नेपालगन्ज । पश्चिम नेपालको प्रवेशद्वारका रूपमा रहेको बाँकेको नेपालगन्ज नेपालकै पुरानो सहर हो । करिब डेढ सय वर्षभन्दा अघि नै नेपालगन्जलाई व्यवस्थित र विकसित सहरका रूपमा परिकल्पना गरिएको थियो ।
राणा प्रधानमन्त्री जंगबहादुर राणाले भारतको लखनउ विद्रोहमा सहभागी भएर फर्किँदा उनले लखनउका गन्जहरूको परिकल्पना गरी उनकै निर्देशनमा काठमाडौं उपत्यकापछिको व्यवस्थित सहर नेपालगन्जमा बसाइएको थियो । १९१६ सालमा निर्माण सुरु भई १९३८ मा सुविधा सम्पन्न तीन सय ६५ कोठी निर्माण गरेर नेपालगन्ज सहर बनेको थियो ।
त्यसैले पनि नेपालगन्जलाई जंगबहादुरको सपनाको सहर पनि भन्ने गरिन्छ । काठमाडौं, ललितपुर, भक्तपुर, पाल्पा र पोखरापछिको सहर मानिन्छ, नेपालगन्जलाई । तराईको भने पहिलो सहर भएको इतिहासकारको दाबी छ । पश्चिम नेपाल (साबिकमध्ये र सुदूरपश्चिमाञ्चल क्षेत्रका २४ जिल्ला)को शैक्षिक, व्यापारिक, आर्थिक र स्वास्थ्यहबका रूपमा रहेको नेपालगन्जले पूर्वाधार विकासमा खासै फड्को मार्न सकेको छैन । लामो समय स्थिर रह्यो ।
२०१७ सालमा नेपालगन्ज नगर पञ्चायत, २०१९ सालमा नगरपालिका र २०७१ सालदेखि उपमहानगरपालिका बनेको हो । २०६२÷६३ को राजनीतिक परिवर्तनपछि यहाँको विकास निर्माणले केही फड्को मारेको देखिन्छ । नेपालगन्जको साँघुरो सुर्खेत रोड सिक्स लेनको भएको छ । नगरभरि पक्की सडक र नाला बनेका छन् । पक्की बनाउन नसक्ने सडक पीपीसी गरिएका छन् ।
जनप्रतिनिधि आएसँगै नेपालकै नमुना सेनेटरी ल्यान्डफिल्ड साइट सञ्चालनमा आइसकेको छ । आधुनिकबसपार्क, नेपालकै पहिलो ग्रिन फाइभस्टार होटल सोल्टी, चार तारे डिलक्स होटल सेन्ट्रल प्लाजा कोहलपुर, सिद्धार्थ भ्यु, सिटीप्लाजासहित राजधानीभन्दा बाहिर सबैभन्दा बढी तारे होटल नेपालगन्जमै खुलेका छन् ।
गद्दी र सडक पेटीमा गरिने यहाँको परम्परागत व्यापार मार्टमा परिणत हुँदै छ । भाट–भटेनी सुपर स्टोर, वेस्टर्न बिजनेस कम्प्लेस, राही मार्टले एकैथलोमा धेरै सामान किन्ने सुविधा दिएका छन् । नगरमा करोडौं लगानीका मिटमार्ट पनि सञ्चालनमा छन् ।
नेपालगन्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टले समग्र नेपालगन्जको विकासका लागि आफूहरूले अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्ने बताए । उनले नेपालगन्जका सम्भावनाको खोजी गर्ने संरक्षण गर्ने र त्यसको विकास गर्नेगरी आफूहरू अघि बढ्ने दाबी गर्दै भने, ‘भर्खरै निर्वाचित भएर आएका छांै, जनताको आशा र भरोसा हामीमाथि अत्यन्त छ । हामी जनचाहना र जभरोसा कायम हुनेगरी नेपालगन्जको विकासको पहल गर्नेछौं ।’
नेपालगन्ज उपमहानगर नगर उपप्रमुख मरुद्धिन राईले आफूहरू भर्खरै निर्वाचित भएर आएको बताउँदै उपमहानगरलाई सफा, सुन्दर र टोल–टोलमा बाटोघाटो, खानेपानीको व्यवस्था मिलाउने प्रमुख योजना रहेको बताउँ छन् । उनले भने, ‘केही वर्षभित्रै विकास नर्माणले फड्को मारेर नेपालगन्जको मुहार फेरिने गरी हामी काम गर्नेछांै ।’
पश्चिम नेपालको प्रमुख सहर नेपालगन्ज संघीयतामा अन्यायमा परेको अनुभूति नेपालगन्जियाले गरेका छन् । नेपालगन्जमा भौतिक पूर्वाधार र आवश्यक संरचना हुँदाहुँदै पनि क्षेत्रीय सदरमुकाम सुर्खेत सारिनु, प्रदेशको राजधानी र अन्य सम्भावनाका कुरा पनि नेपालगन्जबाट अन्यत्र सारिनुले निराशा छाएको छ ।
लुम्बिनी प्रदेशको पुछारमा रहेको नेपालगन्ज विकासमा धेरै पछाडि धकेलिने धेरैले आँकलन पनि गर्छन् तर, अबको एक दशकभित्र यो सहरमा सम्भावना नै सम्भावना रहनेगरी विकासका काम आफूहरूले गर्ने दाबी जनप्रतिनिधिको छ ।
महानगरपालिका निर्माणको यात्रा
नेपालगन्ज पञ्चायती व्यवस्थामा नगर पञ्चायत (२०१७) हुँदै नगरपालिका (२०१९) बनेको नेपालगन्जलाई उपमहानगर बन्न ५ दशकभन्दा बढी समय कुर्नुप¥यो । साबिकका गाविस गाभेर उपमहानगर बनाइयो तर, पनि चिल्लो सडकबाहेक ती ठाउँ गाउँ जस्तै छन् । जनतामा आर्थिक, सामाजिक, राजनीतिक रूपमा खासै रूपान्तरण आएको छैन ।
नेपालगन्जलाई महानगरको दौडमा लगिएको छ । लुम्बिनी प्रदेशमा प्रदेश सरकारले बनाउने तीन महानगरपालिकामध्ये एउटा नेपालगन्ज पनि हो । तत्कालीन नगर प्रमुख डा. धवलसमशेर राणा महानगरको सम्भाव्यता रहेको दाबी गर्दै भन्छन्, ‘नेपालगन्ज महानगर भयो भने विकास बजेटको भ्वलुम पनि बढ्छ । बजेटका लागि कसैसँग हात फैलाउन पर्दैन । ढिलोमा अबको दुई दशकमै नेपालगन्ज महानगर बन्ने सम्भावनालाई नकार्न मिल्दैन ।’
महानगर बनाउन कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिकालाई समेटे पनि जनसंख्याको कमीका कारण असम्भव हुने र फेरि कोहलपुर, डुडुवा र जानकी गाउँपालिकाले पनि यो कुरालाई स्वीकार गर्न केही समस्या भएको कारण अध्ययन अघि बढ्न नसकेको बताइएको छ ।
भेरी अस्पताल : अत्याधुनिक विशिष्टिकृत अस्पताल
नेपालगन्जमा स्थापना गरिएको भेरी अस्पतालको इतिहास पनि डेढ सय वर्षभन्दा पुरानो छ । काठमाडौंमा केन्द्रीय अस्पताल वीरकै हाराहारीमा १९२० साल स्थापना गरिएको हो । साबिकमध्ये र सुदूरपश्चिमको ठूलो अस्पताल भए पनि भेरी अस्पताल विकासका दृष्टिले पछाडि नै प¥यो । प्रादेशिक हुँदै केहीअघि संघीय सरकारको मातहतमा आएर ५ सय शøयामा विकास हुँदै गरेको भेरी अस्पतालमा आगामी एक दशकभित्र विशिष्टिकृत अत्याधुनिक अस्पताल बन्ने तयारीमा रहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले दाबी गर्दै भने, ‘अबको एक दशकमा भेरी अस्पताल १ हजार शøयाको अत्याधुनिक विशिष्टिकृत सेवा दिने अस्पताल बन्छ ।’
उनले सेवासुविधा जति दाङ र सुर्खेतमा थुपारेर अत्यन्तै न्यून सेवासुविधामा क्षेत्रीय अस्पताल सुर्खेत र उपक्षेत्रीय अस्पताल दाङबाट तत्कालीन भेरी अञ्चल अस्पतालमा बिरामी रिफर गरेर पठाउने गरिन्थ्यो तर, अहिले भेरी अस्पतालले विशिष्ठिकृत सेवा दिन सक्षम रहेको प्रमाण कोरोनाको कहरमा सबैभन्दा बढी बिरामीको उपचार गरेर प्रमाणित गरेको बताए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको सञ्चालनले पनि नेपालगन्जलाई स्वास्थ्यहबका रूपमा विकास हुँदै आएको छ । नेपालगन्ज मेडिकल कलेजसँगै विभिन्न सेवाप्रदायक अस्पताल स्थापना हुने क्रम नेपालगन्जमा बढ्दो रहेको कारण पनि स्वास्थ्यहबका रूपमा नेपालगन्ज रहेको छ ।
नेपालगन्ज विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसहितको २० वर्षे गुरुयोजना
नेपालगन्जविमानस्थल स्थापनाको पनि झन्डै ६ दशक भइसकेको छ । २०१७ सालमा खजुरामा विमानस्थल स्थापना गरियो । २०३० सालमा राँझामा स्थानान्तर गरी २०३७ सालदेखि नियमित उडान हुन थाल्यो । यो काठमाडौंपछिको सबैभन्दा बढी उडान भर्ने विमानस्थलमा पर्छ । यहाँबाट प्रदेश ५, कर्णाली, सुदूरपश्चिम र काठमाडौंमा उडान हुन्छ । यो विमानस्थललाई नेपाल सरकारले क्षेत्रीय विमानस्थलका रूपमा विकास गरी अन्तर्राष्ट्रिय उडान भर्ने निर्णय गरिसकेको छ । तर, भारतबाट एयर रुट नमिल्दा नेपालगन्ज–दिल्लीसिधा उडानमा बाधा पुगेको बताइएको छ ।
अर्कोतिर नागरिक उड्डयन प्राधिकरणले २० वर्षे गुरुयोजना सार्वजनिक गरी नेपालगन्ज विमानस्थलको क्षेत्र दोब्बर विस्तार गर्दै छ । त्यसपछि विमानस्थलबाट ठूला जेट विमान नै उडान भर्न मिल्नेछ । करिब डेढ वर्षअघि राँझा विमानस्थलमा गुरुयोजना सार्वजनिक गर्दै तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतले एयर रुट दिने बित्तिकै अन्तर्राष्ट्रिय उडानको तयारी गरिने आश्वासन दिएका थिए । तर, पछि उनले गुरुयोजनाअनुसारको बजेट रातो किताबमा राखेको भए पनि वर्तमान अवस्थामा नेपालगन्जको बजेट धनगढी विमानस्थलका लागि स्थान्तरण गरिएपछि २० वर्षे गुरु योजना अन्योलमा रहेको छ ।
नेपालगन्ज विश्वविद्यालय
नेपालगन्ज २०६२/६३ सम्म पनि साबिकमध्ये र सुदूरपश्चिमको शैक्षिकहब नै थियो । ६ दशक अघि (२०१९ साल) स्थापना गरिएको नेपालगन्जको महेन्द्र बहुमुखीक्याम्पस (सुरुमा महेन्द्र डिग्री कलेज) पश्चिमकै ठूलो क्याम्पस थियो । पछि भेरी प्राविधिक शिक्षालयलगायतका प्राविधिक शिक्षालय खुले । हालको मध्यपश्चिम विश्वविद्यालय नेपालगन्जमै खोल्ने तयारी हुँदै थियो । राजनीतिक खिचातानीले सुर्खेतमा स्थापना गरियो । नेपालगन्जमा प्रादेशिक स्तरको विश्वविद्यालय खोल्ने तयारी भइरहेको छ । विश्वविद्यालय संघर्ष समितिका संयोजक पशुपतिदयाल मिश्र भन्छन्, ‘हामीले खजुरामा १ सय विघा जग्गा खोजिसकेका छौं । अबको केही वर्षभित्रै नेपालगन्ज विश्वविद्यालय बन्नेछ ।’ विश्वविद्यालयका नाममा केही रकम संकलन पनि भएको छ ।
औद्योगिक सहर
नेपालगन्जको अर्को पहिचान औद्योगिक सहरको रूपमा पनि छ । झन्डै ५ दशकअघि (२०३०साल) नै नेपालगन्ज औद्योगिक क्षेत्र स्थापना गरिएको थियो । जहाँ तीन दर्जन उद्योगहरू सञ्चालनमा छन् । २०७२ सालदेखि बैजनाथ गाउँपालिकाको नौबस्तामा ३ सय ३८ बिघा क्षेत्रफलमा प्रदेशस्तरकै औद्योगिक क्षेत्र निर्माणाधीन छ । जयमंगलम सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, जय अम्बे स्टिल प्रालि, बागेश्वरी स्टिल एन्ड आइरन उद्योग, सगरमाथा स्टिल उद्योग, बाहुबली हर्बल उद्योग, गंगा रोजिन एन्ड टर्पेन्टाइन, पानस फर्मास्युटिकल्स जस्ता करिब ५ दर्जन बढी उद्योग जानकी गाउँपालिकाको एउटै वडामा छन् । नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापन परियोजना कार्यालयका प्रमुख कृष्णबहादुर पुन भन्छन्, ‘बाँकेको समृद्धिको प्रमुख आधार यो आयोजना बन्न सक्छ ।’
नेपालगन्जको विकास र संमृद्धिमा राज्यले सधैं बक्र दृष्टिलगायको कारण विगतका दिनमा पछाडि पारिए पनि अबको दशकमा सम्भावनाको नेपालगन्ज बन्नबाट कसैले पनि रोक्न नसक्ने जनस्तरबाट सञ्चालनमा रहेका विभिन्न योजनाले मार्गनिर्देशन गरेको छ ।






