काठमाडौं । यही १४ फागुनबाट रिलिज गर्ने भनिएको चलचित्र ‘लप्पन छप्पन २’ अन्तत एक साता पछि सरेको छ । यही मितिमा अर्को चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ रिलिज गरिने भएपछि यी दुबै टिम बीच निकै बिबाद बढेको थियो । तर यी चलचित्रका वितरकहरुले दुबै फिल्मको प्रदर्शन मिति मिलाएका छन् ।
चलचित्र म यस्तो गीत गाउँछु २ माघको तेश्रो साता रिलिजको तयार हुँदाहुँदै कोरोनाका कारण हल बन्द भएपछि अन्योलमा परेको थियो । लप्पन छप्पन २ भने १३ फागुनमै रिलिज गर्ने भन्दै प्रचार तिब्र पारिएको थियो । हल सञ्चालक र वितरककै सल्लाहमा म यस्तो गीत गाउँछु २ लाई १३ फागुनमा रिलिजको घोषणा गरियो । यो घोषणाको लप्पन छप्पन २ टिमले विरोध गरेको थियो ।
हल वलाहरुको सँस्था नेपाल चलचित्र संघ र वितरकहरुले आपसी छलफलपछि म यस्तो गीत गाउँछु २ लाई १३ फागुनमा र लप्पन छप्पन २ लाई २० फागुनमा रिलिज गर्ने भएका छन् । सोही अनुसार यतीबेला यी दुबै चलचित्रको निर्माण टिम प्रचार प्रसारमा जुटेको छ । ‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषमा रिलिज हुनेछ ।
मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक गरिएको छ । । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । यही फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।
नेपाल र विदेशमा छायांकन गरिएको फिल्ममा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ । ट्रेलरले मुख्य पात्रले निर्वाह गरेको चरित्रलाई पनि उजागर गरेको छ । पुरुषोत्तम प्रधानले खिचेको सिनेमामा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । सिनेमा फागुन २० गतेबाट रिलिज हुँदैछ ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट सिनेमाको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । सिनेमामा किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।
यस्तै १३ फागुनमा रिलिज हुने चलचित्र म यस्तो गीत गाउँछु २ ले पनि बुधबार पत्रकार भेटघाट गर्दै दुई वटा गीत सार्वजनिक गरेको छ । थारु भाषा र नेवारी भाषाको प्रोमोस्नल गीत सार्वजनिक गरिएको हो । दुबै गीतमा अभिनेता पल शाह, अभिनेत्री पुजा शर्मा सहित स्थानीय कलाकारको अभिनय छ । कोरोनाका कारण तेश्रो पटकसम्म प्रदर्शनी मिति घोषणा गरेर स्थगित भएको यो चलचित्र अब १३ फागुनमा आफुहरुले रिलिज गर्ने यसका निर्माता निर्देशक सुदर्शन थापाले कार्यक्रममा बताए ।