जलवायु परिवर्तनको असर सम्बोधन गर

विश्व जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको छ । नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको छ । जलवायु परिवर्तनका कारण यी तीनवटै क्षेत्र डरलाग्दो गरी प्रभावित भइरहेका छन् । हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण हिउँ पग्लने प्रक्रिया निकै तीव्र छ । हिमरेखा माथिमाथि सर्दै गइरहेको छ । पर्वतारोही अहिले सगरमाथाको वरिपरि पानी देख्दा आश्चर्यमा पर्न थालेका छन् । उनीहरूले जीवनमा कहिल्यै पनि हिउँमाथि पानी नदेखेको कुरा गरिरहेका छन् । अर्कोतिर बेमौसमी वर्षा हुने र त्यसले भीषण बाढीपहिरो निम्त्याउने गरिरहेको छ । नेपालको पहाडी तथा चुरे भूगोल बाढीको उच्च चपेटामा पर्दै गइरहेको छ । दक्षिण एसियामा सबैभन्दा ठूला पहिरो नेपालमा गएको पछिल्ला तथ्यांकले देखाइरहेका छन् । पहाडी भूभागमा पहिरोका कारण कैयौं मानिसको जनजीवन विस्थापित हुन पुगेको छ । खेतीयोग्य जमिन नास हुँदै गएको छ । बस्तीमाथिबाट झरेका पहिरोले मानिसलाई सधैं आतंकित पार्ने गरिरहेका छन् । आकासमा बादल मडारिँदा र चट्याङका आवाज सुन्दा अहिले पनि बस्तीमा चैनको सास फेर्न गाह्रो भएको छ । वर्षात्, बादल र पहिरो नेपालीका लागि त्रास बनेका छन् ।

चुरे पहाडमा अहिले सुख्खा पहिरो गइरहेको छ । दिउँसो अति तातो र रातमा चिसो हुनुको विपरीत प्रक्रियालाई सहन गर्न नसक्दा चुरेमा डरलाग्दा सुख्खा पहिरो गइरहेका छन् । अहिले गइरहेका सुख्खा पहिरोले बर्साद सुरु हुने बेलामा कस्तो रूप लेलान् भनेर चुरेमुनि मैदानमा बसोबास गरिरहेका जनता त्रसित र आतंकित हुन पुगेका छन् । बस्तीहरू डुब्ने, पुरिने र अनउर्वरभूमिमा परिणत हुने आशंका बढेर गएको छ । यसले ल्याउने घरबारबिहीनताको अवस्था कस्तो होला भनेर अहिल्यैदेखि सोच्ने बनाउन थालेको छ । अहिले पनि अत्यधिक वर्ष हुँदा र बाढी पहिरो चल्दा लालाबाला र बाबाआमा गुमाएर रुखको छहारीमा बालबालिका बाँच्नु परेको विडम्बना नेपालीले भोगिरहेका छन् । अहिले पनि बिरलै देखिने, भोगिने र नमेटिने आँसुका आहाल नेपालीमाँझमा सँगालिएका छन् । ढलेका पर्खाल, करेसा, गोठ, कटेराले मानिसलाई तर्साउने गरिरहेका छन् । यी कुराहरू सुन्दा, देख्दा र वर्णन गर्दा दन्त्यकथाजस्ता लागे पनि यी सबै हामी नेपालीले जीवन व्यवहारमा भोगिरहेका यथार्थता हुन् । वर्षासँगै तराइमा बर्सेनि भोग्नु परिरहेको डुबानको समस्या पनि कम छैन ।

त्यसैले सरकारले अबका दिनमा जलवायु परिवर्तनका कारण निम्तिइरहेका समस्याको सम्बोधनका लागि सिर्जनात्मक कार्यक्रम विकास गर्नुपर्छ । जलवायु परिवर्तन आफंैमा दीर्घकालीन समस्या भएकाले यसले निम्त्याउने दीर्घकालीन समस्या समाधानका लागि नीति योजना तथा कार्यक्रम पनि दीर्घकालीन प्रकृतिको हुनुपर्छ । यसका लागि नेपाली मौलिकतामा भोगिरहेका दैनन्दिन जीविकाका समस्यालाई सम्बोधन गर्नेगरी नीति बनाउनुपर्छ । यसो नीति कुनै संस्था वा निकायले होइन, सिंगो राज्यसत्ता र सरकारले बनाउनुपर्छ । नीति, योजना तथा कार्यक्रम मनोगत र अव्यावहारिक हुन नदिन जलवायु परिवर्तनका कारण पीडा भोगिरहेका जनतासँग छलफल गरी तदनुरूप कार्यक्रम तय गरिनुपर्छ । विश्वमा बढी कार्बनउत्सर्जन गर्ने धनी तथा औद्योगिक देशसँग पनि यस’bout स्पष्ट कुरा राखिनुपर्छ । औद्योगिक देशले निर्माण गरेको ‘कार्बन फन्ड’ कार्यान्वयमा ल्याउन प्रभावकारी कदम चाल्न विश्वमा कूटनीतिक वार्ता थालिनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट