काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट पारित गर्न शीर्ष नेताबीच शुक्रबार दिनभर छलफल भए पनि कुनै सहमति जुट्न सकेको छैन । नेताहरूबीच सहमति जुट्न नसक्दा एमसीसी मुद्दा झनझन पेचिलो बन्नुका साथै गिजोलिँदै गएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को उपलब्ध निवर्तमान स्थायी कमिटी बैठक एमसीसीको विपक्षमा मतदान गर्ने निष्कर्षमा पुगेको छ । स्थायी कमिटीका सदस्य गणेश साहले एमसीसीको विपक्षमा मतदान गर्ने अडानमा पार्टी रहेको बताए । अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा भएको बैठकमा एमसीसीको विपक्षमा उभिने पूर्वअडानमा अडिग रहने निष्कर्ष नेताको रहेको उनले बताए ।
‘एमसीसीको विपक्षमा उभिने हाम्रो अडान छ । पार्टीले यसअघि नै विपक्षमा उभिने निर्णय गरिसकेको छ । पाँच दलीय गठबन्धन जोगाउने, एमसीसीको विपक्षमा मतदान गर्ने, गठबन्धन जोगाउन नसकिएको अवस्थामा सरकारबाट बाहिरिने र सडक संघर्षमा जानेमा हामी सहमत छौं,’ साहले भने ।
एमसीसीको विरोधमा रहेका दलसँग मोर्चाबन्दी गरेर सडक संघर्षमा जानुपर्ने सुझाव नेताले नेतृत्वलाई दिएका छन् । सोहीअनुसार अध्यक्ष दाहाल अन्य पार्टीका शीर्ष नेतासँग भेटघाट र छलफलमा जुटेका छन् ।
एमसीसीको विपक्षमा उभिने निष्कर्षमा पुगेका दाहालले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वनेता बामदेव गौतमलगायतसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । दाहाल र नेपालबीचमा छलफल हुनुअघि नेपालले प्रधानमन्त्री देउवालाई भेटेका थिए ।
नेताबीच एमसीसी सम्झौता केन्द्रित छलफल भए पनि कुनै ठोस सहमति जुट्न सकेको छैन । जसरी पनि एमसीसी पारित गर्ने अडानमा देउवा भए पनि यथास्थितिमै पारित नगर्ने अडानमा दाहाल र नेपाल रहेका छन् । दाहालसँगको भेटघाटमा नेता गौतमले एमसीसीको विरोधमा मोर्चाबन्दी गर्नुपर्ने सुझाव दिएको दाहालको सचिवालयले जनाएको छ ।
एकीकृत समाजवादीका १४ सांसदलाई कारबाही वा सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा हुनुपर्ने सर्तसहित एमसीसी पारितका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवासमक्ष अडान राख्दै आएका छन् । तर, देउवाले पाँच दलीय गठबन्धन तोड्ने कि एमालेसँग सहकार्य गर्ने भन्ने’bout निर्णय गर्न सकेका छैनन् ।
प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीले यस्तो सर्त राखेको सार्वजनिक भएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले ‘न पोथी न भाले’को चाल देखाएको टिप्पणी गरेका छन् । एमालेले एमसीसी’bout स्पष्ट धारणा नराखेर अहिलेसम्म न पोथी न भालेको चाल देखाइरहेको नेपालको भनाइ छ ।
नेपालले एमसीसी पास गर्ने नाममा एमालेका अध्यक्ष ओलीसँग अनैतिक सम्झौता नगर्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् । एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई बर्खास्त गर्नुपर्ने सर्त राखेकोमा नेपालले दुःख व्यक्त गरेका छन् ।
नेता नेपालले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधान नसच्याएसम्म आफूहरू विपक्षमा रहने स्पष्ट पारेको पनि बताए ।
‘अनेकौं जटिलता देखापरेका छन् । मैले सूचना पाएसम्म विरुद्धमा मुभ गर्ने, त्यस्तो पनि कोसिस भइरहेको छ । त्यो पनि सर्त राखेर मात्रै । त्यो पनि कुनै सर्त होइन, हाम्रा पार्टीका कार्यकर्ता, नेतालाई सांसदबाट बर्खास्त गर्नुपर्ने, सभामुखलाई बर्खास्त गर्नुपर्ने, महाअभियोग लगाउनुपर्ने यस्ता सर्त राखेर त्यसपछि मात्रै एमसीसीमा समर्थन गर्ने भन्ने कुराको प्रस्ताव केपी ओलीबाट आएको भन्ने कुरा छन् । यसले हामीलाई पनि चिन्तित बनाएको छ,’ नेपालले भने ।






