कलाकारिता क्षेत्रको ‘सिंगो प्याकेज’को महाप्रस्थान

काठमाडौं । अग्रज गायक, संगीतकार तथा अभिनेता जयनन्द लामाको ६६ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । उनलाई बुधबार बिहान आफ्नै घरको कम्पाउन्डमा गाडीमा मृत अवस्थामा भेटिएको हो । पारिवारिक स्रोतका अनुसार उनी मंगलबार राति बौद्धबाट घर फर्किएका थिए । तर, उनी घर आएको परिवारलाई जानकारी भएन ।

पारिवारिक सदस्यका अनुसार जयनन्द लामा बेलुका आफ्ना साथीभाइ तथा आफन्तसँग बस्न र खान रुचाउँथे । उनी सुटिङका कारण बेलाबेलामा बाहिरसमेत बस्ने भएकाले मंगलबार राति घर नफर्कंदा उनी बाहिरै बसेको हुन सक्ने भन्दै परिवार सुतेका थिए ।

बिहान ६ बजेतिर आफन्तले उनलाई आफ्नै कारबाट लडेर मृत्यु भएको अवस्थामा भेटेका थिए । ‘बिहान उहाँलाई हामीले खुट्टा कारको ब्रेकमा अड्केको र बाँकी शरीर बाहिर लडेको अवस्थामा भेट्यौं, त्यतिबेलासम्म उहाँको निधन भइसकेको थियो,’ उनका दाइले सञ्चारकर्मीसँग भने ।

ती दाइका अनुसार बुधबार बिहानीपख २ बजेतिर घरबाहिर गाडीको आवाज आएको थियो । तर, कसको गाडी भन्ने थाहा भएन । बिहान जयनन्दलाई मृत अवस्थामा भेट्दा उनकै कार राति आएको रहेछ भन्ने निक्र्योलमा परिवार पुगेका छन् ।

प्रहरीले गरेको अनुसन्धानअनुसार उनी कारबाट ढोका खेलेर बाहिर निक्लने क्रममा ब्रेकमा खुट्टा अड्केर लडेको र सँगैको पर्खालमा टाउको ठोक्किएको देखिएको छ । टाउकोमा गम्भीर चोट थियो । रगत बगेको थियो । सोही समयमा हृदयघातसमेत भएको पोस्टमार्टम रिपोर्टमा देखिएको छ । बुधबार नै उनको पोस्टमार्टम गरिएको थियो ।

उनको शवलाई बुधबार दिउँसोबाट लामा विधिअनुसार विभिन्न शुद्ध गर्ने कार्य गरिँदै छ । बिहीबार बिहान कार्यक्रम राखेर मध्याह्नमा अन्त्येष्टि गर्ने पनि आफन्तजनले बताएका छन् । उनको परिवारमा श्रीमती, दुई छोरा, बुहारी र नातिनातिना रहेका छन् ।

कलाकार जयनन्द लामाको निधनको खबरले आफू स्तब्ध भएको राष्ट्रपति विद्यादेवी भन्डारीले शोक विज्ञप्ति जारी गर्दै बुधबार बताएकी छन् । उनको निधनले मुलुकले एक होनहार कलाकार गुमाएको भन्दै लामाप्रति भन्डारीले श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

यस्तै, नेपाल चलचित्र कलाकार संघले पनि आफ्नो एक होनहार सदस्य तथा राष्ट्रिय कलाकार गुमाएको भन्दै शोक व्यक्त गरेको छ । संघका अध्यक्ष रवीन्द्र खड्काले शोक व्यक्त गरेका छन् । यस्तै, विभिन्न चलचित्रकर्मी, गायक, गायिका, संगीतकर्मीले पनि उनको दुःखद निधनप्रति शोक व्यक्त गरेका छन् ।

कलाकार जयनन्द लामा नेपाली लोकगीतमा एक लोकप्रिय नाम हो । उनी चलचित्रवृत्तमा पनि त्यत्तिकै लोकप्रिय थिए । ६६ वर्षअघि सिन्धुपाल्चोक बाह्रबिसे (हालको बाह्रबिसे नगरपालिका– २) धार्पामा जन्मिएका उनको बाल्यकाल गाउँमै बित्यो । माध्यमिक तह अध्यनका लागि काठमाडांै आएका उनले पद्मोदय माविबाट एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गरेका थिए । स्कुले जीवनबाटै रेडियो नेपाल हुँदै लोक गायनमा लागेका उनले नृत्य निर्देशक भैरवबहादुर थापाको संगतले अभिनय क्षेत्रमा पाइला राखेका थिए । २०३९ सालमा छायांकन भएको चलचित्र मनको बाँधमा उनी कलाकारको रूपमा प्रस्तुत भएका थिए ।

नेपाली चलचित्रवृत्तमा उनको ठूलो योगदान छ । मनको बाँधबाट सुरु भएको उनको अभिनय यात्रा पछिल्लो चलचित्र छक्का पन्जा तथा सांलोसम्म आइपुग्दा १ सयभन्दा बढी फिल्ममा कुशल अभिनय गरिसकेका थिए । उनले २ सयभन्दा बढी टेली चलचित्रमा समेत अभिनय गरेका थिए । अभियनसँगै फिल्म निर्देशनमा समेत योगदान दिएका लामाले ‘माया गर्छु म’, ‘कर्मको फल’, ‘यथार्थ’जस्ता चलचित्रमा अभिनय गरेका थिए ।

उनले १ सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । नेपाली चलचित्र ‘छक्कापन्जा’देखि थुप्रै चलचित्रमा उनको हास्यप्रधान भूमिका सर्वाधिक रुचाइएको थियो ।

पछिल्लो समय हास्य टेलीशृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए । उनले ‘माया गर्छु म’, ‘कर्मको फल’, ‘यथार्थ’लगायतका फिल्मको निर्देशन पनि गरेका थिए ।

जयनन्द लामाले करिब २ सयवटा टेली फिल्ममा अभिनय गरेका थिए । उनले पछिल्लो समय नेपाली लोकदोहोरीको रियालिटी सो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

रेडियो नेपालबाट औपचारिक गायन यात्रा सुरु गरेका लामाले ५ सयभन्दा बढी गीतमा आफ्नो स्वर दिएका थिए । जसमध्ये उनका चर्चित गीतमा ‘कलकत्ते काइँयो केस मेरो बांगो’, ‘पानी प¥यो बलेसी’, ‘हेलम्बु डाँडापारि’, ‘मेरो माया छ भने त्यता’, ‘लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ’, ‘चुईं चुईं चुइँकने जुत्ता’ हुन् ।

यस्तै, ‘केको साँचो डल्ली रेशम फलामको साँचो’, ‘पानको पात’, ‘सलल पानी यही बस्यो बानी’, ‘आँखैमा गाजलु काखैमा मादलु’सहित उनका कैयांै गीत कालजयी एवं लोकप्रिय छन् । उनी लोकभाका संकलक पनि थिए । उनको लय संकलन तथा संगीतमा धेरैले लोकगीत गाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 395 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता