सन् २०२० को जनवरीमा जब कोरोना भाइरस संक्रमण सुरु भयो, त्यसको केही समयपछि नै भ्याक्सिन तयारी गर्ने दौड चलिहाल्यो । बायोटेक्नोलोजीले ९० प्रतिशतभन्दा बढी प्रभावकारितासाथ सुरक्षित भ्याक्सिन १० महिने अवधिमा बनाउन सम्भव भयो । यो क्रान्तिकारी एमआरएनए प्रविधिले औषधि र औषधि उद्योगलाई परिवर्तन गरिदियो । २० वर्षदेखि यो प्रविधिमा काम भए पनि कोभिड–१९ महामारीका कारण लामो दूरी छोटो समयमै तय गर्न सम्भव भएको हो ।

महामारीले प्रविधि प्रयोग र आविष्कारमा अस्वभाविक फड्को मारेको छ । केही दशक लाग्ने काम ‘केही महिना’मै सम्भव हुँदा असोचीय चुनौती देखापर्नु स्वभाविक नै हुन् । आज देश, क्षेत्र र सहरको आर्थिक वृद्धिको प्रमुख चालक बन्न पुगेको छ, नवीनत्तम प्रविधि । त्यसैले अबको समृद्धि प्रविधिमा निर्भर हुनेमा आशंका नरहला ।
सन् १९६१ मा राष्ट्रपति जोन एफ केनेडीले अमेरिकालाई गर्विलो बनाइराख्न ‘चन्द्रमामा मानिसलाई अवतरण गराई पृथ्वीमा सुरक्षित फर्काउने लक्ष्य हासिल गर्नुपर्ने’ अभिव्यक्ती दिएका थिए । फलस्वरुप सन् १९६९ मा नासा चन्द्रमामा मानिस अवतरण गराई सुरक्षित रूपमा पृथ्वीमा फर्काउन सफल भयो । जसले अमेरिकी अर्थतन्त्रका लागि ठूलो फाइदा सिर्जनादेखि प्रविधि विकासमा उत्प्रेरित ग¥यो । तर, आज त्यति लामो समय धैर्य गर्ने साहस भने कसैले राख्दैनन् ।
क्रिस रिडेलले एक खचाखच भरिएको सम्मेलनमा भनेका थिए, ‘आगामी तीन वर्षमा प्रविधि विकासले अर्काे सय वर्षका लागि बाटो निर्धारण गर्न सक्छ ।’ वर्तमान भूराजनीतिक उथलपुथल हेर्दा उनको ‘ओभरस्टेटमेन्ट’मा विश्वास गर्न सकिने ठाउँ भने छ । रुस–युक्रेन युद्धमा प्रविधिले अनुहार परिवर्तन गरिरहेको छ ।
‘डिजिटलाइजेसन’ र स्वचालित प्रविधि कोभिड–१९ का कारण सोचेभन्दा छिटो आए । ‘अनलाइन डेलिभरी’का गतिविधि छिटो र सफलतापूर्वक ‘स्विच’ भइरहेका छन् । काम–घरदेखि टेलिहेल्थ, दूर शिक्षा, अनलाइन किनमेल, मनोरञ्जन, पत्रकारिता तथा शारिरीक गतिविधि (योग, फिटनेस)लगायत ‘भर्चुअल’ हुन थालेका छन् । घरबाटै काम गरेर पनि ‘उत्पादकत्व वृद्धि हुन सक्छ’ भन्ने कोभिड–१९ महामारीका कारण भएको लकडाउनले प्रमाणित नै गरिदियो ।
आज सहज अवस्थामा पनि सम्पूर्ण कर्मचारीलाई कार्यालयमै उपस्थिति गराउनु चुनौतीपूर्ण बन्दै गएको छ । भिडियो च्याट, सङ्खटवेयर जुम, टिमलगायतले कर्मचारी, परिवार र साथी जोड्न महŒवपूर्ण भूमिका खेलिरहेका छन् ।
त्यसो त, ‘टचलेस’ टेक्नोलोजी र उच्च स्वचालित रोबोटले मानिसलाई धेरै कामबाट अलग गराउँदै पनि छन् । जसका कारण विश्वभर बेरोजगारी समस्या उत्पन्न हुन आँकलन गरिन थालिएको छ । आपूर्ति शृंखला, ग्राहक सेवाका लागि घरभित्र र बाहिर पनि स्वचालित यन्त्र, ‘आर्टिफिसल इन्टलजेन्स’ देख्ने छौं ।
आईओटी र ‘पाइभ जी’को बढ्दो उपलब्धतासाथ ‘टचलेज टेक्नोलोजी’बाट मानिसले गर्ने धेरै काम अझ प्रभावकारी हुने छन् । अहिले पनि एयरपोर्टमा यात्रुले स्मार्टफोनबाट ‘डिजिटल टोकन’ सिर्जना गर्दछ । जसले पहिचान प्रमाणित गर्दछ कि त्यहाँ मानवविहिन अवस्थामा सुरक्षाका सम्पूर्ण प्रत्याभूत भएको छ । यो त, उदाहरण मात्र हो ।
यसरी नै टेक्नोलोजी परिवर्तन हुँदै गयो भने सन् २०३०–२०४० सम्म रोजगार बजारमा आमुल परिवर्तन हुनेछ । ‘मेसिङ लनिङ’ र रोबोटिकको असर प्रत्येक क्षेत्रमा देखिन्छन् । औद्योगिक क्रान्तिदेखि आजसम्मको ‘अटोमेसन’ले मानिसले गर्ने शारीरिक श्रममा परिवर्तन ल्याइसक्यो ।
आज एआई र प्रविधि क्रान्तिले मान्छेको बौद्धिक क्षमतालाई प्रतिस्थापन गरिरहेको छ । मानिसले गर्ने शारीरिक श्रममात्र होइन, अब बौद्धिक क्षमतामा पनि मेसिनले काम गर्ने छ । मानिसले निर्णय लिन आफ्नो ज्ञान र अनुभव प्रयोग गर्दछ । कम्प्युटरसँग मानवको भन्दा बढी ज्ञान छ । एकैपटकमा करोडौं डेटा संकलन गरेर उसले अनुभव प्राप्त गर्न सक्छ । जति धेरै डेटा कलेक्सन हुन्छ, त्यति धेरै तथ्य निर्णय कम्प्युटरले लिन सक्छ ।
बैकिङ, पोस्टल, रेटिङ, टिचिङ, ग्राहक सेवा, स्वास्थ्य, यातायातजस्ता रोजगारबाट मासिनले प्रतिस्थापन हुने अवस्था सिर्जना भइसकेको छ । केबल उच्च विज्ञताको रोजगारी मात्र रहन्छन् । जुन केही सीमित व्यक्तिमा कायम हुन्छ ।
टेक्नोलोजी यति दू्रत गतिमा विकास भइरहेको छ । कर्मचारीले आफू टिकिराख्न हेरक वर्ष ‘अपग्रेड’ गर्नुपर्ने अवस्था छ । टेक्नोलोजीबाट हुने बेरोजगारी समस्या सम्बोधन गर्न सरकारले अहिलेदेखि नै योजना बनाउन आवश्यक देखिएको छ ।
प्राविधिक विकास कुनै पनि सरकारले रोक्न सक्दैन तर चुनौती सामना गर्ने तयारी भने गर्न सक्छन् । यसतर्फ नेपाल सरकारको ध्यान गएको पाइँदैन । विश्व बजारमा श्रम बेच्ने नेपालजस्ता देशका लागि बेरोजगारी समस्या अब तीव्र रूपमा बढ्ने सम्भावना छ ।
मानिसको स्थान रोबोट र एआईले लिनेबित्तिकै वैदेशिक रोजगारीमा जानेको संख्या समेत घट्ने छ र नेपालजस्तो देशको अर्थतन्त्रमा रेमिट्यान्सको असर देखिन सक्छ । यसका लागि बौद्धिक बहस चलाउनुपर्ने बेला भइसकेको छ । आजैबाट तयारी गर्दै सामाजिक प्रणाली निर्माणमा जोड दिइनुपर्ने तड्कारो खाँचो छ ।
यसैगरी, नयाँ पुस्तालाई परिवर्तित अवस्थामा प्रतिस्पर्धी बनाइराख्न अर्काे चुनौतीपूर्ण छ । यसका लागि शिक्षा क्षेत्रमा आमुल परिवर्तन खाँचो छ । आजसम्म पनि विद्यालयमा ‘घोकन्ते’ शिक्षाकेन्द्रित छ ।
यो प्रणाली हाम्रो शिक्षा प्रणाली ज्ञान र सूचना सहज रूपमा पहुँचयोग्य नभएको बेलाको हो । जसकारण हामीले धेरै कुरा याद गर्न आवश्यक थियो । जसबाट धेरै कुरा याद गर्दछ, उसलाई बौद्धिक मानिन्थ्यो । २१औं शताब्दीको ‘डिजिटल’ क्रान्तिले मानवलाई सूचनाबाट अधिभार गरिदिएको छ । सहीभन्दा भ्रामक सूचनाले भ्रमित गर्न सक्ने अवस्था आएको छ । यस्तो अवस्थामा विद्यालयले घोक्ने शिक्षाको विकल्पमा ‘सूचना कसरी प्रोसेस गर्ने ?’ भन्ने सिकाउनुपर्छ ।
विद्यार्थीको विवेचनात्मक र विश्लेषाणत्मक क्षमतामा ‘फोकस’ गर्नुपर्छ । सूचना ‘फिल्टर’ गरेर सही र गलत पहिचान गर्न सक्ने क्षमतावान बनाउनुपर्छ । दू्रत गतिमा बद्लिरहेको ‘टेक्नोलोजी’का कारण परिवर्तन सामना गर्ने क्षमता, नयाँ कुरा छिट्टै सिक्ने क्षमतामा काम गर्नुपर्छ । भविष्यका चुनौती सामना गर्नसक्ने सक्षम पुस्ता निर्माणतर्फ हामी कतै चुकिरहेका त छैनौं ? यसका लागि अहिल्यै काम गरेनौं भने धेरै पछाडि पर्नेछौं ।
आज स्मार्टफोनबाट हामी तमाम काम गर्दछौं तर सन् २०५० सम्ममा त स्मार्टफोन पनि पुरानो लाग्ने छ । सम्बर्धित वास्तविकताले यो फोन पनि विस्तापित गर्ने छ । डिजिटल उपस्थित यति बलियो हुन्छ कि त्यो देखिँदैन तर ‘सबै काम हुन्छ’ भन्ने परिकल्पना भइरहेको छ ।
अनुमान गरिएको छ कि २०३० सम्म ७० प्रतिशत र २०५० सम्म सतप्रतिशत जनसंख्या ‘डिजिटलाइजेसन’मा जाने छन् । मानिसले लगाउने कपडासमेत डिजिटल जडान भएको हुनेछ । सहरहरू ‘स्मार्ट’ हुने छन् । त्यतिमात्र हो र ? अहिले सामाजिक नेटवर्क एकीकरणमा समेत काम भइरहेको छ । त्यतिबेला कुनै अपरिजित व्यक्ति हाम्रासामु आयो भने ‘आइलेन्स’को माध्यमबाट उसको विषयमा सम्पूर्ण जानकारी प्राप्त हुनसक्छ ।
यसैगरी, विश्वव्यापी अनुवादक टेक्नोलोजीका कारण नयाँ भाषा सिकिराख्नुपर्ने अवस्था अन्त्य हुन्छ । नेपाली र अंग्रेजी बोल्ने दुई व्यक्ति आ–आफ्ना भाषामा बोल्दछन् तर अंग्रेजी बोलेको नेपालीले नेपालीमै सुन्छ । भाषा संचार क्षेत्रमा देखिएको समस्या सम्बोधन गर्ने गरी कार्यसमेत भइरहेको छ ।
अहिले ‘एमोजोन’ले यस्तो स्मार्ट डस्टबिन बनाइरहेको छ कि फोहोर ङ्खयाँकेको आधारमा ‘तपाईंको घरमा के के सामान आवश्यक पर्दछ ?’ भनेर ‘नोटिफिकेसन’ पठाउने छ ।
त्यस्तै, स्मार्ट थालले ‘कति क्यालोरी लिनुपर्दछ ?’ भने ट्रयाक गर्ने छ । २०५० मा सबैको व्यक्तिगत ड्रोन हुने अनुमान छ । ड्रोन ट्याक्सी सञ्चालन हुने, मेसिन सुपर मानव हुने छन् । लेखापरीक्षण सबै एआईबाट हुने छन् । यस्ता धेरै क्षेत्रका कर्मचारीले कामबाट हात धुनुपर्ने अवस्था आउने छ ।
एकै ठाउँ बसेर मन परेको ठाउँमा ‘भर्चुअल’ मा घुम्न, फुटबल म्याच हेर्न सकिने अनुभव दिलाउनेगरी ‘भर्चुअल’ क्षेत्रमा काम भइरहेको छ । मान्छे घरमै बसेको छ, तर उसले पोखरा घुमेको अनुभव गर्दछ । यो भर्चुअल हो कि साँच्चै ? पत्ता लगाउन गाह्रो हुने छ । डाक्टरलाई रोबोर्टले प्रतिस्थापन गर्नेगरी द्रूत गतिमा काम भइरहेको छ । अर्को डरलाग्दो के छ भने रोबोट नै परिवारका सदस्य बन्ने छन् ।






