मोदीको लुम्बिनी भ्रमण: धार्मिक कूटनीतिबाट सम्बन्ध सुधारको प्रयास

बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कूटनीतिबाट नेपालसँगको सम्बन्ध सुधारको प्रयास गरेका छन् । २५६६औं बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनी आएका मोदीले आफूलाई राजनीतिकभन्दा पनि धार्मिक भ्रमणबाट आनन्द मिल्ने बताए ।

मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ

मोदीले नेपाल प्राचीन सभ्यताको प्रतीक रहेको बताउँदै नेपाल आउँदा आफू अत्यन्तै खुसी हुने बताएका थिए । उनले नेपाली भाषामा भनेका थिए, ‘मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ ।’

उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बनारसलगायतका धार्मिक स्थलको भ्रमण गरेको स्मरण गर्दै त्यसले नेपाल र भारतको सम्बन्धलाई थप बलियो बनाएको बताए । मोदीले घुमाउरो ढंगमा नेपालसँग धार्मिक कूटनीतिबाट सम्बन्ध विस्तार गर्न चाहेको बताएका छन् । नेपालसँग सम्बन्धमा चिसोपन आइरहेका बेला मोदीले धार्मिक कूटनीतिको प्रयास गरेका हुन् ।

दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै उनले भने, ‘जनकपुरमा मैले भनेको थिएँ, नेपालबिना हाम्रा राम पनि अधुरै हुन्छन्, आज भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल पनि उति नै खुसी छ भन्ने मलाई विश्वास छ ।’ उनले भौगोलिक सीमाभन्दा माथि उठेर गौतम बुद्ध सबैका भएको बताए ।

खानपान, गीतसंगीत, चाडपर्व, रीतिरिवाजदेखि पारिवारिक सम्बन्ध, जसलाई हामीले हजारौं वर्षंसम्म बाँचेका छौं, अब तिनलाई विज्ञान, प्रविधि र पूर्वाधारजस्ता नयाँ क्षेत्रसँग पनि जोड्नुपर्नेछ, यस विषयमा भारत नेपालसँग काँधमा काँध मिलाएर काम गरिरहेको छ

‘दुवै देशबीच मिलेर काम गर्ने सम्भावना अपार छन्, हाम्रा यी प्रयासको लाभ दुवै देशका नागरिकहरूले पाउनेछन्,’ उनले भने, ‘भारत र नेपालीबीचको सम्बन्ध सगरमाथाजस्तै अटल छ । सगरमाथाजत्तिकै पुरानो पनि छ । हामीले आफ्ना स्वाभाविक र नैसर्गिक सम्बन्धलाई सगरमाथाजत्तिकै उचाइमा पु-याउनुपर्छ ।’

उनले सांस्कृतिक हिसाबले पनि दुई देशबीच पारिवारिक सम्बन्ध रहेको बताए । ‘खानपान, गीतसंगीत, चाडपर्व, रीतिरिवाजदेखि पारिवारिक सम्बन्ध, जसलाई हामीले हजारौं वर्षसम्म बाँचेका छौं, अब तिनलाई विज्ञान, प्रविधि र पूर्वाधारजस्ता नयाँ क्षेत्रसँग पनि जोड्नुपर्नेछ,’ उनले थपे, ‘यस विषयमा भारत नेपालसँग काँधमा काँध मिलाएर काम गरिरहेको छ ।’

प्रधानमन्त्री देउवाको निमन्त्रणमा लुम्बिनी आएका मोदीले यहाँ ६ घण्टा बिताए । उनले ६ घण्टाको अवधिमा मायादेवी मन्दिर दर्शन गरे । मायादेवी मन्दिरमा पूजा आराधना गरे । जहाँ मोदीले करिब ४० मिनेट विशेष पूजामा बिताए । पूजा आराधनापछि मोदी र देउवाले संयुक्त रूपमा भारतीय बुद्धिस्टहरूको संस्था इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध बिहारको शिलान्यास गरे । सो बौद्ध बिहार १ अर्ब भारतीय रुपैयाँमा तीन वर्षभित्र बौद्ध विहार निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

भ्रमण तालिकाअनुसार प्रधानमन्त्री देउवा र मोदीले औपचारिक भेटवार्ता गरे । भेटमा देउवा र मोदीबीच करिब डेढ महिनाअघि प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भएको छलफल र उपलब्धिका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिए ।

६ बुँदे सम्झौतामा हस्ताक्षर
दुवै प्रधानमन्त्रीले नेपाल—भारत सहकार्य र आपसी हितका विषयमा भेटवार्ताको क्रममा ६ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पहिलो बुँदामा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यहाँ बौद्ध विषय अध्यापनका लागि ‘डा. अम्बेडकर चेयर’ स्थापना गरिनेछ । ‘अम्बेडकर चेयर’को व्यवस्थाबमोजिम बौद्ध विषय पढाउने एक जना भारतीय प्राध्यापक लुम्बिनी बौद्ध विश्वविद्यालयमा नियुक्त हुनेछन् । समझदारीपत्र तत्कालका लागि पाँच वर्षका लागि कायम रहने भएको छ । पाँच वर्षसम्म भारत सरकारले हरेक वर्ष नयाँ प्राध्यापक खटाउनेछ । ती भारतीय प्राध्यापकले ६ महिना लुम्बिनी बौद्ध विश्वविद्यालयमा एक सेमेस्टर अध्यापन गर्नेछन् । भारत सरकारले तलब सुविधा दिएर बौद्ध विषयका प्राध्यापक खटाउनेछ ।

भारत र नेपालीबीचको सम्बन्ध सगरमाथाजस्तै अटल छ । सगरमाथाजत्तिको पुरानो पनि छ । हामीले आफ्ना स्वाभाविक र नैसर्गिक सम्बन्धलाई सगरमाथाजत्तिकै उचाइमा पु-याउनुपर्छ

एकअर्को मुलुकबीच विश्वविद्यालयमा चेयर स्थापना गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । नेपालले पनि १० वर्षअघि भारतको काशीस्थित बनारस हिन्दू विश्वविद्यालयमा ‘नेपाल चेयर’ स्थापना गरेको थियो ।

त्यस्तै, दोस्रो बुँदामा त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)बीच अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रअनुसार सिनासमा इन्डियन स्टडिजको पढाइ हुनेछ । त्यसका लागि ‘आईसीसीआर चेयर’ स्थापना हुनेछ ।

तेस्रो बुँदामा काठमाडांै विश्वविद्यालय (केयु) र आईसीसीआरबीच आईसीसीआर चेयर स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रअनुसार केयुमा इन्डियन स्टडिज अध्ययनका लागि भारत सरकारले भारतीय प्राध्यापक खटाउनेछ । चौंथो बुँदामा काठमाडौं विश्वविद्यालय (केयु) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, मद्रासबीच अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जनकपुरमा मैले भनेको थिएँ, नेपालबिना हाम्रा राम पनि अधुरै हुन्छन्, आज भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल पनि उत्ति नै खुसी छ भन्ने मलाई विश्वास छ

पाँचांै बुँदामा काठमाडौ विश्वविद्यालय (केयु) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी), भारतबीच लेटर अफ एग्रिमेन्टमा हस्ताक्षर भएको छ । यसअन्तर्गत केयु र आईआईटीले आइटी विषयमा स्नातकोत्तर तहको पढाई संयुक्त रूपमा सञ्चालन गर्नेछन् ।

छैठौं बुँदामा अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण’bout अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण—४ परियोजना संयुक्त रूपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको प्रश्न दबाएर सत्य लुकाउन सकिँदैन : कांग्रेस मधेस प्रदेश उपसभापति सिंह