नेपाल प्रेस युनियन सुनसरी : २४ महिना, २४ काम


इटहरी । नेपाल प्रेस युनियन लोकतन्त्र पक्षधर पत्रकारहरुको सङ्गठन हो । यो सङ्गठन संविधानले प्रदत्त गरेको वाक स्वतन्त्रतालाई रक्षा गर्ने र श्रमजीविको हकहितमा आवाज उठाउने उद्देश्यका साथ २०४८ साल जेठ १३ गते स्थापना भएको हो । देशभित्र र बाहिर समेत विस्तारित यो सङ्गठनको सुनसरी शाखा अरुभन्दा विशेष महत्वको पनि छ ।

यही सुनसरी शाखाको नेतृत्व २०७७ बैशाख ६ गतेबाट पत्रकार पवन अधिकारीले नेतृत्व गरे । नेपाल प्रेस युनियनको छैटौँ जिल्ला अधिवेशन २०६७ कार्तिक १५ मा उद्घाटन भएर कार्तिक १८ गते निर्वाचन भई नयाँ कार्यसमिति गठन भएको थियो । जसमा सहमतीय आधारमा आलोपालो अध्यक्ष हुनेगरी धनबहादुर पुरी र अधिकारीको अध्यक्षतामा कार्यसमिति गठन गरेको थियो । सहमतीय आधारमा शुरुवातमा अध्यक्ष पुरी २०७५ कात्र्तिक १९ देखि २०७७ वैशाख ५ गतेसम्म रहने निर्णय भएको थियो । अधिकारीले २०७७ बैशाख ६ गतेदेखि जिम्मेवारी सम्हाल्ने निर्णय भएको थियो । सोही निर्णय बमोजिम उनले नेतृत्व सम्हालेको ठीक दुई वर्ष वितेको छ । उनले नेतृत्व सम्हालेपछि अध्यक्ष पुरीले चलायमान बनाएको सङ्गठनलाई थप चलायमान बनाए । पत्रकार अधिकारीले नेतृत्व सम्हाल्दा छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को पहिलो महामारीले विश्वलाई आक्रान्त बनाएको थियो । यस्तो पृष्ठभूमिमा नेपाली पत्रकारिता क्षेत्रले इतिहासमै सबैभन्दा कठिन आर्थिक संकट झेलिरहेको थियो । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि देश लकडाउनमा थियो ।

त्यसबेला नेतृत्व लिनु एकदमै कठिन र चुनौती थियो । तर, जब अधिकारीले नेतृत्व लिए, चुनौतीलाई अवसरको रुपमा परिणत गरे । त्यसैको परिणामस्वरुप उनी यतिबेला सुनसरीका नयाँ र पुराना पुस्ताका पत्रकारहरूको मनमा बस्न सफल भएका छन् । युनियन सुनसरीले सक्षम नेतृत्व पाएकै कारण जिल्लाका पत्रकारहरू हरेक हिसाबमा लाभान्वित छन् ।

उनले नेतृत्व सम्हाले लगत्तै पत्रकारहरूका समस्या पहिचान गरी काम गर्न सुरु गरे । कोरोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीहरुलाई संक्रमण फैलिएमा स्थिती भयावह हुने अवस्था थियो । त्यसलाई मध्यनजर गरेर उनले संस्थागत रुपमा कोरोना संक्रमण हुने पत्रकारहरुको निःशुल्क कोरोना बीमा गरिदिए । जसमा संक्रमित भएका जिल्लाभरका ३० जना पत्रकारलाई जनही एक लाख रुपैयाँका दरले रकम प्रदान गरि सकिएको छ । उनले नेतृत्व सम्हालेयता २४ महिनामा २४ उत्कृष्ट काम गरेका छन् :

सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

२०७७ बैशाख ६ गते पत्रकार अधिकारीले नेतृत्व सम्हाल्दा देश लकडाउनको अवस्थामा थियो । अत्वाश्यक कामबाहेक नागरिकलाई बाहिर ननिस्किन सरकारले आह्वान गरेको थियो । जसले गर्दा पत्रकार पनि सचेत र गम्भीर हुनुपर्ने अवस्था थियो । समाचार संकलन र सम्प्रेषणको गहन दायित्व बोकेका पत्रकारहरुलाई सुरक्षित ढंगबाट काम गर्न नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गर्दै आएको थियो ।
सञ्चारकर्मीलाई समेत घर–घरमै बसेर रिपोर्टिङ् गर्न जिल्ला प्रशासन कार्यालयले सुकर्लर गरेको थियो । तर, कतिपय अवस्थामा निवासबाट कार्यालय जानैपर्ने र कार्यालयबाट निवास फर्कनुपर्ने साथै केही पत्रकारले तस्बिर समेत लिनै पथ्र्यो ।

त्यस्तो अवस्थामा जिल्लाभरका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सचेतना फैलाउँदै उनीहरूको घरघरमै पुगेर बैशाख ७ गते नै स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको युनियन सुनसरी अध्यक्ष पवन अधिकारी बताउँछन् । ‘कोरोनाले आक्रान्त भएको अवस्थामा त्यसबेला सबै मानिसलाई स्वास्थ्य सामाग्री अभाव थियो,’ उनी भन्छन्, ‘अफ्ठयारो परेकै अवस्थामा नेतृत्वले काम गर्नुपर्छ भन्ने उद्देश्यले मेरो कार्यकालमा गरेको पहिलो काम हो यो ।’

जिल्लाभित्रका सञ्चारकर्मीसँगै महामारीका बेला नेपाल पत्रकार महासंघ खोटाङ र पाँचथर शाखालाई पनि स्वास्थ्य सामग्री खरीद गर्न नगद सहयोग गरिएको अधिकारीले जनाए । उनका अनुसार नेपाल प्रेस युनियन ताप्लेजुङ शाखालाई पनि सहयोग गरिएको छ । यस्तै, ग्रामीण पत्रकार समूह बराहक्षेत्रलाई अक्षयकोष स्थापनाका लागि २५ हजार रुपैयाँ सहयोग गरिएको जानकारी दिइयो ।

२६० जनाको निःशुल्क कोरोना बीमा

अरुको समस्याप्रति संवेदनशील भएर पत्रकार अरुलाई सौभाग्य र खुसीको बाटोमा एक कदम अगाडि लैजानका लागि काम गर्छन् । पत्रकार अहोरात्र खट्दा पनि अभावमा बाँच्नु परेको छ । हो ! यही हो सत्य । यस्तो अवस्थामा सुनसरीका कार्यरत पत्रकारहरु त्यसमा पनि कोरोना संक्रमण बेला संक्रमित भएपछिको सुरक्षित हुने उपया’bout कसैको ध्यान गइसकेको थिएन । त्यही बेला बीमा गर्ने युनियनले योजना बनायो ।

आइएमी जनरल इन्स्योरेन्ससँग सहकार्य गरी जिल्लाका दुई सय ६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरियो । ‘कोरोनाले कस्तो रुप लिन्छ भन्ने नै भएन, यसैकारण पनि कोरोना बीमा गरियो,’ उनी स्मरण गर्दै भन्छन्, ‘त्यसबेला जताततै त्राहीत्राही अवस्था थियो, कोरोनाले कस्तो रुप लिन्छ भन्ने पनि भएन ।’ उनका अनुसार कोरोना बीमा गरेका जिल्लाका ४७ जनालाई कोरोना संक्रमणले भेट्यो । तीमध्ये ३० जनालाई जनही एक लाखका दरले प्रदान गरियो भने बाँकी १७ जनाको रकम सरकारले नै रोक्का गरेका कारण आउन बाँकी रहेको अधिकारी बताउँछन् । कोरोना भाइरस संक्रमणबाट सुनसरीका सञ्चारकर्मी चन्द्र न्यौपानेको निधन हुन पुग्यो ।

युनियन पात्रो उद्घाटन

पछिल्लो समय सबैले हातहातमै रहेको मोबाइलमै देश विदेशका समाचार पढिरहेका, सुनिरहेका र हेरिरहेका हुन्छन् । विशेषगरी युवा पुस्ता देश विदेशका समाचार हेर्न र पढ्न, क्षणभरमै ताजा समाचार पढेर अपडेट हुने बानी परिसकेका छन् ।

सूचना र सञ्चारमाध्यमहरुले यति फड्को मारेर द्रूत विकासकै चरणमा रहेका बेला कोरोना महामारीको समयमा घरघरमा पात्रो पु¥याउन नसकिरहेको अवस्थामा डिजिटल पात्रोको अवधारणा ल्यायो । युनियनको स्थापना दिवसको अवसरमा जेठ १३ गते नेपाली कांग्रेसका सभापति तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट औपचारिक उद्घाटन गरियो । युनियन सुनसरीका सदस्य विवेक विवश रेग्मीका अनुसार उक्त पात्रोमा देशैभरका युनियनका जिल्ला अध्यक्ष, केन्द्रीय समितिको नामावली, पत्रकार महासंघका पदाधिकारी तथा सुनसरीबाट नेतृत्व गरेकाहरुको विवरण संकलन छ । साथै, पात्रोमा दैनिक समाचार पनि प्रकाशित हुँदै आएको छ ।

नोबेल हस्पिटलसँग उपचारमा छुट

कोरोना महामारीकै बेला संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीहरूलाई नोबेल अस्पताल विराटनगरको सहकार्यमा उपचारका ५० प्रतिशत छुट गर्ने निर्णय गरियो । जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारहरुले छुटमा उपचार पाउनेगरी एक वर्षका लागि गरिएको सम्झौता अनुसार सात जनाले छुट पाएका थिए ।

‘जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिसत छुट गर्ने सम्झौता भएको थियो,’ प्रेस युनियन जिल्ला उपाध्यक्ष सञ्जीव वाग्लेले भने । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि देश लकडाउनमा भएकै अवस्थामा र बढ्दो संक्रमणले महामारी नियन्त्रणमा आउने टुंगो नभएको बेला प्रेस युनियनले नोबेल अस्पतालसँग सम्झौता गरेर काम अगाडि बढाएको थियो ।

९ सुत्रीय माग

प्रदेश १ का विभिन्न जिल्ला प्रेस युनियनका अध्यक्षहरूले कोरोनाका कारण पत्रकार र सञ्चार संस्थामा परेको समस्या पूरा गर्न सरकार समक्ष ९ सुत्रीय माग राखेर दबाबका दिइएको थियो ।

युनियन सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न १० जिल्लाका अध्यक्षहरूको सहभागितामा पत्रकारहरूको कोभिड–१९ परीक्षण दर बढाउन र संक्रमणमा परेका पत्रकारहरुको उपचारमा ध्यान दिन तथा प्रदेश राजधानी विराटनगर र जिल्लामा पत्रकारहरुमा संक्रमण पुष्टि हुनासाथ आइसोलेसन सेन्टर तथा अस्पतालमा भर्ना गर्ने व्यवस्था गर्न माग राखेर सरकारलाई दबाब दिइएको थियो ।

कार्यालय स्थापनासँगै इतिहास संकलन

अहिलेको नेतृत्वले इटहरीमा कार्यालय स्थापनासँगै इतिहास संकलन गरिएको छ । प्रेस युनियन सुनसरीका पूर्व सभापति गणेश निरौलाको संयोजकत्वमा युनियन सुनसरी स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका पदाधिकारीहरुको फोटोसहित नामावली र इतिहास संकलन गरियो । सँगै कम्प्युटर जडान गरिएको छ । जसका कारण कार्यालयमै बसेर पत्रकारहरुले समाचार पनि लेख्न सहज भएको छ ।

फुड बैँक सञ्चालन

कोरोना महामारीका कारण आर्थिक अभाव झेलीरहेका श्रमजीवी पत्रकारका लागि युनियन सुनसरीले ‘फुड बैंक’ सञ्चालन गरियो । कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चार गृह बन्द भएका र केही आंशिक रुपमा सञ्चालन भएकाले समस्यामा परेकालाई मध्यनजर राखेर ‘फुड बैंक’ सञ्चालन गरेको थियो ।

पत्रकारकै मात्र कमाईंबाट धानिएको धेरैको परिवारलाईं समस्या भएपछि थोरै भएपनि राहत होस् भनेर फुड बैंक सञ्चालन गरिएको थियो । त्यतिबेला सक्ने पत्रकार, ठूला सञ्चार गृह र पत्रकारिताको हकहितमा कार्यरत संस्थाबाट उपलब्ध भएको सामग्रीहरु नहुनेलाई निःशुल्क प्रदान गरिएको थियो ।

फुड बैंक अभियान सञ्चालन एवम ब्यावस्थापन गर्नका लागि जिल्लाका अग्रज पत्रकार एवम प्रेस युनियनका पूर्व अध्यक्ष समेत रहेका कृष्ण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति टीम खटिएको थियो । अभियानका क्रममा सुनसरी र मोरङ्गका ४२ जना सञ्चारकर्मी लाभान्वित भए ।

कोरोना बीमाको रकम हस्तान्तरण

जिल्लाका २६० सञ्चारकर्मीको कोरोना बीमा गरिएसँगै त्यसबापतको एक लाख रकम हस्तान्तरणको प्रक्रिया सुुरु गरियो । पहिलोपटक २०७७ असोज ९ गते युनियनका निर्वतमान अध्यक्ष धनबहादुर पुरीले कोरोना बीमा बापतको रकम हस्तान्तरण गरे । युनियनका अनुसार हालसम्म ३० जना सञ्चारकर्मीलाई जनही एक लाखका दरले रकम वितरण गरिएको छ भने बाँकी १५ जनाको पनि रकम आउने क्रममा छ । ०७७ असोज ९ गते पहिलोपटक कोरोना बीमाको रकम हस्तान्तरण गरेपछि आम मानिसको नजरमा परेका अधिकारीले नेतृत्व सम्हालेको २०७९ बैशाख ६ गते दुई वर्ष पूरा भएको छ । २४ महिनाको अवधिमा उनले विभिन्न सकारात्मक काम गरेको स्मरण गर्छन् ।

साक्षात्कार कार्यक्रम

निरन्तर काम गर्ने सिलसिलमा २०७७ पुष १७ गते नेपाली कांग्रेसका तत्कालीन सह–महामन्त्री सुनिलबहादुर थापासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले संसद विघटन गरेपश्चात पहिलोपटक सुनसरीमा यो किसिमको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

समसामयिक विषयमा अन्तरक्रिया

२०७७ पुष २६ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा हालका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । कार्यक्रममा तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि गृहजिल्ला सुनसरी आएका उनले आन्दोलनको स्वरुपलाई परिवर्तित गरेर अगाडि बढ्नुपर्ने तर्क गरे ।

पहिलोपटक जिल्लाका सञ्चारकर्मीको दुर्घटना बीमा

जिल्लामै पहिलोपटक सञ्चारकर्मीको दुर्घटना बीमा गरियो । अधिकारीका अनुसार जिल्लाका सञ्चारकर्मीसहित प्रदेश नं. १ का सबै जिल्लाका युनियन अध्यक्षसहित ३१४ जना सञ्चारकर्मीको २०७७ पुष २८ गते अजोड इन्स्योरेन्स सँगको सहकार्यमा निःशुल्क दुर्घटना बीमा गरिएको हो ।

दुर्घटना बीमाका लागि शम्भु अधिकारी र कुमार खतिवडाको समन्वयमार्फत अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । जसअन्र्तगत दुर्घटनामा परेका चारजना सञ्चारकर्मीको बिल बापतको रकम पाइसेकेका छन् । जसमध्ये विराट गौतम, बुलेट खतिवडा, चन्दन रौनियार र रमेश राई दुर्घटनामा परेका थिए ।

बरिष्ठ नेता पौडेलसँग साक्षात्कार

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग २०७७ फागुन ९ गते साक्षात्कार कार्यक्रमको आयोजना गरियो । इटहरीमा राखिएको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले संसद पुनस्र्थापना हुनेभएपछि ओली अत्तालिएको अभिव्यक्ति दिएका थिए ।

पत्रकार महासंघको केन्द्रीय कार्यसमितिमा तीनजना निर्वाचित

तत्कालिन नेपाल पत्रकार संघ तथा हालको नेपाल पत्रकार महासंघ सुनसरीमा स्थापनाकाल देखि नै नेपाल प्रेस युनियनको बर्चस्व रहेको छ । २०७७ चैत २५ गते भएको निर्वाचनमा नेपाल प्रेस युनियन सुनसरीका तीनजनालाई नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिमा निर्वाचित गराउनु जिल्लाका लागि महत्वपूर्ण उपलब्धी हो ।

पत्रकार महासंघको निर्वाचनमा केन्द्रीय कार्यसमितिमा पहिलोपटक सुनसरीबाट एकैपटक तीनजना सदस्यमा बहुमतले निर्वाचित भए । जसअन्र्तगत इटहरीका अमर खड्का, इनरुवाबाट इकवाल अहमद र बराहक्षेत्रबाट भीषण राई निर्वाचित भए । जिल्लामै पहिलोपटक एतिहासिक रुपमा यसरी केन्द्रीय कार्यसमितिमा उनीहरू निर्वाचित भएका हुन् ।

आइसोलेसन निर्माण

विश्वव्यापी फैलिएको कोरोनाबाट नेपालमा पनि संक्रमणबाट हुने मृत्युदर र संक्रमित दर २०७८ सालको सुरुवातदेखि नै बढ्यो । संक्रमितको उपचारका लागि अक्सिजन र औषधिको अभावले गर्दा मृत्यु र संक्रमितको संख्या भयावह अवस्थामा पुगेको थियो । सरकारी निकायको फितलो तयारीले गर्दा आम नागरिकले अक्सिजन र सहयोगी औषधि समेत पाउन सकेका थिएनन् ।

त्यो भयावह अवस्थाले हरेक वर्ग, समुदाय र भूगोलका नागरिकलाई नकारात्मक रुपमा प्रभावित पा¥यो । त्यतिबेला देशका धेरै ठाउँमा घोषित निषेधाज्ञा र केही भागको अघोषित निषेधाज्ञाले जनजीवन कष्टकर बनेको थियो । सामाजिक, व्यावसायिक, शैक्षिक लगायतका सबै गतिविधि ठप्प थिए । बिहान बेलुकी काम गरेर दैनिक जीवन निर्वाह गर्दै आएका नागरिकको पीडामा सहयोग गर्ने कोही भेटिएका थिएनन । अस्पतालमा बेड, अक्सिन र आवश्यक औषधिको अभाव देखिएको थियो ।

यस्ता बेथिति र बद्नियतका घटनाको प्रत्यक्ष साक्षीमात्र बनेर र टुलुटुलु हेरेर बस्न सकिएन । उद्योग बाणिज्य संघ इटहरीको नेतृत्व तथा प्रेस युनियन सुनसरीसहितको सहकार्यमा २०७८ बैशाख २७ गतेदेखि इटहरीमा ४० बेडको अक्सिजनसहितको आइसोलेसन तयार गरियो । कोरोनाको समयमा उपचार गर्न ठाउँ नपाइरहेको अवस्थामा अक्सिजनसहितको आइसोलेसन तयार गरियो । कतिपय सञ्चारकर्मी हालपनि कोठाभाडामा बसिरहेको अवस्थामा आइसोलेसनले उपचारमा थप सहज पुग्ने कुरालाई मध्येनजर गर्दै आइसोलेसन तयार गरिएको हो ।

उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले कोरोना संक्रमितको संख्या बृद्धि भएपछि आफूहरुले युनियनसँगको सहकार्यमा खाना, बस्न तथा अक्सिजनसहितको निःशुल्क ४० बेडको आइसोलेसन सञ्चालन गरिएको बताए ।

कोरोना संक्रमित सञ्चारकर्मीको घरमा मोबाइल डाक्टर सेवा

कोरोना पीडित जिल्लाका सञ्चारकर्मीहरूलाई घरघरमै गएर मोबाइल डाक्टरसहित परामर्श दिइएको छ । ०७८ जेठ २ गतेदेखि सुरु गरिएको मोबाइल डाक्टर सेवा अभियान एक महिनासम्म सञ्चालन गरियो । जस अन्तर्गत २२ जना सञ्चारकर्मी लाभान्वित भए ।
दोस्रो चरणको भेरियन्ट आइकन जिल्लाका सञ्चारकर्मीहरु कोरोनाबाट अछुत नरहेको अवस्थामा घरमै आइसोलेट भएर बसेका उनीहरुलाई डाक्टर डा. अमितकुमार खतिवडा (मेडिकल अधिकृत) र स्टाफ नर्स किरण चौधरीले संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श गर्ने र आवश्यक औषधोपचार गरिएको थियो ।

निःशुल्क अध्यापनका लागि पहल

उद्योग वाणिज्य संघ र प्रेस युनियनले समन्वय गरी स्थापना गरेको आइसोलेसनमा काम गरिरहेका, आर्थिक अवस्था कमजोर भएका इटहरी वडा नं. ८ का प्रकाश भण्डारीको असमायिक निधन भयो ।

उनका छोरा सफल भण्डारीलाई कक्षा १० सम्म अध्ययनका लागि पहल गरियो । युनियनले पत्रकारहरूको हितका निम्ति मात्रै काम गर्नुपर्छ भन्ने भन्दा पनि अन्य सामाजिक सेवा पनि गर्नुपर्छ भन्ने उद्देश्यले अध्यापनका लागि पहल गरिएको युनियन सुनसरी उपाध्यक्ष सञ्जीव वाग्ले बताउँछन् । उनका अनुसार इटहरी ६ मा रहेको मोडर्न प्रिपेरोटोरी बोर्डिङ्ग स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्यापन गर्ने व्यवस्था मिलाइएको छ । हाल सफल एलकेजीमा पढ्दै छन् ।

नगर समिति बिस्तार

देश संघीय प्रणालीमा गएर कार्यान्वयनको नवीन अभ्यासका क्रममा रहेका बेला प्रेस युनियनले शाखालाई पनि पालिका स्तर सम्मै गठन गर्न सुनसरीले अभियान थाल्यो । जेठ १९ गते गरिएको नगर विस्तार अन्तरगत इटहरी, धरान, रामधुनी, बराहक्षेत्र, इनरुवा र दुहबी नगरपालिकामा नगर समिति विस्तार गरिएको हो ।

इटहरी नगर संयोजकमा विनय बाह्रकोटी, धरानमा मात्रिका नेपाल, रामधुनीमा विनोद आचार्य, बराक्षेत्रमा संगम विष्ट, इनरुवामा टोमराज मेहता र दुबहीमा आशिष यादवलाई नगर संयोजकमा मनोनीत गरिएको हो । यसअघि विभिन्न पालिकामा मनोनीत गरिएपनि इटहरी र रामधुनीमा भने यसपटक मनोनीत गरिएको हो । नगर समितिमार्फत स्थानीय क्षेत्रमा युनियनलाई चलायमान बनाउनका निम्ति नगर समिति विस्तार गरिएको हो ।

युनियन कार्यालयमा खतिवडा

२०७८ असार २१ गते कांग्रेस केन्द्रीय सदस्य रामहरी खतिवडाले युनियन सुनसरीको कार्यालय अनुगमन गरे । अनुगमनपश्चात भएको कार्यक्रममा बोल्दै उनले देशमा संकट परेको समयमा कांग्रेसले नेतृत्वदायक भूमिका निर्वाह गर्ने बताएका थिए ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

२०७८ असोज २३ गते दसैँ, शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रदेश १ का संसदीय दलका नेता तथा हालका कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला प्रमुख अतिथि थिए । उनले प्रेस युनियनका गतिविधिको प्रशंसा गरे ।

फोटो पत्रकारिता प्रशिक्षण

हजार शब्दको वर्णन एउटा तस्विरले गर्न सक्दछ । आम मान्यता यही रहँदै आएको छ । परम्परागत तवरले खिचिँदै आएको तस्विरमा आज ठूलो परिवर्तन आएको छ ।

विज्ञान तथा प्रविधिको विकासले ल्याएको परिवर्तनसँगै फोटो पत्रकारितामा समेत अनेकन नयाँ आयाम थप भएको छ । सहज प्रविधिको प्रयोगले खिच्दा खिच्दै गरेको तस्विर सम्बिन्धत सञ्चार माध्यममा पुग्ने र एकाध सेकेण्डमा नै प्रकाशित हुने अवस्था सिर्जना भएको छ । जतिसुकै राम्रो समाचार सामग्री बनाइएपनि त्यसमा तस्विर छैन भने त्यसको सान्दर्भिकता नरहन सक्छ ।

यही कुरालाई मध्यनजर राखेर २०७८ माघ १८ गते सुनसरी र मोरङलाई कर्मथलो बनाएर व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई फोटो पत्रकारिता प्रशिक्षण सञ्चालन गरियो । नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समूह काठमाडौंसंगको सहकार्यमा पत्रकारहरूलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्धेश्यले प्रशिक्षणको आयोजना गरिएको हो । कार्यक्रम राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्तको प्रमुख आतिथ्य तथा नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षता रहेकोे प्रशिक्षण कार्यक्रममा ३० जना विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरू प्रशिक्षार्थीका रुपमा सहभागी रहेको थियो ।
यसैबीच यही कार्यक्रमको अवसर पारेर सुनसरीमा पनि फोटो पत्रकार समूह गठन गरियो । गुरु ढकालको अध्यक्षतामा गठन भएको समूहमा १३ सदस्यीय समिति चयन गरियो ।

सञ्चारकर्मीको आँखा तथा कान जाँच

२०७८ फागुन १९ गते इटहरीमा जिल्लाका सञ्चारकर्मी तथा उनीहरूका परिवारको निःशुल्क आँखा तथा कान शिविर गरिएको छ । शिविरमा १४० जना लाभान्वित भए । प्रेस युनियन सुनसरीको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको सहआयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा आँखा तथा कान शिविर आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै विराटनगर आँखा अस्पतालका प्रबन्धक निर्देशक कुमार प्रितुले विराटनगर आँखा अस्पतालमा विशेषगरी भारत, बङ्गलादेश, भुटान लगायतबाट आँखा तथा कान शिविर गर्न आउनेको संख्या उच्च रहेको बताए । सुनसरी युनियनका संस्थापक तथा अग्रज पत्रकार हर्ष सुब्बाले सञ्चारकर्मीले धेरै समय डेस्कटपमा बस्नुपर्ने भएकाले आँखा कमजोर भएको समयमा जाँच गर्नु उदाहरणीय भएको कार्यक्रमका सन्दर्भमा बताएका थिए ।

फेरि दुर्घटना बीमा

नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच नयाँ दुर्घटना बीमा भएको छ । युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहाल (दिनेश) ले दुर्घटना बीमामा सम्झौता गरेका हुन् । पहिलोपल्ट बिमा गर्दा सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो । तर, यसवर्ष जिल्लाका २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको हो ।
उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनियनले व्यहोर्नेगरी सम्झौता भएको हो । जसमध्ये एक लाख ३६ हजार रुपैँया रकम प्रेस युनियन सुनसरीले व्यहोरेको छ भने बाँकी रकम इन्स्योरेन्स कम्पनीले व्यहोर्नेगरी सम्झौता भएको युनियनका सुनसरी सचिव विवेक भट्टराई बताउँछन् ।

अक्षयकोष खडा

गौरब गर्न लायक सुनसरी शाखाको गठनमा संस्थापक गिरीराज आचार्यको मुख्य भूमिका छ । यस्तै, संस्थापक स्वर्गीय पदमकेशर कार्की र युनियनको पाँचौं महाधिवेशनबाट पत्रकार याम प्रधान पूर्वाञ्चल विकास क्षेत्रबाट केन्द्रीय उपाध्यक्ष बने । आचार्य अहिले पनि पत्रकारितासँगै राजनीतिमा क्रियाशिल छन् ।

आचार्यको नाममा एक लाख रुपैयाँको अक्षयकोष र दिवंगत कार्कीको नाममा एक लाख र प्रधानको नाममा दुई लाख रुपैयाँको अक्षयकोष खडा गरिएको छ । स्वर्गीय कार्की र प्रधानले नेपाली पत्रकारिताको संस्थागत विकाससहित जनताको सूचनाको हक एवम् नागरिक स्वतन्त्रताका पक्षमा निर्वाह गरेर अग्रगामी भूमिकाका निम्ति उनीहरूलाई सधैँ सम्झिरहन वार्षिक पुन्य तिथिको दिन पुरस्कार वितरण गरिने बताइएको छ ।

