मेरो त प्रतिस्पर्धी नै छैन : नृपबहादुर वड

एक कार्यकाल मेयर भएको व्यक्ति फेरि किन दोहोरिन खोज्नुभयो ?

पाँच वर्षको कार्यकालमा राम्रो काम गर्ने वातावरण भएन । कोरोनादेखि हावाहुरीले गर्दा चाहे जति काम गर्न सकिएन । त्यसले गर्दा पाँच वर्षको विकासे अनुभवलाई नगर बनाउने मेरो उद्देश्य हो । धेरै योजना अधुरा रहेका छन् । ती अधुरा योजना पूरा गर्न फेरि मेरो उम्मेदवारी हो । बसपार्कदेखि गौरीफन्टा स्तरोन्नति र एयरपोर्टको विकास गर्ने मेरो मुख्य एजेन्डा रहेका छन् ।

यसपालि पनि जित्नुहोला त ?

राष्ट्रको आवश्यकताका आधारमा गठबन्धन भएको हो । माथि मिलेर गएकाले तल्लो तहमा मित्रवत प्रतिस्पर्धा गर्ने भन्ने नै हो । हामीले जितेको ठाउँमा र पहिलेभन्दा अहिले अझै राम्रो संरचना बनेकाले अहिले हामीलाई धेरै सहज भएको छ ।

जित्ने आधार कसरी देख्नुभयो ?

वडा तहमा कांग्रेसको बर्चस्व बढी छ । त्यसैले पनि हामीले नै उपमहानगरको मेयरदेखि वडासम्म सबै स्थानीय तह जित्छौं । गत चुनावमा हामीले १२ वडा जितेका थियौं । पाँचवटा माओवादीले र दुईवटा मात्रै एमालेले जितेको थियो । त्यसले गर्दा अहिले ठूलो मतान्तरले जित्नेछौं । अहिलेको सबैभन्दा प्राथमिकताको एजेन्डा नै उद्यमशीलतामा जोड दिने हो । यसले युवाशक्ति विदेश पलायन हुनबाट जोगाउँछ भने हामीले पनि स्वदेशमै केही गर्ने भावना भएका व्यक्तिप्रतिको विश्वसनीयता बढाउन सक्छौं ।

तपाई आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई ठान्नुहुन्छ ?

नेपाली कांग्रेस एक्लै लड्दा पनि कसैसँग प्रतिस्पर्धा थिएन । त्यसमा पनि अहिले गठबन्धन रहेको छ । त्यसले गर्दा अहिले मेरो प्रतिस्पर्धा कसैसँग पनि छैन । त्यसमा पनि स्वतन्त्र व्यक्तिसँग प्रतिस्पर्धा हुने कुरै छैन । दलीय व्यवस्थामा स्वतन्त्रसँग प्रतिस्पर्धा हुँदैन । यसपटक झन् गठबन्धनमा भएकाले मत बढेर ८० प्रतिशत पुग्ने अपेक्षा छ ।

पहिलो कार्यकालमा गरेको बाचा बिर्सिएको आरोप छ नि ?

पाँच वर्षको असहज परिस्थितिका बाबजुद पनि हामीले खानेपानी, स्वास्थ्य, कृषि, शिक्षा, पूर्वाधारसहितको क्षेत्रमा काम गरेको छौं । त्यसले निकै राम्रो नतिजा दिएको छ । जुन वडामा हिजो एक किलोमिटर पनि सडक कालोपत्रे थिएन, अहिले त्यहाँ १८÷२५ किलोमिटर सडक कालोपत्रे भएको छ । खानेपानी ८००/८५० घरधुरीले मात्रै खानेपानी प्रयोग गरेका थिए, अहिले १० हजार घरधुरीले खानेपानी पाइसकेका छन् । हिजोको दिनमा खानेपानी ट्यांकी एउटा वडामा मात्रै थियो भने आज १६ वडामा खानेपानी पुगेको छ । विद्यालय भवन पनि पर्याप्त मात्रामा बनाइएको छ । जुन क्षेत्रमा आवतजावत गर्न असहज छ, त्यो स्थानमा पुल हाल्ने र बाटो मर्मत गर्ने पनि गरेका छौं । अहिले पनि ३०/३१ वटा प्रोजेक्टमा हामीले काम गरिरहेका छौं ।

के धनगढी महानगर बन्न लायक भइसकेको हो ?

धेरै हदसम्म धनगढीमा पूर्वाधार निर्माण भएका छन् । हाम्रो उपमहानगरमा आवश्यक सिटी हल तयार पारेका छौं । कोल्ड स्टोर, वडा कार्यालय, आम्दानीको दायरा बढाउने तथा राजस्व वृद्धि गर्ने काम गर्न सफल भएका छौं । कोभिड महामारीमा पनि ३० करोड रुपैयाँ संकलन गर्न सकेका छौं । अब यसको दायरा फराकिलो हुँदै महानगर बन्न सक्ने क्षमतामा यो उपमहानगरलाई पु¥याउँछु भन्ने छ । हिजोका दिनमा गाउँमा विकास भएको थिएन । अहिले सबैतिर विकास भएको छ । धनगढी सहरभित्रका पनि धेरै सडक निर्माण भइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जब प्रतिस्पर्धीलाई काँधैमा बोके विजयीले