जहाँ पञ्चायतकालमा पर्चा लुकाइन्थ्यो

काल : २०१७
काल : पञ्चायत
स्थान : मोती पुस्कालय, चापागाउँ (ललितपुर)

कांग्रेस कार्यकर्ता हेमदत्त राजोपाध्याय, सुनन्द मेहर कायस्थ, दयाराम श्रेष्ठ, माधवनारायण श्रेष्ठ, रामचन्द्र जोशी, रवि विष्ट स्थानीय मोती पुस्तकालयमा ‘पञ्चायती शासन’विरुद्ध योजना बनाउँथे । प्रशिक्षण दिन्थे । जोखिम मोलेर पर्चा छर्न उनीहरू कुनाकाप्चा पुग्थे । छापिएर ल्याइएका पर्चा लुकाउने ठाउँ थियो, मोती पुस्तकालय । ‘कांग्रेस सत्याग्रह’मा सिंहदरबार जानुअघि पनि यही पुस्कालयमा योजना बुनिएको थियो । सत्याग्रहमा जाने उनीहरूमध्ये अहिले विष्टमात्रै जीवित छन् ।



त्यो समय शासकविरुद्ध ढुक्कैले बोल्ने हिम्मत कमैको थियो । जो खुलुर विरोध गर्थे, जेल पर्थे । छलफल, बैठक गुपचुप हुन्थे । राजनीतिक पार्टीमाथि बन्देज थियो । स्थानीय जागरणकै लागि संस्थापक अध्यक्ष लक्ष्मीदत्त राजोपाध्याहरूले पुस्तकालय खोलेका थिए । कठिन र कठोर घडीमा पुस्तकालय नै स्थापना गर्नु शासकका नजरमा अर्को संकट थियो । तर, २०१२ सालमा पुस्तकालय स्थापना भएरै छाड्यो । घरघरबाट पुस्तक संकलन गरियो । कोर्षकादेखि हिन्दी उपन्यास, अंग्रेजी र नेपाल भाषाका पुस्तकसमेत संकलन भए । विधितव् दर्ता भने २०२४ सालमा मात्रै भयो ।

अहिले यही पुस्तकालय जीर्ण छ । बन्द भएकै वर्षौं भइसक्यो । कुनै बेला जागरणको केन्द्र रहेको कान्ति लोकपथछेउको पुस्तकालय अस्तित्व खोजिरहेको छ ।

‘संरक्षण किन हुन सकेन त ?’ पुस्तकालय अध्यक्ष उमेश कायस्थसँग सोधियो । ‘बजेटै छैन,’ कायस्थ सुनाउँछन्, ‘नगरपालिकाले पनि चासो दिएन । बजेटका लागि गयो, बाटो कारण देखाएर पन्छिन्छ । अनि हामीले मात्रै के गर्ने ?’

थकथक त कायस्थलाई पनि लागिरहन्छ । जन्मेदेखि देखिइरहेको पुस्तकालयको बेहाल देखेर उनलाई दिनदिनै घोचिरहन्छ । तर, केही पनि गर्न सकिरहेका छैनन् ।

‘बाटो फराकिलो हुन्छ भनेर कुनै पनि सम्पदा संरक्षण हुन सकिरहेका छैनन्,’ प्रजातन्त्र प्राप्ति र स्थानीय जागरणका लागि खुलेको बन्द पुस्तकालयतिर हेर्दैै अध्यक्ष कायस्थले थपे, ‘यसभित्र ऐतिहासिक पुस्तक छन्, कति त किराले खाइसके, कति हराए । अझै पनि छन् । यसको ढोका नखोलेकै वर्षौं भइसक्यो ।’

ललितपुर सातदोबाटोबाट दक्षिण लागेपछि सोह्रखुट्टे पाटी दुई वटामात्रै छन्, एउटा ठेचो र अर्को चापागाउँमा । मोती पुस्तकालय पहिले पाटी थियो । दक्षिण ललितपुरबाट ‘सहर’ (त्योबेला काठमाडौंलाई सहर भन्थ्यो) जानेहरू यही पाटीमा बास बस्थे । पछि, पाटीलाई पुस्तकालय बनाइयो । कलात्मक ढोका लगाइए । पाटी चिटिक्क पुस्तकालयमा परिणत हुन पुग्यो ।

‘यो ठाउँ त्योबेलाको केन्द्र नै थियो, गाउँका सबै यहीँ भेला हुन्थे,’ कायस्थ सम्झिन्छन्, ‘केटाकेटीदेखि बूढापाकासम्म यही आउँथे । पढ्थे, खेल्थे र गफ गर्थे । पुस्तकालय एकदमै सिस्टममा चलेको थियो ।’

पुस्तकालयमा ट्यूसन पढाउने व्यवस्थासमेत थियो । विभिन्न खेलकुद आयोजना हुन्थे । टेबलटेनिस, फुटबल, चेस, भलिबल पुस्तकालयबाटै आयोजना हुन्थे । जात्राका बेला सांस्कृतिक कार्यक्रम पनि गरिन्थ्यो ।

‘मैले धेरै समय ट्यूसन पढाएँ,’ कायस्थ भन्छन्, ‘पुस्तकालयको आम्दानी ट्यूसन पनि थियो । पछि, त्यो पनि चल्न छोड्यो । आम्दानीका बाटो घट्दै गएपछि निरन्तरता दिन गाह्रो हुँदै गयो । २०६५ सालपछि त पुस्तकालय बन्द नै भयो ।’

पहिले–पहिले डेढ सय मासिक तलबमा दुई कर्मचारी राखिएका थिए । पछि, आम्दानीको स्रोत ठप्पै हुन थालेपछि तलब ख्वाउन्ने नसक्ने अवस्था आइलाग्यो । पुस्तकालय हेरचाहमा बेवास्ता बढ्दै गयो । धेरै सदस्य समय दिन सकेनन् । आम्दानी नहुनु र समयअनुसार पुस्तकालय ‘अपडेट’ नहुँदा झनै समस्या प¥यो ।

‘इन्टरनेट, मोबाइल र कम्प्युटर आउन थालेपछि पुस्तकालयतिर कमैको ध्यान जान थाल्यो,’ निरन्तरता दिन नसकेकोमा थकथकी मानिइरहेका अध्यक्ष कायस्थ भन्छन्, ‘हामी पनि समयअनुसार अघि बढ्न सकेनौं, त्योबेला एउटै कम्प्युटरको ७० हजारदेखि एक लाखसम्म पथ्र्यो । त्यो खरिद गर्ने क्षमता हाम्रो थिएन । यही कारण पनि पछि प-यौं ।’

मोती पुस्तकालय बन्द भएको १३ वर्ष भइसक्यो । गाउँमा अझै पनि कोही नौला मान्छे आउँदा उनीहरूका नजरमा पुस्तकालय पर्ने गर्छन् । अरु ठाउँभन्दा भिन्न र चिटिक्क पुस्तकालय पृथक लाग्छ । ढोकैमा बडेमान दुई प्रस्तर कलाले स्वागत गरेको छ । सोह्रवटा खम्बामा बुट्टा कुँदिएको छ ।

‘अब त भित्र छिर्न पनि डर लाग्दो छ,’ अन्डरग्राउन्ड पुस्तकालय’bout कायस्थले सुनाए, ‘एकपटक मान्छे नै खस्यो । भूइँ एकदमै जीर्ण भइसक्यो ।’ उनका अनुसार पुस्तकालयमुन्तिर उभिने मिल्नेगरी अन्डरग्राउन्ड बनाइएको छ । जहाँ पुराना तरबार राखिएका छन् । जुन, जात्रापर्वका बेला निकालिन्थ्यो । अहिले त्योक्रम पनि बन्द भइसक्यो । पुस्तकालय भित्रका झन्डै १५ सय पुस्तक धमिराले सिध्याइसके । फर्निचरहरू मक्किइसकेका छन् ।

‘सक्यो भने यसलाई पुर्निर्नर्माण नै गर्नुपर्ने अवस्था छ,’ खित्रिक्क हाँस्दै कायस्थले भने, ‘तर, कहिले गर्ने ? कसले गरिदिने ? कि त नगरपालिका नै लागिपर्नुप-यो । स्थानीयलाई चासो नै छैन । ऐतिहासिक पुस्तकालय पुनर्निर्माणका लागि बजेटकै खाँचो छ ।’

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी