काठमाडौँ, । काठमाडौँमा क्रियाशील स्रष्टा पदयात्रीहरु २३२२ मिटर उचाईको दामनमा पुगेका छन् । २०७६ चैत्र १ गते स्रष्टा पदयात्राको ४१औं श्रंखलाअन्तर्गत मकवानपुर जिल्लाको उत्तरी क्षेत्र दामन क्षेत्रको अवलोकन र भ्रमण गरेका हुन् ।
खोलाघरे साहिंलो, शीतल गिरी, डिल्लीराज अर्याल, विमल अर्याल, शारदा पराजुली, वसन्त रिजाल, परशुराम परासर, घनश्याम प्रसाई, गोविन्द नेपाल, सुमन थापा, सुनिता थापा, माधवलाल श्रेष्ठ र जयन्ता पोखरेल, प्रवीण पुमा, लीलाराज दाहाल, मन्दिरा मधुश्री, शान्ति सापकोटा, प्रा.डा. ध्रुव घिमिरे, डिल्लीरमण सुवेदी, नारायण भण्डारी जनकपुरी, डा. धनप्रसाद सुवेदी, डा. यादेवी ढकाल, गीता रेग्मी, प्रभा बराल, सरस्वती अर्याल, शशी थापा र ऋचासहित २७ जना स्रष्टा पदयात्री बिहान ७ः४० बजे काठमाडौँबाट दामनको लागि प्रस्थान गरेका थिए।
बसबाट गएका पदयात्रीहरु काठमाडौँको थानकोट हुँदै धादिङको नौबिसेबाट त्रिभुवन राजपथको बाटो अघि बढेका थिए । उनीहरु धादिङको थाक्रे, नौखण्डे हुँदै मकवानपुरको थाहा नगरपालिका प्रवेश गरेका थिए । थाहा अभियन्ता रुपचन्द्र विष्टको जन्मस्थल पालुङ उपत्यका अवलोकन गर्दै पदयात्रीहरु दामन भ्यूटावरसम्म पुगेका थिए ।
त्रिभूवन राजपथको नौखण्डेबाट देखिएको स्वच्छ, घामको किरण आफुमा समाहित गरेर मुस्कुराउँदै गरेको हिमालले स्रष्टा पदयात्रीलाई लोभ्याएको पदयात्राको संयोजक शीतल गिरी बताउँछन्।
पदयात्रीहरुलाई पालुङ शीखरकोट बजारबाट पालुङ साहित्य परिषद्का स्रष्टा विर्खे अञ्जान, नवराज बर्तौला, भद्रध्वज गौतम, राम गर्तौला, शालिकराम बर्तौला, सघन कार्की, गणेश विष्ट लगायतले साथ दिएका थिए ।
मध्यान्न करिब १२ बजे बसले दामन भ्यू टावर यानी २३२२ मिटरको उचाईमा पुर्याएको थियो । पदयात्रीहरुले नजिकै रहेको सडक कार्यालयको कम्पाउण्डमा बसेर दिवा भोजन गरेका थिए। ‘सो कम्पाउण्डमा ढकमक्क फुलिरहेको लाली गुँरास, मन्द गतिले बहेको चिसो हावामा मुस्कुराउँदै हाम्रो स्वागत गरेको भान गराइरहेको थियो’ स्रष्टा पदयात्री डा। धनप्रसाद सुवेदी बताउँछन् ।
भोजन पश्चात पालुङ साहित्य परिषद्को तर्फबाट अध्यक्ष बिर्खे अञ्जानले पदयात्रीहरुलाई टीका र खादा लगाएर औपचारिक स्वागत गरेका थिए । त्यहाँबाट स्थानीय स्रष्टाहरूकै नेतृत्वमा पदयात्रा थालनी गरिएको थियो। पदयात्रीहरुले सबभन्दा पहिले पर्वतीय वनस्पति उद्यान अवलोकन गरेका थिए । जहाँ ६१ प्रकारका जडीबुटी संरक्षण गरिएको छ । घुम्ने क्रममा थाहा नगरपालिकाले बनाएको पिकनिक स्थल, लाली गुँरासको वन, बागवानी केन्द्र चाहारेका थिए। आकाश खुल्ला हुँँदा भ्यू टावरबाट हिमाल र ’roundको प्रकृति दृष्य अवलोकन गर्न पनि सकिन्छ ।
अवलोकन पश्चात सेल्फी डाँडामा गएर साहित्यिक कार्यक्रम थालनी गरेका थिए । दामनको सेल्फी डाँडामा गरिएको साहित्यिक कार्यक्रम पालुङ साहित्य परिषद्का अध्यक्ष बिर्खे अञ्जानले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा स्रष्टा पदयात्राका संयोजक शीतल गिरी अध्यक्ष रहेका थिए । काठमाडौँबाट गएका पदयात्रीलाई पालुङ साहित्य परिषद्का सचिव भद्रध्वज गौतमले शब्द गुच्छाले स्वागत गरेका थिए ।

सो कार्यक्रममा स्रष्टा पदयात्राको पहिलो पुस्तक ‘स्रष्टा पदयात्राः डाँडापाखा हेर्ने रहर’ लोकार्पण गरिएको थियो । स्रष्टा पदयात्राको विमोचित पुस्तक ५ प्रति पालुङ साहित्य परिषद्लाई उपलब्ध गराइएको थियो । रचना सुन्ने र सुनाउने क्रमपछि सभाका अध्यक्ष शीतल गिरीले छोटो मन्तब्यसहित कार्यक्रम समापन गरेका थिए।
पालुङका स्रष्टाहरुले भुटेको मकै, साँदेको गुन्द्रुक र मोहीको नास्ता गराएका थिए । समयको अभावले गर्दा साथै बसेर खाजा खाने वातावरण नरहे पनि स्थानीइ स्रष्टाहरूले माया गरेर उपलब्ध गराएको मकै र गुन्द्रुक खाँदै, मोही पिउँदै बसमा रमाइला गीत, चुटकिला र अभिनयमा रमाउँदै पदयात्रीहरु काठमाडौं फर्किएका थिए।

हरेक महिनाको पहिलो शनिबार आयोजना हुने यो पदयात्रा अभियान २०७३ को मंसिरबाट सुरु भएको हो । यस अभियानको प्रमुख उद्देश्य स्वास्थ्य, सिर्जना र पर्यटन प्रवद्र्धन रहेको छ ।








