स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले खरका छाना विस्थापन अभियानको सुरुआत गरेको छ । नगरपालिकाको पाँचौं नगरसभाले नगरभित्र रहेका खरका छानालाई विस्थापित गरी जस्तापाता लगाइ दिने नीति पास गरेको थियो । कार्यक्रम पारित गरेसँगै लगत संकलनपश्चात् जस्तापाता वितरण थालिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
वालिङ नगरभित्रका १४ वटै वडामा रहेका खरका छाना विस्थापनकालागि लगत संकलन गरी जस्तापाता वितरण थालेका हौं नगर प्रमुख खाँणले भने, ‘पहिलो चरणमा अति विपन्न घर परिवारलाई प्राथमिकतामा राखेका छौं ।’ वालिङ–५ का बेगबहादुर सार्कीलाई तीन बन्डल जस्तापाता निःशुल्क प्रदान गरेर सुरुवात भएको नगर प्रमुख खाँणले बताए ।
खरको छानो स्वास्थ्यका दृष्टिले उपयुक्त भए पनि आगलागीको संभावना बढी हुने र अर्कोतर्फ खर छाउने दक्ष कामदारको अभाव हुने भएकाले पनि नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता लगाइ दिने योजना बनाएको नगर प्रमुख खाँणको भनाई थियो ।
कतिपय घर परिवार खरको छानो पनि फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ नगर प्रमुख खाँणले भने, ‘खरका छानो भएकाहरु गरीब हुन् भनी फरक ढंगले हेर्ने र हेप्ने प्रवृत्तिको अन्त्यका लागि पनि यो अभियान थालेका हौं ।’ गरिबीका कारण समाजमा विद्यमान रहेको हेय मानसिकता हटेर जाने विश्वास नगर प्रमुख खाँणको छ ।
खरका छाना भएका घरधनीले वडाको सिफारिस र खरको छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकबाट लागत स्टिमेट अनुसार जस्तापाता प्रदान गर्ने प्रक्रिया रहेको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् ।
स्मार्ट नगरको अवधारण बोकेको वालिङलाई यो अभियानले स्मार्ट बनाउन टेवा पुग्ने तिवारीको भनाइ छ । नगरपालिकाले खरका छाना विस्थापनका लागि आबेदन माग गरेसँगै हालसम्म चारसय २८ जनाको निवेदन परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले जानकारी दिए ।