यसैबीच अर्को एक लाख एक हजार र ५१ हजार रुपैयाँ राशिको पुरस्कार पनि स्थापना गरिएको छ । ०७९ बैशाख ३ गते शनिबार एक कार्यक्रमकाबीच उक्त राशिको पुरस्कार स्थापना गरिएको हो । इटहरीका व्यवसायी शिवप्रसाद घिमिरेले एसजी ग्रुपद्वारा आफ्ना आमाबुबाको नाममा हरेक वर्ष सक्रिय पत्रकारलाई पुरस्कार दिनेगरी प्रेस युनियनले अक्षयकोष स्थापना गरिएको हो । गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र सिर्जनशील युवा पत्रकारिता पुरस्कारको स्थापना गरिएको हो । जसमध्ये राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि एक लाख एक हजार रहेको छ भने सिर्जनशील युवा पत्रकारिता पुरस्कारको राशि ५१ हजार रहेको छ ।
शिवप्रसाद घिमिरेका छोरा सुदीप घिमिरे र प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै अक्षयकोषको स्थापना गरिएको हो ।

युनियनलाई जग्गा प्राप्ति

नेपाल प्रेस युनियन सुनसरीको कार्यालय व्यवस्थापन भएपछि स–साना काम पर्दा पनि कार्यालयमै उपस्थित हुने क्रम सबै पत्रकारको बढ्यो । युनियनमा आबद्द पत्रकारहरूले भवनको आवश्यकता महसुस गरेसँगै नेतृत्वले त्यसलाई ध्यानमा राखेर जग्गा प्राप्तिका लागि पहल थाल्यो ।

जग्गा प्राप्तिका लागि अहोरात्र लाग्दा पनि सम्भव भएको थिएन । अन्ततः कांग्रेस नेता समाजसेवी इटहरी निवासी रोहित प्रसाईँले जग्गा दिएका छन् । उनले इटहरी वडा नं. १७ मा रहेको पूर्वपश्चिम राजमार्ग नजिकै साढे ६ धूर ४० लाख बराबरको जग्गा दिएका हुन् । जग्गा प्रदान गरेपछि प्रसाईँले भने, ‘प्रेस युनियनका तर्फबाट जग्गाका लागि थ्रुपैपटक प्रस्ताव आएपछि अध्यक्षले हाम्रा गतिविधि हाम्रै भवनमा सञ्चालन गर्छौँ भनेका कारण सहयोग गरिदिनुहोस् भनेर भनेकाले मैले बोलेको हुँ ।’

उनले आफूले मन जितेर जग्गा दिएका कारण भवन निर्माणको काम तुरुन्तै अगाडि बढाएर चाँडै निर्माण गरिसक्नुपर्ने बताए । यस्तै, प्रेस युनियनका पूर्व केन्द्रीय सभापति समीरजंग शाह, युनियन बरिष्ठ उपाध्यक्ष दीपक आचार्य लगायतले युनियन सुनसरीले प्राप्त गरेको जग्गाको अवलोकन समेत गरे ।

यसरी युनियन सुनसरी शाखाले २४ महिनाको अवधिमा २४ वटा ऐतिहासिक काम गरेकोमा आफूहरु हर्षित रहेको बताउँछन् युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल । ‘प्रेस युनियन सुनसरी नमूना जिल्लाका रुपमा स्थापित भएको छ,’ सिग्देल भन्छन्, ‘यो किसिमको सेवा गरेकोमा उच्च प्रशंसा गर्छु ।’ उनले युनियन सुनसरीले पत्रकारका हकहितमा प्रत्यक्ष भूमिका निर्वाह गरेकाले नमूना जिल्लाका रुपमा रहेको बताए । उनले भने, ‘अब युनियन सुनसरीको आफ्नै भवन बन्ने प्रक्रियामा पनि छ । देशभरका साथीहरुलाई डिजिटल पात्रोमार्फत एकीकृत गर्ने अभियान पनि चलाउनु सुखद कुरा हो ।’ उनले सुनसरी युनियनको उदाहरण दिँदै अन्य जिल्लाहरुले पनि अझै उत्साहित भएर काम गर्न प्रेरित गरे । पछिल्लो समय नगरसमितिले आफ्नो क्षेत्रमा काम गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 562 times, 1 visits today)

epaper

ताजा समाचार

दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो