लक्ष्यसहितको व्यावसायिक पत्रकारितालाई आत्मसात गर्र्दै विभिन्न आरोह–अवरोह छिचोल्दै आज हामी २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश गरेका छौं । राजधानी न्युज पब्लिकेसनको २२औं वार्षिकोत्सवको यो विशेष अवसरमा देश–विदेशमा रहनुभएका हाम्रा सम्पूर्ण पाठक, शुभेच्छुकलगायत सबैमा न्यानो शुभेच्छा व्यक्त गर्दछौं । पत्रकारिता सूचना सञ्जालको खानी हो । यो एउटा अविरल यात्रा हो । जसमा हामीले कहिले संकट त कहिले सफलतालाई साक्षात्कार गर्ने अवसर पाएका छौं । आफूभित्रका चुनौतीलाई चिर्दै हामीले जहिले पनि मुलुकमा दिगो विकास, सुशासन, पारदर्शीता, भ्रष्टाचारविरुद्ध लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा निरन्तर पैरवी गर्दै आइरहेका छौं ।
अन्य क्षेत्र झैं यस क्षेत्रलाई पनि कोभिड–१९को महामारीले ठूलो असर गरेको छ । अझ यस राजधानी न्युज पब्लिकेसनले यही माहामारीका कारण संस्थापक अध्यक्ष श्रद्धेय महेन्द्र शेरचनज्यूलाई गुमाउनुपरेको थियो । जसले पब्लिकेसनमा थप चुनौतीहरू थपिए । यो कठिन परिस्थितिमा पनि जिम्मेवारी बहन गर्दै ऊर्जा प्रदान गर्नुहुने राजधानीकर्मीप्रति आभार व्यक्त गर्दछौं । कठिन समयमा हाम्रो मनोबललाई उच्च राख्न उत्प्रेरणा दिनुहुने शुभेच्छुक, प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सहयोगी हातहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दर्छौं । हामी संस्थापक अध्यक्ष स्वर्गीय महेन्द्र शेरचनज्यूले देखाउनुभएको सत्य र निष्ठाको बाटोमा हिड्ने प्रण पनि गर्दछौं । जसका कारण प्रतिकूल अवस्थामा पनि यस पब्लिकेसनबाट प्रकाशित हुने दैनिक र अनलाइन थप परिस्कृत र परिमार्जन गर्न हामीलाई हौसला मिलेको आभास भएको छ । डिजिटल रूपमा पनि प्रभावकारी उपस्थिति जनाउने गरी कार्य अगाडि बढाउने हाम्रो योजना रहेको छ ।
भर्खरै स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधि आएका छन् । स्थानीय तह संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको महत्वपूर्ण आधारस्तम्भ हो । जनप्रतिनिधिले संघीय शासन व्यवस्थालाई सफल बनाउन नैतिकता, इमानदारिता र पारदर्शीताका साथ काम गर्नुपर्छ भन्नेमा हामी दृढ छांै । स्थानीय तहदेखि प्रदेश र केन्द्रीय सरकार सञ्चालन गर्ने सबै शासकको एउटै उद्देश्य जनसेवा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । सूचनाको हकको संरक्षण र प्रेस स्वतन्त्रतालाई सबैले अंगीकार गर्नुपर्छ भन्ने हाम्रो ठहर छ । जस्तासुकै कठिन परिस्थितिमा पनि हामी हाम्रा सामग्रीलाई विश्वसनीय, विश्लेषणात्मक, तथ्यपरक बनाउन संवेदनशील भएर अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।
अन्त्यमा, फेरि पनि हामी देश–विदेशमा रहनुभएका पाठकवृन्द, विक्रेता, वितरक, विज्ञापनदाता, विज्ञापन एजेन्सीलगायत सम्पूर्ण शुभेच्छुक तथा सहयोगी सहकर्मीमा हृदयदेखि नै आभार प्रकट गर्दै २२औं वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दछौं ।






