स्थानीय सरकारमा युवाका प्राथमिकता

देशमा संविधान जारी भएपश्चात् हालसालै दोस्रोपटक स्थानीय तह निर्वाचन सम्पन्न भयो । यसपटकको स्थानीय निर्वाचनबाट पनि निर्वाचित हुने युवाको जमात पनि ठूलो छ तर पनि युवाका सवालमा जेजति कार्य हुनुपर्ने हो, त्यति हुन भने सकिरहेको छैन । यदि, युवाहरू आफूले चाहे र सोचेजस्तो स्थानीय सरकार हुन्थ्यो भने आफ्नै घरगाउँमा रहन्थे होला । उनीहरूले खोजेजस्तो कुनै अवसर नपाउँदा आफ्नो गाउँ मात्र हैन, देश नै छाडेर विदेश जान बाध्य भएका हुन् ।

स्थानीय तहमा युवा नेतृत्वमा आउँदा समेत आज पनि हरेक दिन बिदेसिने युवाको संख्यामा कमी आउनुको सट्टा झनै बढिरहेको यथार्थ हाम्रासामु यथावत् छ । यसको मूल जड भनेको नै युवाका लागि स्थानीय सरकार र नेतृत्व गर्ने जनप्रतिनिधिले युवालाई प्राथमिकतामा राख्न नसक्नुलाई नै मान्न सकिन्छ । जसका कारण युवापिंढी शिक्षा होस् वा रोजगारका लागि घर परिवार छाडेर बिदेसिन बाध्य छन् । यदि स्वदेशमै राम्रो शिक्षा र शिक्षापश्चात् रोजगारीको ग्यारेन्टी हुन्थ्यो भने बिदेसिने युवाको संख्यामा पक्कै पनि कमी आउँथ्यो ।
यसपटकको निर्वाचनमा देशका विभिन्न भू–भागमा राजनीतिक दलका धेरै युवा प्रतिनिधि र केही स्थानमा राजनीतिकभन्दा फरक पृष्ठभूमिका युवाले बाजी मारे । उनीहरूले निर्वाचन जित्नुमा धेरै खुसी युवापुस्ता नै देखिएका छन्, तर उनीमाझ आशा, भरोसासँगै अब युवाका लागि के गर्लान् ? प्रश्न चिह्न खडा भएको छ ।

समग्र स्थानीय तहको पूर्वाधार, विकास र प्रशासनलगायत सम्पूर्ण क्षेत्रका लागि महŒवपूर्ण भूमिका त छँदै छ । यसका अलवा अब नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले युवाको मन जित्न पनि युवाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य छ ।

स्थानीय तहमा युवा नेतृत्वमा आउँदा समेत आज पनि हरेक दिन बिदेसिने युवाको संख्यामा कमी आउनुको सट्टा झनै बढिरहेको यथार्थ हाम्रासामु छ । यसको मूल जड भनेको नै युवाका लागि स्थानीय सरकार र नेतृत्व गर्ने जनप्रतिनिधिले युवालाई प्राथमिकतामा राख्न नसक्नुलाई नै मान्न सकिन्छ ।


युवा स्रोत केन्द्रको स्थापना

मुख्यतः स्थानीय तहले युवा स्रोत केन्द्रको स्थापना गरी आफ्नो स्थानीय तहभित्र भएका युवाको संख्या संकलन गर्नु निकै महŒवपूर्ण छ । अझै पनि आफ्नो स्थानीय तहभित्र कति युवा आफ्नो बसोबास गर्छन् ?, कस्ता प्रकृतिका छन् ?, उनीहरूको विचार के कस्तो छ ? लगायतका विषयमा तथ्यांक संकलन गर्नु अपरिहार्य छ । युवाको मनोभावना नै नबुझी हचुवाका भरमा युवामैत्री कार्यक्रम सञ्चालन गर्नु ‘बालुवामा पानी सरह’ हुने गर्दछ । आफ्नो स्थानीय तहभित्रका युवाको विस्तृतमा तथ्यांक संकलन नगरेसम्म कसलाई के गर्ने भन्ने थाहा हँुदैन । युवा केन्द्र वा युवा शाखाको स्थापनापश्चात् स्थानीय तहभित्रका सम्पूर्ण युवाको राय, सल्लाह र उनीहरूको इच्छाअनुसारका कार्यक्रम सञ्चालन गर्न सकिन्छ । आफ्नो स्थानीय तहभित्रका युवामध्ये कतिपयलाई सल्लाहाकार वा विज्ञ समेत बनाउन सकिन्छ भने कतिपयलाई उनीहरूको इच्छाअनुसार रोजगार, व्यवसायमा लगाउन सकिन्छ । त्यसका लागि स्थानीय तहभित्र बसोबास गर्ने युवाको तथ्यांक संकलन गरिनु अपरिहार्य छ ।

उद्यमशीलता

स्थानीय तहले युवालाई उद्यम बनाउने कार्य महŒवपूर्णका साथमा अगाडि बढाउनु जरुरी छ । विकासको मूल प्रवाहमा रहेका युवालाई प्रत्यक्ष सहभागी गराउनु भनेको स्थानीय सरकारको मात्र मुलुक नै समृद्धिको बाटोमा अगाडि बढ्नु हो । युवा बिदेसिनुको मूल कारण भनेको नै बेरोजगारी बनेको छ । बेरोजगारीको सम्भावित संकट कम गर्न व्यापक रूपमा उद्यमशीलताको विकास गरी रोजगारी र स्वरोजगारी सिर्जना गर्नु अत्यावश्यक बनिसक्यो । उद्यम गर्ने भनेको खाली ठूला–ठूला उद्योग र कलकारखाना मात्र होइन र जीविको आर्जनका लागि गरिने व्यापार, सेवा, उद्योग, व्यवसाय सबै उद्यम हुन । राष्ट्रको विकास आर्थिक विकासमा निर्भर हुन्छ र आर्थिक विकास उद्यमशीलतामा निर्भर रहन्छ । उद्यमशीलताले नै देशमा बेरोजगारी युवाको सहयोग भएर रोजगारी सिर्जना गर्छ । उद्यमीको उद्यमशीलता र लगनशीलताले नै आज विश्वका धनी राष्ट्रको अर्थतन्त्रमा बृहत्तर विकास सम्भव भएको छ । युवा स्रोत केन्द्रको स्थापनापश्चात् कति युवा उद्यमका लागि इच्छुक छन् तिनीहरूको पहिचान गरेपश्चात् ती युवालाई उद्यमशील बनाउन सकिन्छ ।

व्यावसायिक सेवा र परामर्श

सबै युवा खाली रोजगारीका लागि मात्र इच्छुक नहुन सक्दछन् । स्थानीय तहमा धेरै युवा आफ्नै व्यापार, व्यवसाय गर्ने सोचमा हुने गर्दछन् । तर, उनीहरू अन्योलमा छन्, के गर्ने ?, कस्तो व्यवसाय गर्ने ?, कति लगानी गर्ने ?, यी सबै कुराको विषयमा जानकारी दिने उद्देश्यले व्यावसायिक सेवा र परामर्श दिन स्थानीय तहका जनप्रतिनिधिले तदारुकता देखाउनुपर्छ । जसका कारण युवाले आफूले गर्न चाहेको व्यवसायको मात्र हैन, जुनसुकै कुराको पनि जानकारी पाओस् । जस्तै ः कुनै एक युवाले व्यवसाय गर्न त चाह्यो, तर के कसरी दर्ता प्रक्रिया गर्ने ? लगानी कति गर्ने ? लगायतका विषयमा परामर्श दिएर यसलाई स्थानीय तहले नै कागजतपत्रमा सहजीकरण गरिदिँदा उसको व्यवसायमा सहज हुन्छ ।

स्थानीय उत्पादनमा प्रोत्साहन

केही स्थानीय तहले स्थानीय स्तरमै उत्पादन भएका वस्तुहरूलाई प्राथमिकतामा राखेको भए तापनि धेरै स्थानीय तहले यो लागू गर्न सकेका छैनन् । जसका कारण युवाले स्थानीयस्तरमै उत्पादित सामग्रीले बजार नपाउने र आफ्नै स्थानीय स्तरमा बाहिरबाट आयातित वस्तुको उपभोग बढ्दो क्रममा रहेको छ । यसका लागि स्थानीय स्तरमै उत्पादित वस्तुको प्रयोग बढाएर युवापिंढीलाई प्रोत्साहन समेत गर्न सकिन्छ ।
कृषि र पशुपालनमा अनुदान

स्थानीयस्तरमै पनि धेरै युवाले कृषि र पशुपालनको क्षेत्रमा काम गरेर आत्मनिर्भर हुन चाहेका हुन्छन् तर उनीहरूसँग लगानी गर्न आर्थिक अभाव हुन्छ । जसका कारण उनीहरू आफ्नो गाउँ र देश नै छाडेर विदेश जान बाध्य हुने गरेका छन् । त्यसरी केही गर्ने इच्छा हुँदाहुँदै पनि विदेसिन बाध्य युवा पिंढीलाई स्थानीय तहले कृषि, पशुपालन र उत्पादनका क्षेत्रमा मापदण्ड बनाएर सकिन्छ अनुदान दिने यदी सकिँदैन भने कम ब्याजमा ऋणको समेत व्यवस्था गर्ने हो भने युवा आत्मनिर्भर मात्र बन्दैनन् स्थानीय सरकारको समेत स्थानीय स्तरमा पुग्ने दैनिक उपभोग्य साम्रगीमा आत्मनिर्भर बन्न सक्दछ ।

घरेलु तथा साना उद्योगको स्थापना

स्थानीय तहमा घरेलु तथा साना उद्योगको स्थापना गर त्यसमा युवापुस्तालाई रोजगारीको अवसर दिन सकिन्छ । कतिपय स्थानीय तहमा रकम खर्च गरेर उद्योग सञ्चालन गरिए तापनि बेवास्ता गर्दा यसरी खोलिएका धेरै उद्योग बन्द हुने गरेका छन् । स्थानीय तहले स्पष्ट नीति बनाएर जुन ठाउँमा जुन कच्चा पदार्थबाट उद्योग सञ्चालन गर्न सकिन्छ त्यो प्रकारका उद्योग सञ्चालन गरेर त्यही युवालाई सक्रिय बनाए पनि युवा पुस्तालाई रोजगारी दिन सकिन्छ ।

खेलकुदमा प्राथमिकता

खेलकुदका क्षेत्रमा पनि युवालाई प्राथमिकतामा राख्न सकिन्छ । विद्यालय र क्याम्पस तहदेखि नै युवालाई खेलकुदमा समेत आवद्ध गराएर स्थानीयस्तरमै विभिन्न खेल क्षेत्रमा सुधार गर्न सकिन्छ । जसले गर्दा उनीहरूको खेलप्रतिको मोह र लगनशीलताले स्थानीय स्तरबाट पालिका स्तरीय प्रतियोगिता, तह जिल्ला स्तरीय प्रतियोगिता, प्रदेश तह स्तरीय प्रतियोगिता, राष्ट्रिय स्तरीय प्रतियोगिता हुँदै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी गराउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसमेत बन्न सक्ने अवसर प्रदान गर्न सकिन्छ ।

पर्यटनमा आकर्षित

स्थानीय तहमा भएका पर्यटकीय गन्तव्यको पहिचान गर्नुका साथै युवापुस्तालाई जानकारी गराउने र पर्यटकीय क्षेत्रमा घुमफिरमा आउने पर्यटकका लागि होटल एवं होमस्टे सञ्चालनका लागि प्रोत्साहन गर्न सकिन्छ । जसमा युवालाई प्राथमिकता राखेर काम अगाडि बढाउन युवा आत्मनिर्भर मात्र हैन रोजगार समेत बन्दछन् । यसका साथै पर्यटकीय क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको अवागमनले स्थानीय तहको आर्थिक पक्ष समेत मजबुद बन्न सक्छ ।

तालिमको अवसर

युवालाई स्थानीय स्तरमै दिन सकिने विभिन्न तालिमको अवसर समेत प्रदान गरेर युवालाई प्राथमिकतामा राख्न सकिन्छ । व्यावहारिक रूपमा दिइने त्यस्ता तालिम तथा गोष्ठीले युवाको दक्षता वृद्वि हुनुका साथै उनीहरू आत्मनिर्भर बन्न सक्दछन् । सकेसम्म स्वदेशमै बस्न प्रोत्साहन गर्ने यदि त्यसो गर्दागर्दै पनि विदेश नै जान चाहने युवालाई विदेश गएर गर्नुपर्ने कामका विषयमा जानकारी र तालिम दिन सकिन्छ, जसले गर्दा विदेश पुगेर युवाले दुःख भोग्नु नपरोस् । यसका साथै विदेशबाट फर्किएको युवा जमातलाई विदेशमा सिकेर आएको ज्ञान, सीपलाई सदुपयोग हुने खालको व्यापार, व्यवसायमा लगाएर उनीहरूलाई विदेश जानबाट रोक्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 713 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा केन्द्रीय समिति बैठक सोमबार