स्पष्ट विदेश नीति अवलम्बन गर्न नसक्नुका कारण नेपालको नीति निर्माणको तह अहिले विदेशी सहयोगका नाममा भित्तेघडीमा लगाइएको ‘पेन्डुलम’ जस्तो यता न उति हल्लिन पुगिरहेको छ । नेपाल सरकार र यहाँका राजनीतिक दलको न त स्पष्ट अडान देखिन्छ, न त विचार र व्यवहार नै । बरु बिहान एकछेउमा रहेका दल, नेता वा पार्टी साँझ पर्दासम्म अर्को छेउमा पुगिसकेका हुन्छन् । एउटाले वार्ता र समझदारी बनाउँदै हिंडिरहेको हुन्छ, अर्कोले बिगार्दै हिंडिरहेको हुन्छ । सत्ता गठबन्धनमै रहेका दल पनि विदेशी सहयोगको एजेन्डामा चटक देखाउँदै नाचिरहेका देखिन्छन् । यस्तो सोच र व्यवहार अत्यन्तै अविश्वसनीय र बचकना देखिने गरेको छ । यसो हुनुको मुख्य कारण नेपालको आफ्नै स्पष्ट विदेश नीति नहुनु र सरकार तथा दलले आआफ्ना पार्टी धारणाका आधारमा व्याख्या र विश्लेषण गर्न थाल्नु नै हो । नेपालले खुला बजार तथा आर्थिक उदारीकरणलाई स्वीकार गरिसकेपछि यसले अबलम्बन गर्दै आएको असंलग्नताको परराष्ट्र नीति ‘पेन्डिङ’को अवस्थामा छ । तर, उदारीकरण अबलम्बन गरेसँगै नेपालको परराष्ट्र नीति कस्तो हुनेछ भन्ने विषयमा नेपालका नीति निर्माण तहका नेता तथा दलको हैसियत र क्षमता नै पुगिसकेको छैन ।
आफ्नै देशको विदेश नीति स्पष्ट हुन नसक्नुका कारण नेपाल सरकार अहिले विदेशीले सहायताका रूपमा बल्छीमा उनेको आहारा टिप्न यता न उता दगुरिरहेको छ । त्यसमा पनि कसको पालामा र कसले टिप्ने भन्ने होडबाजी कायमै छ । बाहिर हेर्दा अहिले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सहयोग ल्याएर नेपालका राजनीतिक दल र सरकारलाई यसको अनुमोदन गरिदिन अनुरोध गरिरहेको छ । यसको आमजनताका माँझमा व्यापक विरोध भइरहेको छ । तर, देशको नीति निर्माण गर्ने थलोमा रहेका नेता तथा सरकारका लागि यो आफूअनुकूल राजनीति गर्ने एजेन्डा कसरी बनाउने भन्ने स्वार्थमा केन्द्रित हुन गएको छ । त्यसैले राजनीतिक पार्टीले गरेका विरोध र समर्थन स्पष्ट परराष्ट्र नीति र विचारमा आधारित छैनन् । नेपालका नेताहरू सेलिब्रिटी हुन निकै लालयित देखिन्छन् । कर्मचारी फिल्डमा हुँदाहुँदै मन्त्री आफूहरू ढोंग रच्दै अनुगमन र निरीक्षणमा निस्कन्छन् । तर, यिनीहरूले आआफ्ना निकायमा स्पष्ट नीति निर्माण गरेका छन् कि छैनन् ? आफूहरू नीति निर्माता हुन् कि निरीक्षणकर्ता, त्यो पनि थाहा पाउँदैनन् । शासन व्यवस्थासम्बन्धी अज्ञानताले उनीहरूलाई यसो गर्न पनि दिएको छैन ।
सरकार र राजनीतिक नेतामा दूरदर्शीता र रणनीतिक सोच देखिँदैन । नेपालले राणाकाल भोग्यो, शाह काल भोग्यो, पञ्चायतकाल र बहुदलीय काल पनि भोग्यो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक काल छ । यो अवस्थामा देश सञ्चालनका लागि पुराना नीतिनियम र सोच विचारले काम गर्ने देखिँदैन । बदलिँदो समयअनुसार यी सबैमा पुुनर्विचार र नयाँ नीति निर्माण गरिनु जरुरी छ । अहिले पञ्चायतकालमा निर्मित तात्कालीन शीतयुद्धकालीन परिस्थितिमा निर्माण गरिएको असंलग्न परराष्ट्र नीति प्रभावकारी हुने पनि देखिँदैन । यसमा समयानुकुल परिमार्जन आवश्यक छ । तर, त्यो क्षमता र दूरदर्शीता नेतामा छैन । उदारीकरण आर्थिक व्यवस्था स्वीकार गरेको धेरै वर्ष बितिसक्यो, तर तदनुरुपको राज्यको नीतिमा कुनै पनि परिमार्जन वा नवनिर्माण गरिएकै छैन । यस’bout नेताको सोच र विचार पुगेकै छैन । त्यसैले पनि नेपाल अहिले विदेशीको रणनीतिक बल्छीमा माछा उनिए झैं उनिनु परिरहेको अवस्था सिर्जना हुन गएको छ । त्यसैले अरूको कुरा गरेर विभाजित हुनुभन्दा, अरूको एजेन्डामा रमाउनुभन्दा आफ्नै हैसियत र अवस्था हेर । समयानुकूल परराष्ट्र नीति निर्माण र अवलम्बन गर ।