कोरोनाविरुद्ध दक्षिण एसियाली रणनीतिक सहकार्य

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा आबद्ध राष्ट्रले कोरोना भाइरसविरुद्ध लड्न साझा रणनीतिक साझेदारीको कोसेढुंगाका रूपमा आपतकालीन कोष निर्माण गर्ने सहमतिसहित गरेका भिडियो कन्फ्रेन्सले यस क्षेत्रका नागरिकमा आशा र भरोसा ल्याएको छ । विश्वमा सन्त्रास फैलाइरहेको र अतिविकसित देशले समेत संकटकाल घोषणा गरेर कोरोनाविरुद्ध लडिरहेका बेलामा देखिएको यो दक्षिण एसियाली क्षेत्रीय सहकार्य आफंैमा यस क्षेत्रका लागि एक ठोस तथा सार्थक प्रयास हो भने अर्कोतिर यो विश्वका लागि एक मननीय उदाहरण पनि । कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक सीमा वा खण्डीकरणलाई अस्वीकार गर्दै विश्वव्यापी रूपमा फैलिएको कोरोनाजस्तो महामारीविरुद्ध विश्व नै एकजुट हुन जरुरी छ । यसले विश्व मानवताको सोचलाई यस संकटमा प्रयोग गर्नु र गरिनुपर्ने अवस्थामा पु¥याएको छ । दक्षिण एसियाली भिडियो कन्फ्रेन्सले क्षेत्रीय साझेदारीको वस्तुगत आधारसहित विश्व मानव एकताको सन्देश यही अर्थमा दिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली राष्ट्रको साझा रणनीतिक योजना बनाउन गरेको यस प्र्रस्तावमा सार्कका आठै मुलुक सहभागी छन् । कन्फ्रेन्समा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटान र अफगानिस्तानका राष्ट्र प्रमुख, प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले प्रत्यक्ष सम्बोधन गरेका छन् ।

कन्फरेन्सका धेरै उपलब्धिमध्ये पहिलो त रणनीतिक साझेदारीका लागि सार्क राष्ट्र एक ठाउँमा आएका छन् । लामो समयसम्म निष्क्रिय भई कोमामा रहेको सार्क हाल आँखा खोल्न र बोल्न थालेको छ । हल न चलको अवस्थामा रहेको सार्क उठिबस्न खोज्नु पनि ठूलै उपलब्धि भएको मान्नुपर्छ । त्यसमा पनि सबैभन्दा ठूलो देश भारत आफैंले आफ्ना छिमेकीसँगको सम्बन्ध सजीव र सुमधुर बनाएर राख्न खोज्नु सामान्य कुरा होइन । यसमा नेपालसहितका अन्य साना छिमेकी राष्ट्रको पनि हित अभिव्यक्ति भएको छ । प्रायः सधैंभरि एकापसमा प्रतिद्वन्द्वीका रूपमा रहँदै आएका भारत र दोस्रो ठूलो देश पाकिस्तानबीच यो कन्फ्रेन्सले आपसी हितका काममा अग्रसरता ल्याइदिएको छ । यसले मूलतः यी दुई देशबीच रहेको तनाव कम गर्न र सापेक्ष शान्ति स्थापना गर्न मद्दत पु-याएको छ । हेर्दा स्वास्थ्यसँग जोडिएको एक महामारीका रूपमा फैलिएको कोरोनाविरुद्ध लड्न कोषको स्थापना एक निमित्त कारण देखिए पनि यसको अन्तर्यमा सार्क राष्ट्रका बीचमा बन्द भएको सहकार्यको ढोका खोलिदिएको छ ।

राष्ट्र हुनुका विविध कारक तŒवमा भूगोल, जनसंख्या, सार्वभौमिकता, अन्तर्राष्ट्रिय मान्यता, सरकार, भौगोलिक सीमा, सेना आदि धेरै भए पनि जनसंख्या नै प्राथमिक कुरा हो । जहाँ जनताको बसोबास नै छैन, त्यहाँ राष्ट्र हुनुका अन्य तŒवले निर्णायक भूमिका खेल्न सक्दैनन् । त्यसैले पनि दक्षिण एसियाका राष्ट्र र ती राष्ट्रमा रहेका सरकारले कोरोनाजस्तो महामारी फैलिइरहेका बखत आफ्ना जनताप्रति केही न केही अभिभावकत्व देखाउनुपथ्याें, त्यो भयो । यो अभिभावकत्व एउटा देश विशेषमा मात्र नभएर विशाल दक्षिण एसियाली क्षेत्रका जनताको स्वास्थ्यलाई लिएर गरिएको हुनाले यसले यस क्षेत्रका जनतामा आशाको सञ्चार गराएको छ । साझा चुनौतीसँग लड्न यस क्षेत्रका शासक, प्रशासक तथा जनता तयार छन् भन्ने सन्देश यसले दिएको छ । यो क्षेत्रीय एकताले मानव निर्मित सीमाभित्र रही राष्ट्रहरूले आआफ्नै कम्बल ओढेर आफूलाई सुरक्षित छु भनी आत्मरती लिने कुपमण्डुक अज्ञानतालाई पनि चुनौती दिएको छ । कोरोनाजस्ता विश्वव्यापी महामारीविरुद्ध लड्न अबका आउँदा दिनमा संसारका सबै राष्ट्र नै एकजुट हुन र विश्वमानवताको साङ्लोमा बाँधिन जरुरी भइसकेको सन्देश दिनसक्नुमा यो कन्फ्रेन्सको रणनीतिक महŒव रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग