नेपालका साम्यवादी दलहरूको पहिचान

प्रारम्भः
नेपालका साम्यवादी राजनीति गर्नेहरूले समग्रमा माक्र्सवाद, लेनिनवाद, माओवादजस्ता वाद र सिद्धान्तमा आधारित राजनीति गरिराखेको दाबी गर्छन् । नेपालमा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशिताका लागि आफ्नै दलको एजेन्डा रहेको दाबी गरिराखेका छन् । नेपालमा साम्यवादी ब्रान्डमा राजनीति गर्नेहरूले आफ्नै दललाई लोकतन्त्रको हिमायती, जनपक्षीय एजेन्डा बोक्ने, समानताको नारा र कार्यक्रमलाई प्रवद्र्धन गर्ने, वामपन्थी दल रहेको घोषणा गरिराखेका छन् । कार्लमाक्र्सलगायतका विद्वानहरूले प्रतिपादन गरेका सिद्धान्त र आदर्शको अध्ययन गरी नेपालका साम्यवादीहरूको मूल्यांकन गर्दा अत्यन्त द्विविधाजनक अवस्थामा पुगिएको छ । साम्यवाद, वामपन्थवाद, लोकतन्त्र समान प्रकारले कार्यान्वयनमा आउन सक्ने विषय हुन् वा होइनन् ? साम्यवादको गन्तव्यतर्फ नेपालको साम्यवादी राजनीति कुन हदसम्म अभिमुख भएको छ ? के नेपालका कम्युनिस्टहरू मालेमावादका आधारमा राजनीति गरिराखेका छन् त ? साम्यवादी देशको शासनशैली कसरी अघि बढिराखेको छ ? सोसमेत दृष्टिगत गरी यो आलेख तयार पार्ने प्रयास गरिएको छ ।

विश्वका साम्यवादी देशहरूका शासकीय शैली
विभिन्न देश कम्युनिस्ट शैलीको अध्ययन गर्दा साम्यवादी सिद्धान्त र आदर्शलाई देखावटी नारामा मात्र सीमित गरेको देखिन्छ । आफ्नो स्वार्थका लागि जुनसुकै पनि आदर्श र सिद्धान्तका आधारमा राजनीति गर्नेहरूसँग गठजोड गरेका उदाहरण प्रशस्त छन् । कार्लमाक्र्सको सिद्धान्तलाई सबैभन्दा पहिला प्रयोग गर्ने देश सोभियत संघ हो । विश्वमै साम्यवादी देशहरूको नेतृत्व गर्दै संरक्षण प्रदान गर्ने देशका रूपमा सोभियत संघले लामो समयसम्म आफ्नो पहिचान बनायो । लोकतान्त्रिक देशहरूको नेतृत्व संयुक्त राज्य अमेरिकाले गरिराखेको छ । यसले लोकतान्त्रिक समूहका देशहरूलाई आफ्नो कित्तामा सामेल गराउँदै लामो समयदेखि प्रभाव जमाउँदै आएको छ ।

नाटो, सिटो, सिन्टोजस्ता संगठनहरूमा समाहित भई आपसी हितका लागि यी राष्ट्रहरू समर्पित हुँदै आएका छन् । आफ्ना संगठनका सदस्य राष्ट्रहरूलाई संयुक्त राज्य अमेरिकाले निर्बाध रूपमा संरक्षण प्रदान गरेको छ । वर्तमान समयसम्म यो क्रमले निरन्तरता पाइराखेको छ । कम्युनिस्टहरूको आतंकबाट सुरक्षित रहन साना र लोकतन्त्रका पक्षपाती राष्ट्रहरूले नाटोको सदस्यता लिने क्रम अहिले पनि जारी छ ।

तर, तत्कालीन सोभियत संघ रहँदैको अवस्थामा पनि साम्यवादीहरू एकताबद्ध भएर रहन सकेनन् । चीनका माओले जीवनकालमा एक मात्र विदेशको भ्रमण सोभियत संघको गरेका थिए । यो भ्रमण अवधिमा उनी अत्यन्त नकारात्मक धारणा पालेर स्वदेश फर्किए । संयुक्त राज्य अमेरिकासँग मिलेर सोभियत संघलाई कमजोर बनाउने सोच उनमा थियो । यो राष्ट्रपति निक्सनका कुशल सल्लाहकार एवं कूटनीतिज्ञ हेनरी किसिन्जरले जानकरी पाए । चीनमा तत्कालीन अमेरिकी राष्ट्रपति निक्सन र किसिन्जरको चीन भ्रमण भयो । चीनले अमेरिकासँग सैन्य, हातहतियार, प्रशिक्षण, स्रोतसाधन सबै प्राप्त गर्दै गयो । यसको बदलामा सैन्यदस्ता र खुफिया एजेन्सी सीआईएलाई चीनमा कार्यालय खोली आफ्ना क्रियाकलाप गर्न सहमति प्रदान ग¥यो । दुवै देश मिलेर सोभियत संघलाई कमजोर बनाउँदै लगे । सोभियत संघ विघटन हुनुमा यस रणनीतिले पनि ठूलो मद्दत पु¥याएको थियो । एक साम्यवादी देशले अर्को साम्यवादी देशलाई कमजोर बनाउन लोकतान्त्रिक शक्तिको सहयोग लिइएको थियो । यस वैदेशिक नीतिको अवलम्बनबाट चीनले उदीयमान ताराका रूपमा विश्व रंगमञ्चमा आफ्नो उपस्थिति दिँदै आएको छ । विश्वमै आर्थिक दृष्टिले सर्वोच्च स्थानमा उपस्थिति दिन अमेरिकालाई पछि पार्नेगरी युद्धस्तरमा लागिपरेको छ । स्मरण रहोस्, चीनलाई यो अवस्थामा पु-याउने सफलता संयुक्त राज्य अमेरिकाको सौहार्द्रताबाट प्राप्त हुन आएको हो ।

साम्यवाद, वामपन्थवाद, लोकतन्त्र समान प्रकारले कार्यान्वयनमा आउन सक्ने विषयहरू हुन् वा होइनन्

तर, त्यही चीनमा माओकै शासन कालमा विचित्रको अवस्था देखियो । चिनियाँ कम्युनिस्ट दलले स्वार्थका लागि जस्तोसुकै सिद्धान्त भएका देशहरूसँग एकता गर्ने, सहयोग प्राप्त गर्ने र उपादेयता सकिएपछि परित्याग गर्ने नीति अवलम्बन गर्न पुग्यो । सोभियत संघकै छहारीमा केही समय रही कम्युनिस्ट शासन चीनमा सुदृढ भयो, त्यही सोभियत संघलाई संयुक्त राज्य अमेरिकासँग मिलेर विघटनका लागि ठूलो भूमिका खेल्यो । अमेरिकी सहयोगबाट सोभियत संघमाथि व्यक्तिगत बदला माओले लिए । अमेरिकासँगै अहिले अस्वस्थ प्रतिस्पर्धा गरिराखेको छ । अब अमेरिकासँग मिलेर विश्वमा नेतृत्वदायी भूमिका लिन सम्भव नभएको चीनले राम्ररी बुझेको छ । सोभियत संघलाई अमेरिकासँग मिलेर असहज परिस्थिति सिर्जना गर्न माओको कम्युनिस्ट पार्टीको पोलिटब्युरोका सदस्यसँग राय लिँदा सोभियत संघसँग मिलेर जानुपर्ने दलिल पेस गर्नेहरूको हत्या भयो । दलभित्र माओले आफ्ना समर्थक मात्र राखेर शासन र दल एकल निर्णयका आधारमा सञ्चालन गर्न लागे । ‘ग्रेट लिप फरवार्ड’बाट चीनमा गरिबी व्याप्त भयो । सांस्कृतिक क्रान्तिका नाममा ठूलो संख्याका चिनियाँहरूको हत्या भयो । एकै प्रान्तमा १० लाख चिनियाँको हत्या भएको थियो ।

चीनका देंग सियायो पिंगले सन् १९७५ मा १६ वर्षको उमेरमा फ्रान्सको भ्रमण गरेका थिए । ५० वर्षपश्चात् पुनः सो देशको भ्रमण गरे । उनले कार्लमाक्र्सको सिद्धान्तको प्रभाव फ्रान्समा हेर्न खोजेका थिए । माक्र्सले पुँजीपति र मजदुरबीच वर्गीय संघर्ष हुने, यस्तो संघर्षबाट मजदुरहरूको विजय सुनिश्चित हुने, त्यसपछि सर्वहारा वर्गको शासन सञ्चालन हुने कल्पना गरेका थिए । उनको सिद्धान्तलाई सही मान्दा पुँजीवादी देश फ्रान्समा श्रमिक सर्वहारा वर्गमा परिणत भइसकेको हुनुपर्ने थियो । तर, श्रमिकहरूले आफ्नो पारिश्रमिक सन्तोषजनक तरिकाले प्राप्त गरेको देखे । निश्चित उमेरपश्चात् अवकाश पाई सुविधा पाइराखेका, उनीहरूको आर्थिक अवस्थामा समेत फ्रान्सको प्रगतिको स्तरसँग मेलखाने गरी सुधार हुँदै आएको पाए । वर्ग संघर्षको संकेतसम्म पनि देखेनन् । देंगले फ्रान्सको यस अवस्थाबाट प्रभावित भएर चीनको साम्यवादी शासनमा सुधारको आवश्यकता देखे । आज त्यस देशको सुधार कम्युनिस्ट शैलीको शासनभन्दा उदारनीति अवलम्बन गर्दै आएकाले सम्भव भएको हो ।

अब भारतका साम्यवादी दलको ’boutमा छलफल गरौं । सन् १९५९ मा चीनको सैन्य दस्ताले भारतको सीआरपीएफका १० जनाको हत्या गरिदियो । सन् १९६२ मा सिमानाको विवादका नाममा चीनले भारतमाथि हमला ग¥यो । लद्दाख, नर्थ फ्रन्टियर एजेन्सी र म्यक्मिलनको ८०० माइल क्षेत्रमाथि चीनले धावा बोलेको थियो । कम्युनिस्ट पार्टी अफ इन्डिया त्यस वखत भारतको दोस्रो ठूलो दलका रूपमा अस्तित्वमा थियो । भारत र चीनको लडाइँ समाप्त भएपश्चात् चीनले भारतको क्षेत्रसमेत गाभेर तयार पारेको म्यक्मिलन लाइनलाई आधिकारिकता प्रदान गर्नुपर्ने पक्षमा यो साम्यवादी दल उभियो । भारतका अन्य सबै दलहरू देशको भूभाग गुमाउनुपर्ने परिस्थितिमा राष्ट्रियताको पक्षमा थिए ।

सन् १९५९ मा स्वतन्त्र तिब्बतबाट चीनले दलाई लामालाई भगायो । तिब्बत बलपूर्वक कब्जा ग¥यो । अर्को देशको भूमिमा बल प्रयोग गरेर कब्जा जमाएको सन्दर्भलाई सकारात्मक रूपमा सीपीआईले लिन पुग्यो । यस साम्यवादी दलले मध्यकालीन अध्यारो युगबाट तिब्बतलाई मुक्ति दिलाई उज्यालोतर्फ अघि बढाएको भन्दै विज्ञप्तिमार्फत चीनको प्रशंसा गरेको थियो । यद्यपि, भारतले तिब्बतमाथिको आक्रमणको विरोध मात्र गरेको थिएन, त्यहाँबाट आएका तिब्बतीयन शरणार्थीहरूलाई शरणसमेत दिएको थियो । अहिले पनि स्वतन्त्र तिब्बतको संघर्ष भारतको भूमिबाट तिब्बतीयनहरूले गरिराखेका छन् । राष्ट्र, राष्ट्रियता र स्वतन्त्र देशमाथिको बलपूर्वक गरिने हमलालाई समर्थन गर्दै चीनको असली दासको भूमिकामा भारतीय साम्यवादी दल रहेकोमा कुनै सन्देह रहेन । तर, पनि त्यस दललाई भारतका साम्यवादी मतदाताहरूले समर्थन गरिराखेका छन् । यसबाट साम्यवादी दलका मतदाताहरू कहिले पनि राष्ट्र र राष्ट्रियता पक्षमा उभिने शक्ति होइनन् भन्ने प्रमाणित हुन पुगेको छ किनकि अहिले पनि यो साम्यवादी दल भारतको राजनीतिमा पकड जमाएर बसेको छ । सिद्धान्त र आदर्शलाई समयसापेक्ष परिवर्तन गर्दै जाने तर्कका आधारमा जस्तोसुकै परिस्थितिमा समेत स्वार्थसिद्ध गर्न अभिशप्त दलका रूपमा साम्यवादीहरूले आफ्नो पहिचान बनाएका छन् ।

कम्युनिस्टहरूले आफ्नो दलको नाममा साम्यवादी ब्रान्डलाई परित्याग गरी अन्य उपयुक्त लोकतान्त्रिक दलको पहिचान दिई नेकासँग प्रतिस्पर्धा गर्दा जनताप्रति इमानदारिता देखिनेछ

चीन, रुस, उत्तरकोरिया, कम्बोडिया, क्युबा आदिमा साम्यवादी शासनका नाममा उल्लेख भएका अतिरिक्त थुप्रै राजनीतिक नाममा हत्या र हिंसाजन्य अपराधकर्म भएका छन् । सोभियत संघमा स्टालिनले आफ्नो शासनशैलीको अन्धो समर्थन नगर्नेहरू १ करोड नागरिकको हत्या गरिदिएका थिए । भोकमरीको समस्याबाट समेत थुप्रै नागरिकले मृत्युवरण गर्न पुगेका थिए । चीनमा माओको पालामा एकै प्रान्तमा १० लाख र जम्मा ४ करोडले ज्यान गुमाएका थिए । चीनको इतिहासमै सबैभन्दा धेरै जनसंख्या घटाइएको थियो । उत्तर कोरियाले राष्ट्रको अत्यधिक स्रोतसाधन सैन्य संगठन र हातहतियारमा खर्च गरी जनतालाई भोकभोकै राखेको छ । सैन्य जवानमा समेत कुपोषण देखिएको छ । कम्बोडियामा पोलपोटले जम्मा जनसंख्याको २५ प्रतिशतको हत्या गरेर शासन सञ्चालन गरेका थिए । छिमेकी देशको सैन्यले यदि सत्ताच्युत नगरिदिएको भए पोलपोटले अझैँ तीव्र गतिमा हत्या र हिंसा गर्ने थिए ।

नेपालका सम्यवादीहरूको राजनीति
नेपालमा कम्युनिस्ट ब्रान्डमा राजनीति गर्नेहरूको दलको संख्या धेरै छ । पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी टुक्राटुक्रामा विभाजित भएको छ । साम्यवादीहरूले बनाएको धेरैवटा पहिचानमध्ये फुटपरस्त राजनीति गर्दै स्वार्थलोलुप झुन्डका रूपमा रहनु हो । झापा आन्दोलनबाट प्रारम्भ भएको माले दलको ठूलो टुक्रा हालका दिनमा एमाले बनेको छ । विभिन्न नाममा राजनीति गर्दै आएका कम्युनिस्ट कोही भूमिगत राजनीति गर्दै छन् । कुनै दल भूमिगत राजनीतिबाट आजित हुँदै संसद्वादी बनेका छन् । संसद्वादी कम्युनिस्ट दलको उपस्थिति नेपालमै देख्न पाइएको छ किनकि संसद्वादी राजनीति बहुदलीय लोकतान्त्रिक राजनीतिक प्रणालीका आधारमा अघि बढ्ने हो । साम्यवादीको गन्तव्य संसद्बाट प्राप्त हुन सक्दैन । संसद्लाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलोका रूपमा स्वीकार गर्नेहरू संसद्वादी हुन सक्दैनन् । अहिले साम्यवादीहरूकोे ठूलो हिस्सा संसद्वादी रूपमा रूपान्तरित भएका छन् ।

२०५२ सालबाट २०६२ सालसम्मको जनयुद्धमा निहत्था नेपालीहरूको हत्या गर्दै भूमिगत भएको माओवादी साम्यवादी दलले भारतलाई साम्राज्यवादी वरकरार गरेको थियो । भारतसँग सुरुङ युद्ध गर्ने उद्घोष गर्दै भारतबाटै सहयोग लिइराखेको थियो । आफ्ना सिद्धान्तसँग बेमेल राख्नेहरू विशेषगरी नेकाका कार्यकर्ता तथा नेताहरूलाई खोजी खोजी क्रुर हत्या गर्ने, बस्तीबाट खेद्ने र चल÷अचल सम्पत्ति हडप्ने कार्यमा व्यस्त रह्यो । करिब १७ हजार नेपालीहरूको जीवन लिला समाप्त पार्ने र सो परिस्थिति सिर्जना गर्ने माओवादी वर्तमान अवस्थामा पुनः टुक्राटुक्रा भएका छन् । भारतबाटै प्रशिक्षण, हातहतियार, स्रोतसाधन, नेताहरूको सुरक्षा प्राप्त गरेका माओवादी जनतासँग भारत र अमेरिकाजस्ता साम्राज्यवादी र विस्तारवादीहरूको आलोचना गर्दै कमजोर नागरिकहरूको हत्या गर्दै रहेका थिए । साम्यवादको लक्ष्य लिएर अघि बढेको दाबी गर्दै आएका माओवादीहरूका केही व्यक्ति नवधनाढ्य भएका छन् । राजतन्त्रलाई सामन्तवादको अवशेषका रूपमा स्वीकार गरेर आन्दोलित भएको नाटक मञ्चन गर्दै निर्मल निवाससँग सम्बन्ध सुधार गरिरहेका थिए । सरकारले माओवादीविरुद्धको अपरेसनका लागि सेना परिचालन गर्न माग गर्दा दरबारले अस्वीकार गर्नु यसको प्रमाण हो ।

नेपालका साम्यवादीमा आफ्नो दलीय सिद्धान्तप्रति निष्ठावान् भएको अवस्था देखिएन । कम्युनिस्ट राजालाई मोहोर चढाएर, प्रधानमन्त्री बन्न बिन्तीपत्र हालेर ठूला गणतन्त्रवादी बने । दुई÷दुई निर्वाचन क्षेत्रबाट निर्वाचन हारेको अवधिमा प्रधानमन्त्री बनेर ठूला लोकतन्त्रवादी भएको दाबी गर्दै रहेका छन् । बयलगाडा चढेर अमेरिका नपुगिने दाबी गर्नेहरू पनि गणतन्त्रवादी भएको दलिल पेस गर्दै छन् । नातागोता, इष्टमित्र मात्र योग्य देख्ने, पारिवारिक वृत्तबाट बाहिर आउन नसक्ने संकुचित मनस्थितिमा कम्युनिस्ट देखिएका छन् । गणतन्त्रवादी कम्युनिस्ट प्रतिगमन सच्चिएको पैरवी गर्दै राजाको शासनमा सहभागिता दिन पनि पछि परेनन् । स्टालिन, माओ, पोलपोटकै मार्ग अवलम्बन गर्दै हत्या हिंसामा लगाव प्रायः सबै कम्युनिस्टले देखाए । मर्यादाक्रम बिर्सिएर देशकै शिर निहुराउने कार्य प्रशस्त गरिए । साम्यवादीको राष्ट्रियता सिद्धान्तमा सीमित बन्यो । सिद्धान्त र आस्थाको आधारमा राजनीति गरेको अवस्था रहेन । कम्युनिस्ट दलहरूले लोकतान्त्रिक दलसँग गरेको गठबन्धनले पनि नेपालको राजनीति सत्ताकेन्द्रित मात्र देखियो । २०७४ सालको आमनिर्वाचनमा माओवादी केन्द्र एमालेसँग एकता गर्दै चीनको निर्देशन र समर्थनमा राजनीति गर्ने आभाष दिए । तर दुई-तिहाइनजिकको बहुमत प्राप्त सरकार तासको घरसरह कमजोर बनी अल्पमतमा पुग्यो र साम्यवादीहरूकै कारण सत्ताच्युत बन्यो । सिद्धान्त, आस्था, राष्ट्रियता सबै परित्याग गरी दलगत स्वार्थ र दलभित्र आफ्नो समूहको पृष्ठपोषणमा मात्र कम्युनिस्ट तल्लीन रहे । यस अर्थमा नेपालका कम्युनिस्ट र अन्य संसदवादी दलबीच कुनै भिन्नता महसुस हुन सकेन । तसर्थ, कम्युनिस्टले आफ्नो दलको नाममा साम्यवादी ब्रान्डलाई परित्याग गरी अन्य उपयुक्त लोकतान्त्रिक दलको पहिचान दिई नेकासँग प्रतिस्पर्धा गर्दा जनताप्रति इमानदारिता देखिनेछ । साम्यवादी गन्तव्यमा पुगेर उपलब्धि हासिल गर्दा पनि साम्यवादी देशहरूमा मजदुरी र खेती कम्युनका लागि गरिने, सर्वहाराको राज्यका नाममा केही व्यक्तिहरूलाई धनाढ्य बनाई राज्यकेन्द्रित अर्थव्यवस्था अवलम्बन गरी नागरिकलाई कुपोषण अभाव र भोकमरी पीडित बनाउने प्रपञ्च मात्र देखिएको छ । राज्यले सबै व्यवस्था गरिदिने नाममा नागरिकमाथिको चरम शोषणको अवस्था छ । साम्यवादलाई उदार बनाउनेले प्रगति गरिराखेका छन् । साम्यवादको भविष्य आउँदा दिनहरूमा देखिँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 524 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