विश्वभरिका मानिसले यतिबेला कठिन महसुस गरिरहेका छन् । विगतका दुई वर्ष विश्वभरिका मानिसका लागि संकटपूर्ण रहे । कोभिड–१९ को महामारीका कारण ठूलो जनसख्यालाई गुमाउन बाध्य भयौं । अझ यो संकट टरेको छैन । सबैभन्दा कमजोर मानिसलाई यसले सबैभन्दा बढी प्रभावित गरायो । कोभिड–१९ मात्र होइन, जलवायु परिवर्तनको संकटदेखि पछिल्लो समय देखिएका द्वन्द्वले कमजोर मानिसहरूलाई पीडा थपेको छ । जसका कारण मानिसमा मानवता हराएको छ छैन ? भन्ने आभास पनि हुन सक्छ । तर, पनि विश्वमा दयालु कार्यले मानवता मरेको छैन भन्ने आशामा मानिसहरूले सुस्केरा हालिरहेका छन् । मानवताको कार्य सानो÷ठूलो हुँदैन । यसले मानिसको जीवनमा ठूलो परितर्वन ल्याउँछ । त्यसैले दयाको कार्य, करुणामय कार्यको प्रभावलाई हामीले अझ वृद्धि गर्नुपर्छ, फैलाउनुपर्छ । समुदायमा यसको शक्तिको पहिचान गराउन सकेको खण्डमा करुणामय मानिसहरूको वृद्धि हुनेछ । करुणा भएका मानवता भएका नयाँ जेनेरेसन उत्पादन गर्न सक्छौं । करुणाको यो शक्तिको सन्देशका साथ यस वर्ष आज ८ मईको दिन विश्व रेडक्रस दिवस मनाइँदै छ ।
सन्दर्भ : विश्व रेडक्रस दिवस
उदासीनता, भ्रामक सूचना र घृणायुक्त भाषण यतिबेला व्यापाक रूपमा बढेको छ । जसले मानव–मानवबीच घृणा पैदा गराउन खोजेको छ । जसले समाजलाई खण्डित गरिरहेको छ भनेर भन्न सकिन्छ । यसले मानिसलाई अमानवीय बनाउने खतरा मडारिरहेको छ । त्यसैले हामीले मानव दयाको भावनालाई कायम राख्न पनि रेडक्रसको संस्थापक जा हेनरी ड्य्रनेन्टले देखाएको बाटोलाई आत्मसात् गर्नैपर्छ ।
पीडितहरूको सेवा गर्ने, हेरचाह र सहयोग प्रदान गर्ने भावनालाई हामीले मलजल गरेनांै भने हामीले मानवताविरुद्ध कार्य गरेको हुन्छौं । त्यसैले मे ८ अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट आन्दोलनका लागि महत्वपूर्ण हो । विश्वभरका १ करोड ४० लाख स्वयंसेवहरूका लागि साझा मानवताप्रतिको अटल प्रतबद्धतामा एकताबद्ध हुने यो अवसर पनि हो । उनीहरूलाई उत्साहित गराउँदै पीडितहरूको सेवामा सक्रिय हुन ऊर्जा थप्ने दिन पनि हो ८ मे ।
मानिसलाई आवश्यक पर्दा सहयोग गर्ने हृदय वृद्धि गर्न रेडक्रसको सक्रियता सहभातिा अपरिहार्य छ । विश्वकै सबैभन्दा कमजोर मानिसका लागि वकालत गर्न रेडक्रसको आवश्यकता रहेको छ । युद्धमा, प्राकृतिक प्रकोपका समय मिडियादेखि सार्वजनिक अधिकारी, दाताहरूको ध्यान अदृश्य मानवीय संकटमा नपरको समयमा रेडक्रसले त्यसमा सहकार्य गर्न आह्वान गर्दै सबैलाई मानवीय कार्य गर्न प्रेरित गरिहेको हुन्छ । हामी सबै मिलेर मानवताको ज्वाराभाटालाई फैलाउनुपर्छ र दयाको शक्तिमा विश्वास बलियो बनाउनुपर्छ । रेडक्रसका संस्थापक हेनेरीको जन्मदिनको अवसर पारेर हरेक वर्ष विश्व रेडक्र दिवस ८ मई २०२२ का दिन नेपाललगायत विश्वभरि मनाइन्छ । रेडक्रसका संस्थापक हेनरीको सम्झना गर्दै विश्वभर मानव समुदायमा आइपर्ने संकट समाधानका लागि मानवीय र परोपकारी भावनाबाट ओतपोत मानिसको आवश्यकता रहन्छ ।
विशुद्ध मानवीय सेवालाई ध्यानमा राख्दै संस्थापक हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनबाट आधिकारिक मान्यता प्राप्त गरेको रेडक्रस आज विश्वका १९६ भन्दा बढी देशमा सक्रिय छ । हेनरीको जन्म सन् १८२८ मे ८ मा स्वीजरल्यान्डको जेनेभा सहरमा भएको थियो । सन् १८४९ मा बैंकमा काम सुरु गरेका हेनरीले १८५९ जुन महिनामा व्यापारको सिलसिलामा फ्रान्सका सम्राट नेपोलियन तृतीयलाई भेट्न जाँदा बाटोमा सल्फेरिनो भन्ने ठाउँमा भएको भिषण युद्धमा १० हजार सेना मारिसकेका थिए भने ४० हजारभन्दा बढी सैनिक घाइते भएको देखे । धेरै घाइते छटपटाइरहेका थिए । दुःख र करुणामय चित्कारका स्वरले डयुनेन्टलाई मर्माहित बनायो । त्यो अवस्था देखेर हेनरी घाइते सिपाहीहरूलाई सेवा गर्ने र प्राथमिक उपचार गर्ने सोच बनाए । तत्काल उनले स्थानीय महिला र युवाहरूको सहयोगमा धेरै घाइतेहरूको ज्यान बचाउन सफल भए । आफ्नो व्यावसायिक सोचलाई परिवर्तन गरी हेनरी स्वदेश फर्किए । सन् १८६३ को अक्टोबर १६ देखि ३० सम्म १६ राज्यका ३१ जना प्रतिनिधिको उपस्थितिमा घाइतेको सहयोगका निम्ति अन्तर्राष्ट्रिय समिति नाम संस्थाको स्थापना गरे । पछि १८७५ मा यस संस्थालाई रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसी नाम राखियो । १८६४ मा केही देशका प्रतिनिधिसमेतको उपस्थितिमा जेनेभामा सम्मलेन भयो । त्यसै समयमा नै रेडक्रसको चिह्नको प्रारम्भ गरियो ।
रेडक्रस विश्वव्यापी हुँदै मानवीय सेवामा जुट्दै यसको व्यापकतामा निरन्तरता पाउँदै गर्दा हेनरी भने आर्थिक समस्या पर्न थाले । त्यसपछि त उनी ओझेल नै परे । सन् १८८७ मा स्वीजरल्यान्डको हेडेन भन्ने सहरमा बम बर्कर भन्ने पत्रकारले हेनरी वृद्ध अवस्थामा हेडेनको वृद्धआश्रममा जीवित रहेको कुरा अखबारबाट सार्वजनिक गरे । त्यसपछि धेरै देशले उनलार्ई मानार्थ अध्यक्ष घोषण गरेर मानपदवी र विभूषणहरूले सम्मानित गरे । सन् १९०१ मा उनलाई शान्तिका लागि पहिलोपटक नोबले पुरस्कार प्रदान गरियो । डयुनेन्टले पुस्कारको धनराशि वृद्धाश्रमको कोषमा सेवा सुविधाका लागि हस्तान्तरण गरे । यसरी मानवीय सेवामा निरन्तर तथा निःस्वार्थ रूपमा लागि पर्ने विश्वव्यापी संस्थाका संस्थापक महामानव हेनरीको १९१० अक्टोबर ३० तारिकका दिन मृत्यु भयो । यस्ता महामानव धेरै कम भेटिन्छन् ।
सल्फेरिनोमा भएको युद्धले देखेर नयाँ विचारको उजागर गर्दै उनले विश्वमा नै परितर्वन ल्याएका छन् । मानवताका लागि कार्य गर्न प्रेरित गरेका छन् । आज यो सन्देशलाई हामीले सबैमाझ पु-याउनुपर्छ ।
विश्वमा सन् १८६३ मा स्थापना भएको रेडक्रस नेपालमा भने २०२० सालमा मात्र स्थापना भएको हो । स्थापनादेखि नै मानवताको संरक्षणका साथै युद्धग्रस्त क्षेत्रहरूमा घाइतेहरूको उद्धारलाई तीव्रता दिँदै आएकोमा केही वर्ष अगाडिदेखि नेपालमा रेडक्रसले सेवासँगसँगै विकासमुलुक कार्यसमेत योगदान गर्दै आइरहेको छ । एम्बुलेन्स, रक्तसञ्चार, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार, मोतिया बिन्दुको अप्रेसनलगायतका आकस्मिक सेवा प्रदान गरेको छ । समुदायमा आधारित आँखा अस्पताल, खानेपानी आधारभूत स्वास्थ्य हेरचाह, शरणार्थी व्यवस्थापन, महिला सशक्तीकरण, समुदायको क्षमता अभिवृद्धि, एचआइभी एड्स रोकथाम, मानवीय मूल्यको प्रदर्शन, सरसफाइ, कोभिड–१९ विरुद्ध जनचेतना, रोकथाम तथा खोप अभियानका गतिविधिमार्फत नेपालमा रेडक्रसले सरकारलाई महŒवपूर्ण सहयोग गरिरहेको छ । नेपालमा पनि यस वर्ष हामीले परोपकारको शक्तिमा विश्वास भन्ने नारालाई सबैमाझ पु¥याउन आवश्यक छ । सो नारालाई सार्थक बनाउन विविधि गतिविधिहरू सञ्चालन संयोजन गरी रेडक्रस समुदायमा आइपर्ने हरेक किसिमका चुनौतीहरूमा बढी प्रभावित समुदायमा सबैभन्दा पहिले सहयोग पु-याएछ भन्ने सन्देश आमसमुदायमा प्रत्यक्ष अनुभति गराउनुपर्नेछ ।
लेखक व्यावसायिक स्वयंसेवक हुन् ।






