुगेको छ स्थानीय सुरेन्द्रबहादुर बोहराले भने ‘सिँचाइ कुलो नभएका कारण खेतमा लगाएको गहुँ सबै सुक्न थालेको थियो । हिउँ परेपछि गहुँ बाली नै सप्रिने र केही मात्रामा उब्जनी राम्रो हुने बताए ।’

जिल्लाको विकट साइपाल हिमाल नजिकरहेको साइपाल गाउँपालिकाको जनजीवन सबैभन्दा बढी प्रभावित बनेको छ । बाक्लो हिमपात भएका कारण यहाँका स्थानीय बासिन्दाले बाहिर निस्कन समेत पाएका छैनन् । यस्तै सुर्मा गाउँपालिका, छविसपाथीभेरा गाउँपालिका, मस्टा गाउँपालिका, थलारा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, दुर्गाथली गाउँपालिका, केदार स्युँ गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका र बुंगल नगरपालिकामा समेत हिमपात सुरु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 590 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्रद्वारा पश्चिम नवलपरासीबाट ८० लाख बढीको मोबाइल पार्ट्स् बरामद