काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको फाइनल खेलको टिकट खुलेको दुई मिनेटमै सोल्ड आउट भएको छ । शनिबार हुने उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् ।
फाइनल खेलको टिकट यति छोटो समयमा बिक्री हुनुको मुख्य कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको सीमित दर्शक क्षमता हो । करिब १० हजार दर्शक क्षमताको मैदानमा लाखौँ समर्थकले फाइनल प्रत्यक्ष हेर्न चाहँदा मागअनुसार टिकट उपलब्ध गराउन नसकिएको हो ।
कुल टिकटमध्ये ३० देखि ४० प्रतिशत मात्रै इसेवामार्फत बिक्रीका लागि राखिने गरिएको छ । बाँकी टिकटको व्यवस्थापन नेपाल क्रिकेट संघ (क्यान) आफैँले गर्ने गरेको छ ।
इसेवाका अनुसार टिकट बिक्री खुल्नेबित्तिकै लाखौँ समर्थकले बुकिङको प्रयास गरेका थिए । तर, सीमित टिकट भएकाले थोरैले मात्रै टिकट पाउन सफल भए । इसेवाले टिकट बिक्रीका क्रममा कुनै प्राविधिक समस्या नभएको दाबी गरेको छ ।
टिकट खुलेको दुई मिनेटमै सोल्ड आउट भएपछि फाइनल प्रत्यक्ष हेर्न चाहने धेरै समर्थक निराश बनेका छन् । टिकट नपाएपछि समर्थकहरूले सामाजिक सञ्जालमा आक्रोशसमेत व्यक्त गरिरहेका छन् ।
एनपीएलप्रति बढ्दो दर्शक आकर्षण र क्रिकेटप्रतिको लोकप्रियताका बीच त्रिवि क्रिकेट मैदानको सीमित क्षमताले ठूलो संख्याका समर्थकलाई प्रत्यक्ष खेल हेर्ने अवसरबाट वञ्चित गरेको छ । यसले नेपाली क्रिकेटमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न र बढी दर्शक अट्ने क्रिकेट रंगशालाको आवश्यकता फेरि उजागर गरेको छ ।
सम्बन्धित समाचार
एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित
सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने
फिल्डिङमा सुधार गर्नुपर्नेछ, प्लेअफ पुग्छौँ: सन्दीप लामिछाने
कमल, राधिका र राजकुमारलाई पहिलो दिन अग्रता
विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य
एनपिएलः पोखराद्वारा काठमाण्डुसामु २२५ रनको लक्ष्य
एनपीएल : सकियो लिग चरण, कुन टिमको खेल कस्तो रह्यो ?
एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन






