काठको ठेकी बनाउने पेसा नेपालको मौलिक, स्थानीय र परम्परागत पेसा हो । यो आफैंमा नेपालको मौलिक प्रविधि पनि हो । तर, यो प्रविधि अहिले आएर निकै संकटमा परेको छ । ठेकी बनाउने जस्ता धेरै मौलिक प्रविधि लोप हुन पनि थालिसकेका छन् । यी प्रविधि पेसागत व्यवसायका रूपमा नेपालमा निकै फस्टाएका पनि थिए । समकालीन नेपाली समाजमा प्रयोग गरिने भाँडा धेरैजसो काठका हुनेगर्थे । पछि काठका भाँडालाई पित्तल, तामा, काँस, फलाम, स्टिल र आल्मुनियमका भाँडावर्तनले विस्थापित गर्दै लगे । अहिले त प्लास्टिकका सामान जनजीविकाका साधन बन्न पुगेका छन् । दैनिक जीविकोपार्जन प्रक्रियामा बदला आउनुले पनि काठको ठेकीलगायतका भाँडाकुँडा प्रयोगमा फरक पर्न गएको छ । त्यतिबेला मूलतः कृषि र अर्गानिक कृषिका लागि पशुपालन काठका भाँडाकुँडा बनाउने कुरासँग अन्तरनिर्भर थिए । गाईभैंसीको दूध दुहुने, दही जमाउने, मोही पार्ने, मोही बोक्ने र मोही खाने भाँडा काठबाटै बनेका हुन्थे । काठका ठूला ठूला कोसी, चौकी, ठेकी, गाईभैंसीले पानीखाने डुँड तथा दानादिने भाँडा पनि काठबाट बनेका हुन्थे ।
तर, अहिले जनजीविकाका साधन काठबाट बनेका प्रयोगमा ल्याइएको देखिँदैनन् । राख्न, बोकेर लैजान, हेर्न, प्रयोग गर्न तथा प्राप्तिका हिसाबले पनि स्टिल, आल्मुनियम र प्लास्टिकका भाँडा बढी सहज भएकाले तिनैको प्रचलन व्यापक छ । तर, यी प्रविधि नेपालको मौलिकता बोक्ने प्रविधि पनि होइनन् । यिनले नेपालको पेसा तथा व्यवसायमा टेवा पु¥याएका पनि छैनन् । तर, चेतना अभावका कारण र नयाँ कुराको चाहना र मोहका कारण नेपाली मौलिकता प्रविधि अब्बल लोप हुने अवस्थामा पुगेका छन् । नेपाली समाजमा रहेका पुरानो पुस्तामा पुरानो मौलिकता झल्किने भएकाले काठका भाँडाकुँडामा केही मोह देखिए पनि नयाँ पुस्ता भने यो ज्ञानबाट अलग्गिएको छ । हाल प्रयोग गरिएका सामान नै नेपालका मौलिक र परम्परागत सामान हुन् कि भन्ने उनीहरूमा भ्रम पनि पर्न गएको छ । आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक तथा उत्पादनमा नेपाल परनिर्भर बन्दै जाँदा यस्तो अवस्था सिर्जना हुन गएको छ । यसका लागि सरकार पनि जिम्मेवार छ । जनताका प्रतिनिधिलाई तलब खान र आरामदायी अवस्थाको जीवनयापनसहित संभ्रान्त बनाउनका लागि पठाइएको होइन । उनीहरूले देशको मौलिकता पहिचान गरी संरक्षण र सम्बद्र्धन गरुन् भनेर पठाइएको हो ।
तर, जनप्रतिनिधि धनप्रतिनिधिमा रूपान्तरण हुँदै जाँदा अहिले देशले आफ्नो विशिष्टता र विशिष्ट पहिचान पनि गुमाउने अवस्थामा पुगिसकेको छ । नेपाल के कारणले नेपाल छ र हो ? नेपालका विशिष्ट पहिचानहरू के हुन्, तिनको संरक्षण कसरी गर्ने भन्ने सोच उनीहरूमा छैन । यही कारणले अहिले परम्परागत रूपमा रहेको ठेकी बनाउने प्रविधि र पेसा पनि संकटमा पर्दै गइरहेको हो । नेपालका आफ्ना मौलिक पेसा र व्यवसाय संरक्षणका लागि सरकारले न त प्रोत्साहन नै दिएको छ, न त अनुदान वा सस्तो ब्याजमा ऋण सहयोग नै । त्यसैले पनि यो पेसा र प्रविधि संकटमा पर्दै गइरहेको छ । अर्कोतिर वन फँडानी हुने, काठ तस्करले यस्ता काठको दुरुपयोग गर्ने, सीप भएका मानिसको संख्या कम हुँदै जाने, यो प्रविधि र सीप पुस्तान्तरण नहुने भएकाले पनि यो पेसा लोपोन्मुख छ । त्यसैले सम्बन्धित निकायबाट यसको समयमै संरक्षण गर्न पहल गरिनु अनिवार्य हुन गएको छ ।






