हरिकृष्ण व्यञ्जनकारको प्रतिबद्धता : सम्पदा संरक्षणदेखि चिल्ला सडकसम्म

????????????????????????????????????


ललितपुर । ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले मूर्त तथा अमूर्त कला तथा सांस्कृतिक सम्पदा संरक्षणमा हरदम लाग्ने प्रतिबद्धता जनाएका छन् । सम्पदा संरक्षण गर्दै उनले समृद्ध महानगरको रूपमा विकास गर्ने अभियान चलाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

ललितपुरमा मिडिया एलाइन्सद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले महानगरभित्र रहेका खोकना, बुंमती, हरिसिद्धिलगायतका सम्पदाबस्तीमा मनाइने पर्व तथा जात्राको संरक्षण र रेखदेखमा विशेष ध्यान दिने वचन दिए । ‘पाटनभित्र पनि विभिन्न धर्म र संस्कृति, जात्रा र पर्व छन्, तीनको पनि संरक्षणमा लाग्नेछु,’ उनले भने ।

ललितपुर महानगरमा मुलुककै सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा, कृष्णजन्माष्टमी, भीमसेन खटजात्रा, मतया पर्व, तान्त्रिक नाचका साथै मुलुककै लामो कार्तिक नाच आदि मनाइने हुँँदा यी जात्रा तथा पर्व संरक्षणमा विशेष ध्यान दिने पनि उनले बताए ।

‘२०७२ सालको भूकम्पले भत्काएका तथा जीर्ण बनाएका सम्पदालाई समेत प्राथमिकतामा राखी अबको एक वर्षमा सो कामको थालनी गर्नेछु । महानगरभित्र रहेका पाटीपौवा तथा ढुंगेधारा जीवित राख्न पानी रिचार्ज हुने व्यवस्था मिलाउनेछु,’ जितपछिका आफ्ना योजना उनले सुनाए ।

कला र संस्कृतिको धनी ललितपुर महानगरमा कलाको विकासका लागि कला र संस्कृतिमा आधारित क्याम्पस खोल्ने सोचमा पनि आफू रहेको उनले बताए ।

यसैगरी ललितपुर महानगरभित्र रहेका असाध्यै जेहेनदार र गरिब व्यक्तिको पहिचान गरी छात्रवृत्तिको व्यवस्था मिलाउने उनको प्रतिबद्धता छ । महानगरभित्र ७० वर्ष उमेर नाघेकाको हितमा निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने उनको योजना छ । महानगरबासीको नियमित हेल्थ चेकअप गर्ने योजना बनाउँदै उनले सबै महानगरबासीको कम्तीमा वर्षको एकपटक फुल बडी चेक अप गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।

आफू विजयी भएको पाँच वर्षभित्र महानगरका हरेक सडक कालोपत्रे हुने दाबी गरेका छन् । ‘यहाँका सडक आवतजावत गर्न अवरोध पु¥याएका घर मालिकसँग छलफल गरी सडक विस्तार पूरा गर्नेछु । सडक विस्तार गर्न आवश्यक रहेका ठाउँका व्यक्तिगत जमिनको मूल्यांकन गरी क्षतिपूर्तिका लागि पहल गर्नेछु,’ उनले भने ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर पदमा विजय हासिल गरे राज्यले प्रदान गर्ने भत्तामा महिनाको ५ सय थपेर दिने घोषणा गरेका उनले यसपटक आफूलाई महानगरबासीले भोट दिएर जिताए अधुरा र अघिल्ला बाचा पूरा गर्ने बताए । उनले महानगरबासीको सुरक्षाका लागि हरेक टोलमा सिसिटिभी तथा सडक बत्ती जडान गर्ने बताए ।

बालबालिकाको चेतनाशक्ति वृद्धि गर्न बाल क्रिडास्थल, वृद्धवृद्धाका लागि विश्रामस्थललगायत उनीहरूका लागि भ्रमणको समेत व्यवस्था गर्ने बताए । ‘महिला शिक्षित भएमा परिवार सफल हुन्छ भन्ने मानसिकताका साथ महानगरभित्र रहेका महिलाको दक्षता वृद्धि गर्ने तालिम दिइनेछ,’ उनले भने, ‘उक्त सीपमार्फत उनीहरूलाई व्यवसाय सञ्चालन गर्न निब्र्याजी ऋण महानगरका तर्फबाट प्रदान गरी कामका लाग्ने अवसर प्रदान गर्नेछौं, उनीहरूको उत्पादनलाई महानगरले संकलन गर्दै बजारीकरणमा लैजाने योजना छ । युवालाईलाई स्वरोजगार उद्योग व्यवसायमा संलग्न गरिनेछ ।’

महानगरमा छुट्टै पार्किङस्थल, आवश्यक रहेका स्थानमा सडकपेटी, आवश्यक स्थानमा सडक विस्तार तथा मर्मत र ढल आदि व्यवस्थापन गरी चिल्लो सडकमा जनताले हिंड्न पाउने वातावरण बनाउने उनको वचन छ । मुलुकमा बढ्दै गइरहेको सहरीकरण र जग्गा प्लटिङका कारण पानीका मूल सुक्दै गइरहेकाले जनताले भोग्नुपरेको चरम खानेपानी समस्या समाधानमा लाग्ने उनको योजना रहेको छ ।

‘भर्खरै उपत्यका भित्रिएको मेलम्ची खानेपानी आयोजनालाई व्यवस्थित गरी उचित वितरणमा लाग्नेछु,’ उनले भने, ‘महानगरबाहिर रहेका विभिन्न मूल तथा वैकल्पिक पानीको स्रोत खोजी गरी महानगरबासीलाई पानीको समस्याबाट मुक्त बनाउनेछु ।’

ललितपुर महानगरका फोहोरलाई मोहरमा परिवर्तन गर्ने उपाय खोजी गरी काम गर्ने योजना व्यञ्जनकारको छ । ‘फोहर व्यस्थापन गर्न हाल लगभग १५ देखि २० करोड रुपैयाँ खर्च हुने गरेको छ । सो खर्च न्यूनीकरण र उचित रूपमा फोहर व्यवस्थापनका लागि करिब ५ करोड खर्च गरी फोहरलाई मोहरमा परिवर्तन गर्न सकिन्छ,’ उनले भने ।

यसैगरी गल्ने फोहरलाई मलमा परिवर्तन गर्ने महानगरभित्रका खेतीयोग्य जमिनमा प्रयोग गरी उत्पादनमा जोड दिने पनि उनको योजना छ ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन