संसारका विभिन्न देशहरुमा रहेका नेपालीहरुको नेपाल प्रतिको माया र नेपालीपनबाट कहिल्यै टाढा राख्न सकिदैन । अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्ड रहेको हलिउड स्कुलका संस्थापक ग्राण्ड मास्टर दिवाकर ‘डान’ महर्जनले यो कुरालाई पुष्टि गरिहेका छन् । उनले हलिउड तेक्वान्दो स्कुलको २७ औं स्थापना दिवसलाई नेपाली शैलीमा मनाउँदै अमेरिकामा नेपालको सँस्कृतिको प्रचारप्रसारको काम गरे । हलिउडमा रहेका अमेरिकी विद्यार्थीहरुलाई समेत खादा लगाइदिदा छक्क परेका थिए । उनले अमेरिकामा नेपाल साँस्कृतिक रुपमा कति धनी छ भनेर देखाउनका लागि पनि नेपाली शैलीलाई हरेक कार्यक्रममा देखाउने गरेको बताउँछन् । त्यति मात्र होइन उनले नेपाली परम्परागत चाडपर्वमा समेत अमेरिकीहरुलाई निम्तो गरिरहेका हुन्छन् ।
२७ औं स्थापना दिवसमा वर्षभरीका उत्कृष्ट प्रतिभावान विद्यार्थीहरुलाई खादा ओढाई ट्रफि वितरण समेत गरिएको दिवाकर डान महर्जनले बताउँछन् ।
१९९४ बाट अमेरिकामा तेक्वान्दो प्रशिक्षण गराउँदै महर्जनले नेपालीपनलाई आफूले कहिल्यै नछोडेको बताउँछन् । ‘जसका कारण पनि मलाई सबैले मान्दछन्,’ उनी भन्छन् ।
राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रही नेपालमा तेक्वान्दोका स्थाई प्रशिक्षकका रुपमा काम गर्दा गर्दै उनी अमेरिका पुगेका थिए । नेपालमा त्यतिबेला तेक्वान्दो खेलमा काम गर्ने वातावरण नभएका कारण नै उनी विदेशीन बाध्य भएको बताइन्छ । तर, उनले तेक्वान्दो र देशप्रतिको मोहलाई कम हुन दिएका छैनन् । अमेरिका बसेर पनि नेपालमा तेक्वान्दो खेलको विकास र विस्तारका लागि निरन्तर लागि रहेका छन् ।
सन १९९५ मा यू.एस.बल्र्ड क्लास तेक्वान्दो, हलिउड स्कुल उनले आफै स्थापना गरेका थिए । संयुक्त राज्य अमेरिका ओरेगन राज्यको पोर्टल्याण्ड सहरमा रहेको यू.एस.वल्र्ड क्लास तेक्वान्दो स्कूल यस राज्यको एक उत्कृष्ट तेक्वान्दो स्कुल समेत हो । जसमा प्रशिक्षणका लागि उनको आफ्नै सुविधासम्पन्न भवनमा एउटा मूख्य हल र थप २ वटा गरी ३ वटा प्रशिक्षण हलहरु छन । स्कुलमा सबै अमेरिकन विद्यार्थी रहेका छन् । कोभिड १९ को महामारी हुनु अघि उनको स्कुलमा ३ सय विद्यार्थीले तेक्वान्दो प्रशिक्षण लिन्थे । हाल २ सय ५० को हाराहारीमा विद्यार्थी रहेका छन् चार जना नेपाली विद्यार्थी पनि छन् । ३ बर्षदेखि ६५ बर्षसम्मका विद्यार्थी स्कुलमा रहेका छन् ।






