वासिंटन । रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा नयाँ प्रतिबन्धको घोषणा गरेका हुन् । अमेरिकाले रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउनेगरी नयाँ नाकाबन्दीको घोषणा गरेको हो ।
रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै पनि हजारौं नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ ।
रुसले केही महिनाको प्रयासपछि बिहीबारबाट युक्रेनमा हमला गरेको थियो । सैन्य हमलामा परी युक्रेनको राजधानीलगायतका सहरमा केही नागरिकको ज्यान गएको छ । सो हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सवर्गलगायत कैयौं मुख्य सहरमा प्रदर्शन नै भएका थिए । ती प्रदर्शनमा परेर १ हजार ७ सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।
रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रबार दोस्रो दिन हो । रुसले गरेको सो आक्रमणविरुद्ध रुसी राजधानीमा नै युद्धविरोधी नारा लेखिएका प्लेकार्डसहित हजारौं मानिस सडकमा आएका थिए । रुसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौं सहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन् । ती प्रदर्शनमा रुसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ ।
नेटोले युक्रेनमा सेना नपठाउने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ । नेटोका महासचिवले दिएको जानकारीअनुसार नेटोले आफ्ना सेना स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भूभागका दुई सहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने निर्णय गरेको हो ।
रुसले आक्रमण थालेपछि बसेको नेटोको आपतकालीन बैठकमा सो निर्णय भएको नेटोका महासचिव जेन्स स्टोल्टबर्गले जानकारी दिए । उनले यस विषयमा छलफल भएको र अहिले नै नेटोले युक्रेनमा रहनेगरी सेना नपठाउने विषयमा निर्णय भएको जानकारी दिएको समाचारमा जनाइएको छ ।
साथै सो बैठकले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न र रुसी सेना फिर्ता गर्न पनि आग्रह गरेको छ । सो बैठकपछि भनिएको छ, ‘हामीले रुसलाई युक्रेनमाथिको सैन्य हमला तत्कालै रोक्न भनेका छौं र यसरी सैनिक आक्रमणबाट नभएर कूटनीतिक माध्यमबाट यसको समाधानका लागि तयार हुन हामीले भनेका छौं ।’
आईसीसीे युक्रेन संकटबाट चिन्तित
रुसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनमा भएका घटनाक्रमप्रति आफू थप चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले शुक्रबार बताएका छन् ।
‘मैले बढ्दो चिन्ताका साथ युक्रेन र ’roundका घटनाक्रम नजिकबाट नियालेको छु,’ खानले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘यो अत्यावश्यक छ कि द्वन्द्वका सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्नो दायित्वहरूको सम्मान गर्छ । आईसीसीले ‘आफ्नो क्षेत्राधिकारको प्रयोग गर्न र १४ फेब्रुअरी २०१४ पछि युक्रेनको क्षेत्रमा भएको नरसंहार, मानवताविरुद्धको अपराध वा युद्ध अपराधको कुनै पनि कार्यको अनुसन्धान गर्न सक्छ ।’
युक्रेनलाई आर्थिक सहयोग गर्न विश्व बैंक तत्पर
रुसी आक्रमणमा परेको युक्रेनलाई आर्थिक सहयोग गर्न तयार रहेको विश्व बैंकले जनाएको छ । बैंकले वक्तव्य जारी गर्दै आपतकालीन आर्थिक सहयोग आवश्यक परेमा उपलब्ध गराउन सकिने उल्लेख गरेको हो ।
रुसले आक्रमण गरेकाले युक्रेनमा अहिले रुससँग लड्नका लागि आर्थिक समस्या परेको चर्चा भइरहेका बेला विश्व बैंकले आवश्यक सहयोग उपलब्ध गराउने भनेको हो । ‘युक्रेनलाई तत्काल आर्थिक सहयोगको आवश्यकता छ भने हामी सहयोग गर्न तत्पर छौं,’ विश्व बैंकद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
युक्रेनमाथि रुसले गरेको आक्रमणको घटनाले विश्वभरिकै अर्थतन्त्रमा असर पार्ने भएकाले पनि बैंक सतर्क हुनुपर्ने अधिकारीहरूको भनाइ छ ।






