सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरले पाँच वर्षको अवधिमा शिक्षा क्षेत्रको भौतिकदेखि गुणस्तर सुधारमा फड्को मारेको छ । विद्यालय शिक्षा स्थानीय तहमा हस्तान्तरण भएकै वर्ष नगर शिक्षा ऐन, २०७४ जारी गरी नगरपालिकाले सो ऐनमार्फत शिक्षा प्रशासनमार्फत शैक्षिक क्षेत्र सुधारका क्रियाकलाप सञ्चालन गरेको हो ।
नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अनुसार पढाइ शुरु गर्दैछ । नगरपालिकाबाट स्वीकृत ‘हामी र हाम्रो वीरेन्द्रनगर’ पाठ्यपुस्तक पहिलो वर्षमा कक्षा १ देखि ३ सम्म पढाउन लागिएको हो । सात वटा ‘थिम’मा तयार भएको पाठ्यक्रम अनुसार पाठ्यपुस्तक निर्माणको काम अन्तिम चरणमा पुगेको नगर शिक्षा शाखाले जनाएको छ । नगर शिक्षा शाखा प्रमुख उपसचिव धीरेन्द्रप्रसाद शर्माले चालू आर्थिक वर्षमा पाठ्यपुस्तक निर्माणका लागि विनियोजित १० लाख रुपैयाँ बजेट अन्तर्गत पाठ्यपुस्तक निर्माणको काम भइरहेको जानकारी दिए । पुस्तकमा वीरेन्द्रनगरको भूगोल, कला संस्कृति, जातजाति, भाषा, धर्म, पर्यटकीय स्थल, हावापानी, सामाजिक, राजनीतिक, आर्थिक अवस्था समेटिएको छ । “स्वीकृत पाठ्यक्रम अनुसार विज्ञहरुबाट पुस्तक तयार पार्ने काम भइरहेको छ, अब शुरु हुने शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्म पठनपाठन हुने व्यवस्था मिलाउनेछौं,” उनले भने “पछिल्ला वर्षहरुमा कक्षा ८ सम्म पढाइनेछ, स्थानीय पाठ्यक्रम अनुसारको पुस्तक सबै सामुदायिक, संस्थागत विद्यालयहरुमा अनिवार्य पठनपाठन गर्न लगाउनेछौं ।”
शिक्षा उपसचिव शर्माले नगर शिक्षा ऐन, खद २०७४ बमोजिम नगर शिक्षा नीति, आधारभूत तथा माध्यमिक शिक्षा नीति तयार भएको जानकारी दिए । विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण र गुणस्तर सुधारलाई मुख्य जोड दिएको उनको भनाई छ । वीरेन्द्रनगरले सबै विद्यालयहरु रङ्रोगन, कम्प्युटर आइसिटी, पुस्तकालय र विज्ञान प्रयोगशालाको व्यवस्था, एक शिक्षक एक ल्यापटप वितरण, खेलकूद शिक्षक नियुक्ति, विद्यालय नर्स कार्यक्रम सञ्चालन, निःशुल्क सेनेटरी प्याड वितरण लगायतका महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको छ ।
माध्यमिक विद्यालयमा अंगे्रजी, गणित र विज्ञान विषयका शिक्षक अभावन भइरहेका विद्यालयमा भर्चुअल माध्यमबाट पठनपाठन गरिँदै आएको छ । उपसचिव शर्माका अनुसार सिकाइ सहजीकरण केन्द्रमार्फत कक्षा ८ र १० लाई केन्द्रीत गरेर बुस्टर कक्षा सञ्चालन गरिएको छ । कोभिड महामारीका बेला र त्यसपछि पनि भर्चुअल माध्यमबाट बुस्टर कक्षा सञ्चालनमा ल्याइएको छ । १० माध्यमिक विद्यालयमा यस विधिबाट पढाइ हुने गरेको छ । सुर्खेतमा ९६ बालविकास केन्द्र, ६० सामुदायिक विद्यालय, ८८ संस्थागत विद्यालय छन् ।
नगर शिक्षा ऐन अनुसार वीरेन्द्रनगरमा सञ्चालित ट्युसन, कोचिङ सेन्टरलाई दर्ता र नियमन गर्न थालिएको छ । त्यस्तै, नेपाली सैनिक, नेपाल प्रहरीको कल्याणकारी कोष, एसओएस बालग्रामद्वारा सञ्चालित विद्यालयलाई स्थानीय पाठ्यक्रम पढाउन निर्देशन दिइएको छ ।
नगर प्रमुख देवकुमार सुवेदीले नगर शिक्षा नीति र ऐनका आधारमा समग्र शिक्षा प्रशासन सञ्चालनमा आएको बताए । “स्कूल सञ्चालन, व्यवस्थापन, शिक्षक दरबन्दी व्यवस्थापन, परीक्षा प्रणाली, विद्यार्थी भर्ना लगायतका सबै काम नगर शिक्षा ऐनकै आधारमा हुँदै आएका छन्,” उनले भने, “नगरको आफ्नै शिक्षा नीति र ऐन बनाउनु नै हाम्रो मुख्य उपलब्धी हो ।” नगर प्रमुख सुवेदीले सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर पनि सुधार हुँदै गएको दाबी गरे ।






