डडेल्धुरा । अमरगढी नगरपालिका, बिहानदेखि बेलुकीसम्म पारीतर्फ भारतका सडक र घरहरू देखिन्छन् । साँझ परेपछि झिलिमिली बिजुली बत्ती । तर, गाउँमा उज्यालो छैन । सडक पनि छैन । कक्षा पाँचसम्म पढाइ हुने प्राथमिक विद्यालय छ । स्वास्थ्य संस्था पनि छैन । नेपालका कुनै गाउँहरू पनि देखिँदैनन् । त्यसैले त एउटा आन नै बनेको छ । नङमाथि मासु नाई, चुडी पर गाउँ नाई । अर्थात् उखान बनेको छ । नङमाथि मासु छैन, चुडी पर गाउँ छैन ।
भागेश्वर गाउँपालिका–१ मा पर्ने चुडी गाउँ सीमा नदी महाकालीभन्दा केहीमाथि छ । गाउँबाट महाकाली नदी पुग्न ओरालो करिब १ घण्टा पैदल हिँड्नुपर्छ । महाकाली पारी डाँडामा भारतका तामेली बजारलगायत अन्य गाउँ बजार छन् । त्यहाँ कालोपत्रे सडक, बिजुली बत्तीलगायत मानिसलाई आवश्यक पर्ने सबै सेवा सुविधा छन् । तर, चुडी गाउँमा भने सडक बत्ती केही पनि छैन । करिब २८ घरधुरी रहेको गाउँबाट टाढाटाढासम्म कुनै गाउँबस्ती नै छैनन् ।
सामान्य औषधि उपचारका लागि आधारभूत स्वास्थ्य केन्द्रसम्म करिब २ घण्टा पैदल हिँडेर पत्रम पुग्नुपर्छ । साढे ३÷४ घण्टा उकालो हिँडेपछि दुनीसम्म पुगेको ग्रामीण सडक छ । कक्षा ५ भन्दा माथि पढ्न पनि पत्रम नै पुग्नुपर्छ । भात खानका लागि गाउँमा धान कुट्ने ढिक्की ओखल छन् । रोटी खान गहँु, मकै, कोदो पिठ्युमा बोकेर डेढ-दुई घण्टा पैदल हिँडेर खोला किनारका घट्ट पुगेर पिठो बनाउनुपर्छ । तोरी पेल्न ५ घण्टा पैदल हिँडेर या त रुपाल नभए एक दिनभरि हिँडेर परशुराम नगरपालिकाको शीर्ष पुग्नुपर्छ । २०६५÷६६ सालमा गाउँमा बनेका आठवटा धारा छन् । स्थानीय सरकारले नोला संरक्षण र पाइप खरिदका लागि केही रकम उपलब्ध गराएकाले खानेपानीको जोहो भइरहेको छ । यस्ता अनेकौं समस्याले थिचिएर बाँचेका छन् चुडी गाउँवासी ।
माइती घर कठै लाडी ला, बिजुली बल्याको ला, बिजुली बल्याको ।
हाम्रा गाउँमा कठै लाडी ला, अनारोई पण्याको ला, अनारोई पण्याको ।
तेती खेर कठै लाडी ला, मन मेरो रोयाको ला, मन मेरो रोयाको ।
उमेरले ३४ वर्ष पुगेकी जानकी देवी ऐडीले आफ्नो बिहेपछि ससुरालमा आउँदाको पीडा गीतबाट सुनाइन् । उनको माइती भागेश्वर गाउँपालिका–१ कै जाख हो । उनका जेठो छोराको उमेर १९ वर्ष पुग्यो । उनको बिहे हुनुअघि नै जाख गाउँमा बत्ती बलेको थियो । जाखबाट बिहे गरेर चुडी पुगेकी ऐडीका मनमा लागेको पीडा माथिको देउडा ढाडी भाकाको लयमा सुनाइन् ।
आँम भाडी आँमैका रुख, आँमदानी पाक्याको ।
गाउँको अन्यारो धेकी, हृदय रोयाको ।
त्यस बखतका दिन सम्झिँदै उनले गीतको अर्काे टुक्कामार्फत वेदना पोखिन् । हाल भने गाउँमा बत्ती बाल्न भन्दै गाउँलेहरू दिन रात नभनी लघु जल विद्युत् निर्माणको काममा जुटेका छन् । गाउँभन्दा साढे ४ किलोमिटर टाढाबाट पक्की नहर बनाई गाउँमा पानी पुगेको छ । बत्ती बाल्न हाइड्रोको काम धमाधम भइरहेको छ ।
खच्चर र पिठ्युमा आवश्यक सामग्री बोकी गाउँलेहरू हाइड्रो पावर निर्माण कार्यको लगभग अन्तिम चरणमा पुगेका छन् । आउँदो नयाँ वर्षमा गाउँमा बत्ती बाल्ने योजनामा गाउँले छन् । घरघरमा वायरिङको काम पनि सकिनै लागेको छ । पोल गाडेर तार तान्ने काम सकिएको छ । पावर हाउसको घर पनि निर्माण भई उपकरणसमेत जडान भइसकेका छन् ।
सुरुमा आर्थिक वर्ष २०७२-७३ सालतिर सिँचाइ कार्यालय डडेल्धुराबाट केही रकम विनियोज भई नहर निर्माणको काम थालिएको थियो । संघीयतापछि आर्थिक वर्ष २०७६-७७ मा भागेश्वर गाउँपालिकाले १५ लाख रकम विनियोजना गरी नहर निर्माणको काम पुनः थालेको थियो । त्यसपछि आर्थिक वर्ष २०७७-७८ मा संघीय सरकार र गाउँपालिकाको समपूरक बजेटमा ७९ लाख रकमबराबरमा ठेक्का सम्झौतामार्फत नहरको काम भएको गाउँपालिकाले जनाएको छ ।
यस वर्ष पनि संघीय सरकार र गाउँपालिका गाउँपालिकाको गरी करिब १० लाख बजेट विनियोजन गरिएको छ । जसमा साढे ७ लाख रकम नहर मर्मतमा खर्च भइसकेको गाउँपालिकाका सब इन्जिनियर रमेश ऐरले बताए । गएको कात्तिक महिनामा भएको बेमैसमी वर्षाले नहरमा क्षति पु¥याएपछि मर्मत गरिएको उनले बताए ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)द्वारा सञ्चालित ट्रोसा परियोजनाले हाइड्रो पावर निर्माणको काम गरिरहेको छ । परियोजना र सरकारको गरी कुल १ करोड १० लाख रुपैयाँ लागतमा लघु जलविद्युत् योजना सम्पन्नको चरणमा रहेको परियोजना संयोजक अमर साउदले बताए ।
चुडी गाउँमा २८ घरधुरी रहेका छन् । अन्धकारमा रहेको चुडी गाउँमा बत्ती बल्ने भएपछि स्थानीय खुसी भएका छन् । हाइड्रो पावर निर्माणसँगै गाउँमा बिजुली र कुटानी, पिसानी, पेलानीका लागि मिल जडानसमेत गरिने संयोजक साउदले बताए ।