पोखरा । कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको संकटको बेला संयमित बन्न तथा बजारमा अत्यधिक माग भएका बस्तु बिक्री वितरण तथा ढुवानीलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ ।
पोखरा उद्योग वाणिज्य संघले सोमबार विज्ञप्ति जारी गरी यो समयमा ओखती, मास्क, सेनेटाइजरसहित खाद्यान्न, पेट्रोलियम पदार्थहरुको बिक्री वितरण तथा ढुवानी कार्यलाई पारदर्शी, सरल एवं प्रभावकारी बनाउन उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरेको हो । संघले अत्यावश्यक सामानहरुको धेरै भण्डारण नगर्न सर्वसाधारणसँग अनुरोध पनि गरेको छ ।
‘पोखरा उद्योग वाणिज्य संघ, अवैध रुपले गरिने सबैखाले व्यापार- व्यवसायको सधैँ विपक्षमा छ र रहन्छ’, संघका महासचिव अर्जुन पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अझ, मानवीय संकटको बेला गरिने कुकृत्य त झन् दण्डनीय हो भन्नेमा पनि संघ प्रष्ट छ । बजारमा अत्यावश्यक सामानहरुको अभाव सृजना भएको तथा कालोबजारी बढेको भन्ने गुनासो आइरहेको बेला संघले विज्ञप्ति जारी गरेको हो ।
योे विपत्तिबाट सिंगो विश्व नै प्रभावित भएको बेला आवश्यक सुरक्षाको यथोचित प्रबन्ध गर्ने, जनतालाई सरकारबाट प्रदान गरिने स्वास्थ्य सेवाप्रति आश्वस्त बनाउने एवं आपूर्ति व्यवस्था सहज बनाउने दायित्व प्रभावकारी ढंगले सम्पादित गर्न संघले तीनवटै तहका सरकार तथा सरोकारवाला निकायहरुसँग माग पनि गरेको छ ।
यसैगरी, संघले कोरोना भाइरसका सेवा र औषधिजन्य उद्योगमा देखिएको विश्वव्यापी प्रभाव नेपालमा पनि देखिन थालेको उल्लेख गर्दै नेपालको प्रमुख पर्यटकीय नगरी पोखराको पर्यटन उद्योग ठप्पप्रायः भएको र अन्य क्षेत्रमा पनि असर देखिन थालेको जनाएको छ ।