काठमाडौं । सांस्कृतिक संस्थानको ५०औं वार्षिक उत्सव (स्वर्ण महोत्सव) आइतबारबाट सुरु भएको छ । यो उत्सवको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । यो वार्षिक उत्सव ७ असारसम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइने भएको छ । यस्तै संस्थानले ‘५०औं वर्ष विशेष कार्यक्रम’ बनाई एक वर्षभरि विभिन्न कार्यक्रमका साथ स्वर्ण महोत्सव मनाउने भएको छ ।
५०औं वार्षिकोत्सवको अवसरमा पहिलो दिन राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
स्वर्ण महोत्सव उद्घाटन विशेष समारोहमा राष्ट्रपतिले लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा क्रियाशील सांस्कृतिक संस्थानलाई ५०औं वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिँदै भनिन्, ‘सांस्कृतिक क्षेत्रमा क्रियाशील संस्थाले ५० वर्षको इतिहास बनाउनु गौरवको विषय हो’, राष्ट्रपतिले अगाडि थपिन्, ‘५० वर्षको इतिहास र अनुभव बोकेको सांस्कृतिक संस्थानले हाम्रा अमूल्य संस्कृति र सभ्यताको मूल्य एवं मान्यतालाई पुनस्र्थापित गर्न योगदान दिनेछ भन्ने विश्वास लिएको छु ।’
नेपाली कला संस्कृतिको जगेर्नासँगै मुलुकका लोपोन्मुख संस्कृतिलाई संरक्षण गर्नमा सांस्कृतिक संस्थानको ठूलो भूमिका रहेको राष्ट्रपति भण्डारीले कार्यक्रममा बताइन् ।
संस्थानले नेपाली रंगमञ्च क्षेत्रमा निरन्तर योगदान दिएको भन्दै स्वर्ण महोत्सवको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । सो समारोहमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दलाई ‘दीर्घ साधना सम्मान २०७९’बाट सम्मानित गरियो । यस्तै, अग्रज रंगकर्मी ओममणि शर्मालाई ‘राष्ट्रिय नाट्य पुरस्कार २०७९’, अग्रज संगीतकर्मी प्रेमदेव गिरीलाई ‘राष्ट्रिय संगीत पुरस्कार २०७९’ र वरिष्ठ नृत्यकार सुरेश मिश्रलाई ‘राष्ट्रिय नृत्य पुरस्कार २०७९’बाट पुरस्कृत गरियो ।
राष्ट्रपति भण्डारीले संस्थानका तर्फबाट पुरस्कृत स्रष्टालाई जनही ५१ हजार रुपैयाँसहित सो सम्मान तथा पुरस्कार प्रदान गरिन् । राष्ट्रपति भण्डारीले सोही क्रममा संस्थानमा कार्यरत वीरेन्द्र हमाल र सुस्मिता तामाङलाई उत्कृष्ट कर्मचारी पुरस्कार पनि प्रदान गरिन् ।
सोही क्रममा करिब १ सय जना कलाकारले डेढ घन्टा लामो नृत्य, गायन, नाटकसहितको अर्केस्ट्रा कार्यक्रम प्रस्तुत गरे । प्राज्ञ अशोक राईको संगीत संयोजन, वीरेन्द्र हमालको नाट्य संयोजन र लोकराज राईको नृत्य संयोजन रहेको स्वर्ण महोत्सव विशेष सांस्कृतिक कार्यक्रममा मुलकका सबै प्रदेशका नृत्य तथा संगीतका झलक र वेशभुषा प्रस्तुत गरिएको थियो । सो अर्केस्ट्रा प्रस्तुतिकै क्रममा नेपाली वृन्दावन, विभिन्न समुदायमा निहित लोकनृत्यदेखि मुनामदन एवं कृष्ण लीलासम्म मञ्चन गरिएको थियो ।
संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले ५० वर्षको इतिहास र अनुभवबाट सिकेर लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि लक्ष्य र उद्देश्य निर्धारित नयाँ योजना तथा कार्यक्रमका साथ संस्थान अघि बढ्ने गरेको बताए । ‘देश भनेको चार किल्लाभित्रको ढुंगामाटो मात्र होइन । देश चिनाउन भाषा, वेशभूषा, रहनसहन अनि लोक संस्कृतिको उच्चतम विकास आवश्यक छ’, महाप्रबन्धक राईले भने, ‘मुलुकको लोक सांस्कृतिक अवस्थाले त्यो देशको समृद्धि र सभ्यता झल्काउँछ । लोक संस्कृति सुरक्षित र संरक्षित छैन भने त्यो राष्ट्र र राष्ट्रियता भरिलो एवं रसिलो हुन सक्दैन ।’