९६ वर्षमा कृष्ण बहादुर गुरुङलाई नागरिकता प्रमाणपत्र


लमजुङ । लमजुङमा एक वृद्धले ९६ वर्षमा नागरिकताको प्रमाणपत्र पाएका छन् । यति धेरै वृद्ध उमेरमा नागरिकता लिने उनी पहिलो व्यक्ति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मध्यनेपाल नगरपालिका–२ तान्द्राङ टक्सार गाउँका कृष्णबहादुर गुरुङलाई ९६ वर्षको उमेरमा नागरिकता प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले कृष्णबहादुर गुरुङलाई नागरिकता प्रदान गरेका हुन् । साविक तान्द्राङटक्सार गाविस–१ को तान्द्राङटक्सार गाउँ निवासी कृष्णबहादुर गुरुङलाई जिल्ला प्रशासन कार्यालय लमजुङबाट नागरिकता प्रदान गरिएको हो । गुरुङ बेलायती सेनाका सेवा निवृत्त व्यक्ति समेत हुन् । उनको जन्म १९८२ साल चैत ५ गते भएको हो । उनको उमेर पेन्सनको कागजातबाट पुष्टि भएको छ ।

‘सन् १९४८ सालमा बेलायती सेनामा भर्ती भएका रहेछन् । उनका दुई छोरा रहेका छन् ।’ प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले भने ‘उनीहरूको अंशवन्डा गर्ने कार्यमा समस्या सिर्जना भएपछि छोराले बुबाको नागरिकता प्रमाणपत्र आवश्यक ठाने ।’ उनको नागरिकता बनाउन कान्छा छोरा श्रीप्रसाद गुरुङले सनाखत गर्न जिल्ला प्रशासन कार्यालयमा आएकोे बताए ।

वृद्ध कृष्णबहादुरका दुई छोरा र तीन छोरीहरू छन् । ठूलो छोरा शेरबहादुर गुरुङ, कान्छो छोरा श्रीप्रसाद गुरुङ, जेठी छोरी साबि गुरुङ, माइली तिलु गुरुङ र कान्छी छोरी मंगली गरुङ छन् । कागजातबिना भर्ती भएका उनी मलया (मलेसिया) गएका थिए । केही समयपछि सरुवा भएर सिंगापुर पुगे । मलेसिया र सिंगापुर गरी १५ वर्ष बसेर सेवा निवृत्त भएपछि स्वदेशमा फर्केर घर गृहस्थी गर्न थालेको उनको भनाइ छ । उनी घर, आएपछि पनि घर छाडेर भारतसहित देशका विभिन्न जिल्लामा बसे ।

पछिल्ला ४० वर्षदेखि भने उनी गाउँमै बस्दै आएका थिए । ‘यो अवधिभर नागरिकताको आवश्यकता कहिल्यै परेन ।’ उनले भने । उमेरमा जागिरमा लागेको र धेरै समय घरमा नभएका कारण उनको नागरिताको प्रमाणपत्र यसअघि नबनेको हो । अहिले आएर छोराछोरीको पहलमा उनले नागरिकता पाएका हुन् । नागरिकता के हो भन्ने खासै नबुझेका र थाहा नपाएका कृष्णबहादुर गुरुङले सरकारी अड्डामा आएर त्यो प्रमाणपत्र पाउँदा अचम्म लागेको बताए । ‘हाम्रो पालामा नागरिकता चाहिने थिएन । पेन्सन पनि लिइरहेकै छु । अहिले छोराछोरीले नागरिकता बनाउन भनेपछि बनाउन आएको हुँ ।’ उनले भने, ‘नागरिकता नभए पनि भर्ती भइयो । यो कस्तो हुन्छ भन्ने पनि देखेको थिइनँ, आज देख्न पाएँ । खुसी नै लागेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 436 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग