जब प्रतिस्पर्धीलाई काँधैमा बोके विजयीले

मकवानपुर । निर्वाचनमा हारजित सुनिश्चित सवाल हो । तर हार्छु भनेर कोही मैदानमा आउँदैन । जो मैदानमा आउँछ, जित्ने आधार देखेरै आउँछ र जित्नकै लागि जोड बल गर्छ र पनि हार जीतको संभावना आधा आधा नै हुन्छ । यसो त हार व्यहोर्नु भनेको यात्रा नै सकिनु र जीत हासिल गर्नु भनेको सर्वश्रेष्ठ नै हुनु पनि हाेइन ।

प्रतिस्पर्धामा आउने व्यक्ति कोही पनि कमजोर हुँदैन भन्ने हेटौंडा ५ का सुशील घिमिरेले आफूले विजयी भएपछि निकतम प्रतिस्पर्धीलाई काँधैमा बोकेर सम्मान र आदर जनाए । एउटा अन्तर्राष्ट्रिय स्तरको बक्सिङ खेलाडी सुशील घिमिरे, आफ्नो वडा र वडाभित्रको टोल टोलको विकास गर्ने सपना सजाएर स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैदानमा आए । नेकपा एमालेबाट घिमिरे वडा अध्यक्षको उम्मेदवार बने ।

परिस्थिति यस्तो आयो कि उनले प्रतिस्पर्धा गर्नुपर्ने व्यक्तिको रूपमा गठबन्धनले उनैको स्कुले गुरू हयगृव आचार्यलाई उभ्यायो । चुनावी मैदानमा उत्रिए गुरू-शिष्य सुशील र हयगृव । “आफ्नो चुनावी तयारी गर्दै गर्दा पटक पटक गुरूलाई भेट्थे, हामीबीच सधैं हार्दिकता नै भयो” सुशीलले भने “मैले गुरूलाई सम्मान गर्थे, उहाँको माया पनि सधैं पाएँ ।” निर्वाचन भयो, अन्तिम नतिजा आयो । शिष्य सुशील घिमिरेले २५३० मत पाए, गुरू हयगृव आचार्यले १३९० मत पाए । शिष्यले गुरूलाई ११४० मतान्तरमा जिते ।

विजय जुलुसले वडा परिक्रमा गर्ने कार्यक्रम तय गर्दै गर्दा आफ्ना गुरू र अन्य दलका प्रतिस्पर्धीलाई सम्झेको बताउँछन् शुसिल । “सबैलाई खुब सम्झिरहे, चुनावको दिनसम्म म एमालेको प्रतिनिधि थिएँ, अब म वडाको प्रतिनिधि हुं, हामीबिचको प्रतिस्पर्धा चुनावकै दिनबाट सकियो” उनले भने । घिमिरेले आफ्नो जितलाई वडा निबासी सबैको जित भनेका छन् । ” अबको ५ बर्ष काम गरेर वडावासीको मन जित्न सकेभने मात्र मेरो जित हुनेछ, अहिलेको जित मेरो हैन वडावासीको हो” उनले भने।

बिजय जुलुस सहित गुरू हायगृवको घरमा पुगेका घिमिरेलाई हायगृवले टीका लगाउँदै सफल कार्यकालको शुभकामना दिए । गुरूको आशिर्वाद पाएपछि सुशीलले काँधैमा बोके गुरूलाई । “सुशील मेरो चेला हो, उसले हाम्रो वडाको लागि राम्रो काम गर्छ,म ढुक्क छु” हयगृवले भने “आफूलाई उछिनेर मेरै चेला विजयी भएकोमा खुसि छु ।” प्रतिस्पर्धी घरैमा भेट्न आउँदा टीका लगाएर शुभकामना दिँदै हयगृवले फराकिलो मन देखाए भने, सुशीलले गुरूप्रतिको सम्मान र मर्यादा प्रकट गरे ।

कार्यकर्ताले ताली, सिठ्ठी र हुटिङ गरे, माहोल एकाएक भावुक बन्यो । चुनावी मैदानमा हारजित जे भए पनि टोलको विकासमा सबैको समन्वय र सहभागिताले मात्रै स्थानीय तहको प्रतिनिधित्वको अर्थ राख्ने उनले बताए । सुशीललाई हयगृवले हेटौंडा-५ को बालज्योती माविमा प्राथमिक तह अध्यापन गराएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 319 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेस पहिलाे पार्टी, २५२ पालिका प्रमुखमा विजयी