काठमाडौं । सुरुमा सस्तो ब्याजदरमा कर्जा दिने भन्दै ग्राहक लोभ्याउँदै पछि बिनाजानकारी ब्याज बढाई ग्राहक फसाउने आरोप लागेको बैंक अफ काठमाण्डू लिमिटेडको मुनाफा पनि घट्ने क्रम बढ्न थालेको छ ।
बैंकको नाफामा गिरावट मात्रै आएको छैन खराब कर्जासमेत वृद्धि भएको छ । जसले गर्दा बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । ग्राहकलाई कर्जा लोभ्याउँदै फसाउन थालिएपछि बैंकको कर्जा तिर्न असमर्थ भएपछि बैंकको खराब कर्जा पनि बढ्न थालेको हो ।
बैंकको कर्जा चंगुलमा फस्नेमा सर्वसाधारण मात्र नभई विशिष्ट व्यक्ति पनि परेका छन् । भन्नेबेलामा एकथरि र हस्ताक्षर गराउने बेलामा अर्कोथरीमा हस्ताक्षर गरी बैंकले ग्राहकलाई समस्या पार्दै आएका छन् । सानो अक्षरमा प्रिन्ट गरिएको र पढ्न पनि धेरै समय लाग्ने सर्तमा हतारहतार हस्ताक्षर गराई बीओकेलाई ग्राहकलाई फसाउने गरेको छ ।
२०७३ सालमा हायर पर्चेजमा कर्जा लिएका एक ऋणी बीओकेको कर्जा जालमा अहिले पनि फसी नै रहेका छन् । उनले कर्जा लिएको महिना दिनदेखि नै लगातार बीओकेले कर्जामा ब्याज निरन्तर बढाइरहेको छ ।
मासिक ३८ हजार ४ सय ४५ रुपैयाँ तिर्ने गरी कर्जा लिएका उनी त्यतिबेला झस्के जब मूल कर्जा खासै नघटेको स्टेटमेन्ट हातमा प¥यो । सुरुमा १५ हजार १ सय ४३ रुपैयाँ ब्याज तिर्दा मासिक २३ हजार रुपैयाँ कर्जा घट्दै जाने भनेर भनिएकोमा पछि हुँदाहुँदा ब्याज झन्झन् बढाउँदै लगेको उनले गुनासो गरे ।
कर्जा र ब्याज तिर्दै जाँदा कर्जा घट्दै गई कर्जाको रकम बढ्दै गई ब्याज रकम घट्दै जाने अपेक्षा उनले गरेका थिए । तर, बीओकेले भने जतिजति कर्जा तिर्दै गयो त्यतित्यति कर्जाको प्रिन्सिपल रकम घटाउँदै ब्याजदर बढाउँदै लग्यो ।
उनले भने, ‘सुरुमा ३८ हजार मासिक तिर्दा कर्जाको ब्याज १५ हजार लाग्ने र मूल कर्जा २३ हजार लाग्ने भनियो । यो हिसाबले अर्को महिनाबाट ३८ हजार तिर्दा त मूल कर्जाको रकम बढ्दै जानुपर्ने हो नि । तर, बीओकेले जतिजति ईएमआई भर्दै गयो त्यतित्यति ब्याज प्रतिशत पो बढाएको रहेछ ।’
२०७५ सालसम्म आउँदा बीओकेले ब्याज रकम २६ हजारभन्दा बढी पु¥याइयो । दुई वर्ष कर्जा तिर्दै गएपछि ब्याज रकम घट्दै जानुपर्नेमा झन् झन् बढायो । बीओकेले शतप्रतिशतभन्दा बढी ब्याज बढाएर आफूलाई ठगेको उनको गुनासो छ । नेपाल राष्ट्र बैंकको निर्देशिका उल्लंघन गर्दै बीओकेले कर्जामा अस्थिरता कायम गरी नै रहेको छ ।
बीओकेले २०७७ को फागुनमा पनि बिनाजानकारी ब्याज बढाई ईएमआई भराएको थियो । २०७८ को जेठमा र गत मंसिरमा पनि बीओकेले कर्जाको ब्याजदरमा मनपरी गरेको उनको भनाइ छ ।
यस्तै, बैंकको चंगुलमा फस्नेमा पर्छन्, मोरङ उर्लाबारीका निलमणि कालाखेती । उनले सात वर्षअगाडि १० लाख रुपैयाँ व्यक्तिगत कर्जा लिएका थिए । घर धितो राखेर वा पसल धितो राखेर व्यवसाय कर्जा लिन खोजेका कालाखेतीलाई अनेक प्रलोभन देखाई ललाइफकाइ व्यवसाय कर्जाभन्दा पनि व्यक्तिगत कर्जा लिनमा सहमत गराएको उनकी श्रीमती सीता भट्टराईले राजधानीलाई बताइन् ।
९ प्रतिशतमा कर्जा पाउने भएपछि अर्को बैंकमा प्रक्रिया रोकेका कालाखेती परिवार तब झस्किए जब कर्जा लिने बेलामा ११ प्रतिशत ब्याज हुने भनियो । लौ त अब के गर्ने भनेर हार मानेर कर्जा लिन सहमत भएका कालाखेतीले कर्जाको कागजमा १३ प्रतिशत ब्याजदर हुने कुरा हस्ताक्षर गरी प्रक्रिया पु¥याइसकेपछि मात्र थाहा पाएको बताए ।
लौ त ठिकै छ भनेर ८४ किस्तामा मासिक १७ हजार ९ सय २१ तिरेपछि कर्जा चुक्ता हुन्छ भनेर ढुक्क भएका कालाखेती परिवार कर्जा लिएको सात वर्षपछि पुनः ठगिएको भन्दै बिलौना गर्न थालेका छन् । कर्जाको किस्ता एकैचोटि पनि नटुटाईकन अझ किस्ता तिर्नकै लागि साथीभाइसँग सापटी वा ऋण गरेर तिरेको सीता भट्टराईले बताइन् ।
८४ किस्ता तिरिसकेपछि अब कर्जामुक्त भएको ठानेका निलमणि कालाखेती तब झस्किए जब सबै किस्ता तिरिसक्दा पनि अझै १ लाख ५५ हजार कर्जा बाँकी रहेको भनेर बैंकले जानकारी दियो ।
यस्तै, कारणले गर्दा ग्राहकले बीओकेलाई पत्याउन छाडेका छन् । जसले गर्दा बैंकको निष्क्रिय कर्जा बढ्दो क्रममा छ । बैंकको निष्क्रिय कर्जा १.५४ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफा ३२.२५ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३० करोड १ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा ४१ करोड ९४ लाख रुपैयाँ घटेर ८८ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ । नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । बैंक अफ काठमाण्डूको गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा २२.२१ प्रतिशतले नाफा घटेकोे हो ।
बैंकको ब्याज आम्दानी ५.२१ प्रतिशतले घटेको छ भने खराब कर्जा २.६० प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०७६-७७ मा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ मात्र नाफा मात्र कमाएको थियो । सोभन्दा अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ८९ करोड ६९ लाख खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य नाफा ८८ करोड ७ लाख रुपैयाँमा सीमित भएपछि बैंकले १० प्रतिशतसम्म लाभांश दिन सक्ने भएको छ । यो भनेको अन्य बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजभन्दा कम हो । यसले गर्दा बैंकको सेयर मूल्य पनि घट्दो क्रममा रहेको छ । अहिले बैंकको सेयर मूल्य २ सय ६३ रुपैयाँमा सीमित भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २७ पैसा घटेर १७ रुपैयाँ २६ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.६९ गुणा तथा प्रतिसेयर नेटवर्थ १ सय ६७ रुपैयाँ ४४ पैसा छ । ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड ८४ लाख र सेयरधनी कोषमा ९५ करोड ५२ लाख रुपैयाँ मात्र सञ्चित छ । यद्यपि, बैंकको वार्षिक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५४ पैसा छ, जुन एकदमै कम हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६७ पैसा थियो ।
गत असार मसान्तसम्ममा ९२ अर्ब १० करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७५ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ मात्र कर्जामा लगानी गर्न सकेको छ ।
यसले गर्दा बैंक अफ काठमाण्डू वर्तमान अवस्थामा दिन प्रतिदिन खस्किँदै गएको छ । बैंक खस्किएसँगै कर्मचारीहरूमा गुटबन्दी र एकले अर्कालाई फसाउने धन्दासमेत चलेको छ । सो बैंकका पूर्व सीईओ अजय श्रेष्ठलगायत उच्चपदस्थ कर्मचारी त झन् बैंकिङ कसुरमा परेपछि विश्वसनीयता गुम्दै गएको छ ।
बैंक पाँच वर्षअघिभन्दा पनि कमजोर अवस्थामा पुगेको छ । बैंकका महŒवपूर्ण सूचक घट्दो क्रममा देखिएका छन् ।
बैंक सञ्चालक समितिको अध्यक्षमा प्रकाश श्रेष्ठ छन् । सञ्चालक सदस्यमा राधेश पन्त, विजयकुमार श्रेष्ठ, गोविन्दप्रसाद शर्मा रेग्मी, मदनलाल जोशी, अमृता उप्रेती र मोहोना लोहनी छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा श्रवणलाल मास्के छन् ।
आर्थिक वर्ष जम्मा लाभांश
२०७४-७५ २५ प्रतिशत
२०७५-७६ १७ प्रतिशत
२०७६-७७ १६ प्रतिशत
२०७७-७८ १४ प्रतिशत
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७० करोड ८५ लाख खुद मुनाफा गर्न सफल बैंक अहिले सामान्य १ दशमवल ५३ प्रतिशतको मात्र वृद्धि देखिएको छ । बैंकले आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमाससम्म ७१ करोड ९३ लाख खुद मुनाफा गरेको छ । सेयरधनीको कोणबाट निकै महत्वपूर्ण मानिने वितरणयोग्य मुनाफामा पनि कमी आउँदै ३६ करोड ४५ लाख पुगेको छ ।
बैंक अफ काठमाण्डूको सञ्चालन मुनाफामा पनि गिरावट आएको छ । अघिल्लो आवमा १ अर्बभन्दा बढी सञ्चालन मुनाफा कमाएको बीओकेको मुनाफा अहिले ९ दशमवल २२ प्रतिशतले घटेर ९३ करोड ३२ लाखमा सीमित भएको छ ।
कर्जा प्रवाहमा लोभ दिँदै ग्राहक फसाउँदा बैंकको सीडी रेसियो ९२ दशमलव ६२ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा–निक्षेप अनुपात सीडी रेसियोको अधिकतम सीमा ९० प्रतिशत तोकिएको छ । यसले बैंक अझै पनि राष्ट्र बैंकको खिलाफमा गइरहेको देखिन्छ ।
आर्थिक वर्ष प्रतिसेयर आम्दानी
२०७३-७४ २० रुपैयाँ ६९ पैसा
२०७४-७५ १९ रुपैयाँ ४६ पैसा
२०७५-७६ २३ रुपैयाँ ५३ पैसा
२०७६-७७ १७ रुपैयाँ ०९ पैसा
२०७७-७८ १७ रुपैयाँ ८८ पैसा
बैंकको पाँच वर्षको तथ्यांक हेर्दा विगतका दुई वर्षमा न्यून प्रतिसेयर आम्दानी रहेको छ । बैंकको आर्थिक वर्ष २०७३÷७४ मा प्रतिसेयर आम्दानी २० रुपैयाँ ६९ पैसा थियो यो घट्दै आर्थिक वर्ष २०७७÷-७८ मा १७ रुपैयाँ ८८ पैसामा सीमित भएको छ ।
बैंक अफ काठमाण्डूले आर्थिक वर्ष आर्थिक वर्ष २०७४-७५ मा २५ प्रतिशत लाभांश दिएकोमा यो प्रत्येक वर्ष घट्दै आए र २०७७÷७८ मा आइपुग्दा १४ प्रतिशत मात्र दिन सकेको छ ।






