वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा


हरेक वर्ष ललितपुरमा रथयात्रा गरी रातो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ । रातो मच्छिन्द्रनाथ जात्राको ठूलो महŒव रही आएको छ । वर्षा र सहकालका देवताका रूपमा मान्दै आएका रातो मच्छिन्द्रनाथलाई वैष्णवीले विष्णु, शैवले शिव, शाक्तले शक्ति, ब्राह्मणले ब्रह्मा, नाथ सम्प्रदायले मच्छिन्द्रनाथका रूपमा मान्छन् । अक्षय तृतीयाका दिन महादेव र पार्वतीको शुभ विवाह भएको दिन आर्यावलोकितेश्वरले आफू नाथ सम्प्रदायका भए पनि मत्स्य अवतारका रूपमा दर्शन दिएकाले मच्छिन्द्रनाथ भनिएको हो । यसका साथै रातो मच्छिन्द्रनाथलाई लोकनाथ, त्रैलोकेश्वर, अवलोकितेश्वर, करुणामय, भृंगपाद आदि धेरै नामबाट मान्ने गरिन्छ ।

प्रसिद्ध बौद्ध ग्रन्थ कारव्यव्युहमा उल्लेख गरिएअनुसार करुणामय अवलोकितेश्वर रातो मच्छिन्द्रनाथलाई विष्णु सम्झेर पूजा गर्नेहरूलाई विष्णुकै अवतार लिएर दर्शन दिने विश्वास रहेको छ, महादेव सम्झेर पूजा गर्नेहरूलाई महादेवकै अवतारको दर्शन दिएको जनविश्वास रहेको छ भने गणेश सम्झेर पूजा गर्नेहरूलाई गणेशकै अवतारको दर्शन दिएको पाइन्छ । त्यस्तै, राजा सम्झेर पूजा गर्नेलाई राजाकै रूपमा देख्न सकिन्छ, भनिएको छ । नेवार समुदायमा बुंगद्यःका नामले प्रसिद्ध करुणामयको रथयात्रा १७औं शाताब्दीका राजा सिद्धिनरसिंह मल्लको पालादेखि चल्दै आएको मानिन्छ ।

नेपालमा प्रत्येक वर्ष मनाइने विभिन्न जात्रामध्ये करुणामयको जात्रा उत्साह, उमंग र आस्थाअनुसार मनाइन्छ । खास गरेर ज्यापू समाजमा यो देवताको अत्याधिक प्रभाव देखिन्छ । ज्यापूको करुणामय भावप्रति विशेष श्रद्धा र आस्था हुनुको मुख्य कारण वर्षाका देवता भएकाले पनि हो । करुणामयलाई किन र कसरी वर्षाका देवता मान्ने गरियो भन्ने कुरामा एउटा किंवदन्ती छ ।

नेवार समुदायमा बुंगद्यःका नामले प्रसिद्ध करुणामयको रथयात्रा १७औं शाताब्दीका राजा सिद्धिनरसिंह मल्लको पालादेखि चल्दै आएको मानिन्छ


त्यति बेला गुरु गोरखनाथ नेपालमा आएछन् । उनले घरै पिच्छे भिक्षा माग्न जाँदा कसैले पनि एक मुठी चामल समेत दिएनछन् । अनि गोरखनाथ रिसले चुर भई वर्षाको मूल आधार भएका नौवटा नागको आशन बनाएर श्लेषमान्तक वनमा गई तपस्या गरी बसेछन् । वर्षाका मूल आधार नाग गोरखनाथको आशनमा परेकाले १२ वर्षसम्म पनि पानी परेनछ । देशमा अनिकाल भएछ, चारैतिर हाहाकार भयो, जनता त्राहीमाम भन्दै चिच्याउन थाले । यस्तो भयानक डरलाग्दो अवस्था आएकाले भक्तपुरका राजा नरेन्द्रदेवले काठमाडौंका तान्त्रिक वन्धुदत्तसँग सल्लाह गर्दा गोरखनातथका पनि गुरु करुणामयलाई आसामको कामरूप कामाख्याबाट ल्याउन सकेमा गोरखनाथलाई तपस्याबाट उठाउन सकिनेछ अनि अनिकाल हट्नेछ भनी बन्धुदत्तले सल्लाह दिएछन् ।

त्यही सल्लाहअनुसार भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडांैका तान्त्रिक बन्धुदत्त र ललितपुरका रथचक्र ज्यापू तीनै जनाले बढो संघर्षपूर्ण प्रयास गरेर आसामबाट करुणामयलाई ल्याउन सफल भएछन् । गोरखनाथले आफ्ना गुरु करुणामय नेपालमा सवारी भएको थाहा पाई हत्तपत्त उठेर गुरुको दर्शन गरेछन् । गोरखनाथले आफ्नो आशनबाट उठ्ने बित्तिकै आशनमा बसेका नौवटै नाग आ–आफ्ना स्थानमा गएछन् । त्यसपछि जलवृष्टि भएर पुनः सहकाल भएछ ।

करुणामयलाई आफ्नो देशमा ल्याइरहेको बेलामा बाटोमा आउँदाआउँदै तीन जनाको बीचमा करुणामयलाई अब कहाँ राख्ने भन्ने विषयमा विवाद भएछ । भक्तपुरका राजा नरेन्द्रदेवले आफ्नो देशमा राख्ने, काठमाडौंमा तान्त्रिक बन्धुदत्तले काठमाडौंमा राख्ने अनि देवता बोकेर ल्याउने ज्यापू रथचक्रले ललिपतुरमा राख्ने भन्ने विवाद भएछ । यसरी विवाद भइरहँदा ललितपुरका राजा सिद्धिनरसिंहले ललितपुरका सबैभन्दा ज्येष्ठ नागरिकलाई दही चिउरामा नुन राखी खुवाएर नुनको सोझो गर्नुपर्छ भनी सातवटा ओखलमाथि उभ्याएर करुणामयलाई ललितपुरमै राख्नु पर्छ भन्न लगाएका छन्, जुन कुरालाई सबैले स्वीकार गरेको मानिन्छ ।

अर्को एउटा भनाइअनुसार करुणामयलाई आसामबाट ल्याइरहेका बेलामा जंगलमा पुग्दा धेरै गह्रौं भएर आएछ । बोकी राख्न नै नसक्ने अवस्था आएछ । तान्त्रिक बन्धुदत्तले ध्यान गरेर हेर्दा करुणामय त्यही स्थानमा बस्न चाहेको कुरा थाहा भयो । अनि उनहिरूले सल्लाह गरेर देवतालाई सोही स्थानमा बसाइदिए रे । त्यो जंगल भनेकै हालको बुंगमति हो । उनीहरूले फेरि गरेको सहमतिअनुसार करुणामयलाई ६ महिना बुंगमति र ६ महिना ललितपुरमा राख्ने निर्णय गरे । १६७७ सालमा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले ज्योतिषलाई साइत देखाई उत्तरायण र दक्षिणायन ६–६ महिनाका लागि ललितपुर र बुंगमतिमा करुणामयलाई राख्ने चलन चलाएका हुन् भनिन्छ । सबैभन्दा लामो रात्री मंसीर महिनाको शुक्लपक्ष पूर्णिमा (यःमरि पुन्ही) अघि नै ६ महिनाका लागि बुंगमतिबाट ललितपुरमा करुणामयलाई ल्याई धानको चामलबाट यःमरि बनाई सबैभन्दा पहिला करुणामयलाई चढाउने चलन छ । त्यस्तै वर्षको सबैभन्दा लामो दिन जेठ शुक्लपक्ष पूर्णिमा (ज्या पुन्ही)भन्दा अगावै ६ महिनाका लागि ललितपुरबाट करुणामयलाई बुंगमति लगिन्छ ।

महास्नानपछि तान्त्रिक विधिअनुसार करुणामयको मूर्तिबाट प्राण तानेर कलशमा स्थापित गरिन्छ । ज्योतिषले साइत हेरेर महास्नान र मृत्यु संस्कारको मिति तोक्ने चलन छ


वर्षा र सहकालका देवताका रूपमा मान्दै आएका करुणामयलाई पुरुष र स्त्री दुवैको १० कर्म गरी मान्ने चलन छ । हिन्दु र बौद्ध भक्तजनले संयुक्त रूपमा मान्ने गर्छन् । करुणामय वर्षा र सहकालका देवता भएकाले अन्नदाता भनेर पनि मान्ने गरिन्छ । उपत्यकामा सर्वप्रथम बौद्ध सम्मेलन भएको बुंगमतिमा करुणामयको शिखर शैलीको मन्दिर छ । मंगल शैलीका नौवटा गजुर, बाइसवटा पाषाणका स्तम्भ र गजुरमा शंख, चक्र, गदा, पद्म पनि छन् । राजा नरेन्द्रदेवले यो मन्दिर बनाएका हुन् । तर, २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले करुणामयको यो मन्दिर पुरै भत्कियो र अहिले निर्माण कार्य भइरहेको छ ।

प्रत्येक वर्ष करुणामयको रथ यात्रा गर्ने सन्दर्भमा १५ दिनअघिदेखि नै जात्राको वातावरण सुरु भइसक्छ । वैशाख कृष्ण प्रतिपदाका दिन लगनखेलमा रहेको स्नान दवूमा राखी करुणामयलाई महास्नान गराइन्छ । महास्नानपछि तान्त्रिक विधिअनुसार करुणामयको मूर्तिबाट प्राण तानेर कलशमा स्थापित गरिन्छ । ज्योतिषले साइत हेरेर महास्नान र मृत्यु संस्कारको मिति तोक्ने चलन छ । महास्नानपछि करुणामयलाई मृत घोषित गरी मृत्यु संस्कारका सबै कार्य धार्मिक परम्पराअनुसार सम्पन्न गरिन्छ । यो संस्कारमा करुणामयको खट बोक्ने मानिस, पुजारी र गथियार भेला भएर महास्नान पछि काठमाडौंको म्हैपीको माटो ल्याई करुणामयको मूर्तिमा राखेर रंगरोगन गर्दै प्राण प्रतिष्ठा गर्ने चलन छ । करुणामयको महास्नानकै दिन पुल्चोकमा राति रथ बनाउन सुरु गरिन्छ । १५ दिनभित्रै रथ बनाउने कार्य सकिन्छ । वैशाख शुक्ल प्रतिपदाका दिन ३२ हात लामो रथमा करुणामयलाई लोककीर्ति महाविहार तःवहालदेखि गुरुजु पल्टन र राजा सिद्धिनरसिंह मल्लको खड्ग पनि ल्याई रथमा विराजमान गराइन्छ । चार दिनपछि अर्थात् वैशाख शुक्ल चतुर्थीका दिन करुणामयको रथ तानेर गाःबहालमा पु¥याइन्छ । गाःबहालका मानिसले याः न्यायेकेगु भन्दै करुणामयको पूजाआज गरी भोज भतेर गर्छन् । गाःबहालको जात्रालाई तान्त्रिक गुरु बन्धुदत्तका अनुसार काठमाडांैबासीको जात्रा भनी मान्ने गरिन्छ । गाःबहालबाट नुगलमा रथ यात्रा गरिन्छ भने नगुलबाट लगनखेलमा लागिन्छ । त्यहाँ करुणामयका आमा देवी भएको मांसिरमा रुखलाई करुणामयको रथले परिक्रमा गराइन्छ । लगनखेलमै करुणामयलाई नरिवलले अभिषेक गराई रथको टुप्पोबाट नरिवल खसाइन्छ । यसरी खसाएको नरिवल समात्न हुलमुलमा तछाडमछाड गर्दै भक्तजनले धेरै संघर्ष गर्छन् । जसले नरिवल समाउन सक्यो उसलाई पुत्रलाभ हुन्छ, उसको शुभ मंगल हुन्छ भन्ने जनविश्वास रही आएको छ । भोलिपल्ट बिहान महिलाले करुणामयको रथ तान्ने गर्छन्, यसलाई याकः मिसाया भुज्याः भनिन्छ । करुणामयको रथ तानेर जावलाखेलमा पुगेर पर्सिपल्ट पुल्चोकका भक्तजनले छ्वयला चिउराको भोज खाई राति भात छर्ने चलन छ । यसरी भात छर्ने अर्थात् जाः ह्वलेगु ठाउँ भएकाले यस ठाउँको नाम नै जाः ह्वलाः ख्यः अर्थात् जावलाखेल भएको हो भनिन्छ ।


पहिला पहिला भक्तजनले करुणामयको रथयात्रा बुंगमतिबाट ललितपुरको लगनखेलसम्म र ललितपुरबाट बुंगमतिसम्म रथ तानेरै जात्रा मनाइन्थ्यो । तर, पछि गएर यसरी रथयात्रा गर्न धेरै गाह्रो भएकाले हरेक वर्ष करुणामयको रथ तानेर ल्याउने र लाने गर्नुको सट्टा १२ वर्षमा एकपटक मात्र यसरी रथ तानेर लैजाने र ल्याउने चलन चलाएको हो । यही चलनअनुसार बुंगमतिबाट करुणामयको रथयात्रा गरेर ललितपुरमा ल्याई जात्रा गरेपछि पुनः बुंगमतिमा फर्काई लाँदा पनि रथ तानेरै लग्ने गरिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,497 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध