बाढीपीडितलाई प्रतिपरिवार ४१२ रुपैया राहत

जुम्ला । जुम्ली किसानले मार्सी बीउ ब्याडमा छर्ने दिन । साथै, विसुवा पर्व पनि । जुम्ली किसानका लागि गौरवको दिन । यहाँको कृषि क्यालेन्डरअनुसार प्रत्येक वर्ष १२ चैतमा भिजाएको मार्सीको बीउ २० चैतमा ब्याडमा छर्ने गरिन्छ ।

तर, यो वर्ष भेरिखोलाको सर्मी गाउँ, तिलाका नुवाकोट, रावतबाडा, साँपुल्लीलगायत गाउँका किसानले मार्सी बीउ राख्न सकेनन् । गत ३ कात्तिक राति १२ बजे उर्लेर आएको भेरिखोलाले मार्सी फाँट बगर बनायो । यो वर्षको विसुवा पर्व क्षतिग्रस्त क्षेत्रका किसानका लागि पीडादायी भयो । यतिबेला मार्सी फल्ने फाँटमा छरिएको जौंको हरियाली चित्र बोकेर बसन्त आउन्थ्यो । तर, यो वर्ष भेरिखोला क्षेत्रमा उजाड छ । खेतमाथि भेरिखोला बगिरहेको छ ।

राहतका नाममा मजाक !

किसानका अनुहारमा पीर, मर्का र थकानका दृश्य झल्किरहेका छन् । प्राकृतिक विपत्तिले रित्तो बनाएका किसानलाई सरकारले अर्को पीडा थपेको छ । बाढीले सर्वस्व लुटेर लिएको ६ महिनापछि सरकारले पीडित किसानलाई प्रतिपरिवार ४ सय १२ रुपैयाँका दरले राहत पठाएको छ । ‘बाढीले क्षतिग्रसत शेष हेर्दा सम्हालिन मुस्किलै पर्छ, विपद्का आला घाउले बेलाबेला झस्काउन्छ, अहिले सरकारले पठाएको राहत परिणामले झन् पीडा दिएको छ,’ तातोपानी–७ का स्थानीय कृष्ण खड्का भन्छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको खातामा सरकारले १ हजार २ सय १२ बाढीपीडितलाई पाँच लाख पठाएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईं बताउँछिन् । ‘हामीले १ हजार २ सय बाढीपीडितका लागी १९ लाख, ३५ हजार ४ सय ६५ रुपैयाँ माग गरेको हौं तर सरकारले पाँच लाखमात्रै पठाएको छ,’ उनी भन्छिन्, ‘बाँड्न पनि अप्ठ्यारो भइरहेको छ ।’ बाढीले जुम्लाका दुई दर्जन पानी घट्ट, दर्जन विद्युत् गृह, झण्डै डेढ सय भेंडाबाख्रा, दुई घर बगायो भने १८ दशमलव ७३ हेक्टर मार्सी फाँट बगरमा परिणत भएको छ ।

कृषि विकास कार्यालय जुम्लाले संकलन गरेको तथ्यांकअनुसार बाढीले जुम्लाका १ हजार २ सय १२ किसानको मार्सी धानलगायत बालीमा क्षति पु¥याएको छ । धानमा क्षति गर्दा जुम्लामा यसवर्ष झण्डै १ हजार २ सय मेट्रिक टन धान उत्पादन घटेको छ ।

गत वर्ष साढे ६ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ५ हजार ४ सय बढी मेट्रिक टन धानमात्रै उत्पादन भएको हो । ‘संघीय र प्रदेश सरकारले क्षति मूल्यांकन गरेर तत्काल राहत वितरण गर्ने बाचा गरेका थिए तर अहिले प्रतिबाढीपीडितको भागमा ४ सय १२ रुपैयाँ पर्दा गिज्याएजस्तो भएको छ,’ नागरिक समाजका अध्यक्ष राजबहादुर महत भन्छन्, ‘सरकारले राहतका नाममा किसानको खिल्ली उडाउनु विडम्बना हो ।’ राहत सरकारलाई नै फर्काइदिनुपर्नेमा राजनीतिक दलले जोड दिएका छन् ।

‘सरकारको यसप्रकारको राहतले किसानलाई खुसी हैन, झनै पीडा दिएको छ, यो सरकालाई नै फिर्ता पठाइदिउँ,’ नेकपा एकीकृत समाजवादी जुम्ला सचिव आदिप्रसाद न्यौपाने भन्छन् ।

जुम्लामा चालु आर्थिक वर्षमा प्राकृतिक विपद्बाट ७ जनाको ज्यान गएको छ । बाढीका कारण पातारासी गाउँपालिकामा १, हिमामा १, तातोपानीमा ३ र हिमपहिरोमा परेर तातोपानीमा २ गरी ७ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 401 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित