पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमालेले जीत दोहो-याएको छ । यसअघिका अध्यक्ष घनश्याम सुवेदी स्थानीय तह निर्वाचन २०७९ मा पुनः निर्वाचित भए । उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ (चिजा) चुनिइन् ।
अन्तिम मतगणनामा सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मीप्रसाद बराललाई १ सय ३२ मतान्तरले पराजित गर्दै एमालेका सुवेदी निर्वाचित भएका हुन् ।
उपाध्यक्षतर्फ एमालेकी गुरुङले गठबन्धनअन्तर्गत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शिवप्रसाद पराजुलीलाई १६ सय फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । गुरुङले ३ हजार ९ सय ७८ मत प्राप्त गर्दा पराजुलीको पक्षमा २ हजार ३ सय ७९ मत मा आयो ।
१२ हजार १ सय ६५ मतदातामध्ये मतदान प्रक्रियामा ८ हजार १ सय ३९ जनाले भाग लिएका थिए । गाउँपालिकामा ३, ४ र ५ नेपाली कांग्रेसले वडाध्यक्षसहित सदस्य जितेको छ ।






