कम्युनिस्ट पार्टीबीच एकताका लागि दबाब अभियान

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीबीच एकताका लागि दबाब अभियान सुरु भएको छ । ‘राष्ट्रिय एकता अभियान घोषणा’ गरेका पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले कम्युनिस्ट पार्टीबीच एकताका लागि दबाब मुलक अभियान सुरु गरेका छन् ।

राष्ट्रियसभाका सदस्य समेत रहेका गौतमले विभाजित कम्युनिस्ट पार्टीबीच एकताका लागि राष्ट्रिय भेलाको आयोजना गर्दै छन् । गौतमका स्वकीय सचिव दीपक टमाटाका अनुसार राष्ट्रिय भेला शनिबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा हुँदै छ । पार्टी एकता अभियानमा लागेका नेता सो भेलामा देशैभरिबाट सहभागी हुने र एकता प्रस्तावमा छलफल हुने टमाटाले बताए ।

गौतमका स्वकीय सचिव टमाटाका अनुसार पार्टी एकता राष्ट्रिय भेलामा सबै जिल्लाबाट प्रतिनिधि आउने बताउँदै भने, ‘विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकता गर्न दबाब दिने उद्देश्यले भेलाको आयोजना गर्न लागिएको हो । देशैभरिबाट सहभागी प्रतिनिधिबीचा पार्टी एकताको विषयमा छलफल हुने र आउने निष्कर्षअनुसार अगाडि बढने हो ।’

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर विभिन्न समूहमा विभाजित भएकाले ती कम्युनिस्ट पार्टीका साथै अन्य साना कम्युनिस्ट पार्टीबीच पुनः एकता गरेर नेपालमा कम्युनिस्टको बलियो पार्टी बनाउनुपर्ने उद्देश्य गौतमको रहेको छ ।

सोहीअनुसार दबाब सिर्जना गर्ने उद्देश्यले भेलाको आयोजना गर्न लागिएको हो । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैरकम्युनिस्ट हाबी भएकाले कम्युनिस्ट पार्टी एक हुनुको विकल्पन नभएको निष्कर्ष गौतमको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएर नेकपा गठन भएको थियो । तर, नेकपा विघटन भई एमाले र माओवादी केन्द्र पुर्नस्थापित भयो । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ ।

तत्कालीन नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला १४ माघ २०७७ सालमा गौतमले एकताका लागि ‘राष्ट्रिय एकता अभियान घोषणा’ गरेका थिए । त्यस समयमा अध्यक्ष केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल दुई समूहले आधिकारिक नेकपा आफू भएको दाबी गर्दै आएका थिए ।

सोही समयमा २३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र पुर्नस्थापित भएको थियो । एमालेभित्र विवाद बढ्दै गएपछि माधव नेपाल र झलनाथ खनालले एकीकृत समाजवादी गठन गरेका थिए ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट पार्टी विभाजनकै कारण कमजोर देखिएकाले विभिन्न कोणबाट एकताका लागि बहस सुरु भएको छ । एमालेमा रहेका स्थायी कमिटीका सदस्य घनश्याम भुसालले समेत बामगठबन्धन गर्नुपर्ने पक्षमा उभिँदै आएका छन् ।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच बामगठनबन्धन वा पार्टी एकीकरण गर्ने विषयमा तीनै पार्टीका शीर्ष नेताबीच भित्रभित्रै छलफल दुई साताअघि भएको थियो । तर, सो भेटघाट एवं छलफलले सफलता पाउन सकेन ।

कम्युनिस्ट विभाजित हुँदा गैरकम्युनिस्ट हाबी भएको निष्कर्षसहित तीनै पार्टीबीच पुनः बामगठबन्धन वा पार्टी एकता हुनुपर्ने विषयमा नेताबीच छलफल यसअघि भएको थियो ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच जेठको अन्तिम साता छलफल भएको थियो । अध्यक्ष ओलीलाई भेटेका माओवादी केन्द्रका नेता श्रेष्ठले पछिल्लो राजनीतिक विषयमा छलफल भएको जानकारी गराएका थिए । एमाले अध्यक्ष ओलीलाई भेटेका माओवादी केन्द्रका नेता श्रेष्ठले त्यसको भोलिपल्ट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।

एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच भेटघाट अघि जेठको दोस्रो साता श्रेष्ठ र ओली निकट एमाले नेता गोकुल बाँस्कोटाबीच भेटघाट भएको थियो । श्रेष्ठ र बाँस्कोटाबीच चुनावी समीक्षासहित बामगठबन्धन’bout छलफल भएको थियो ।

सत्तारूढ पाँच दलीय गठबन्धनका कारण स्थानीय निर्वाचनमा पराजय बेहोरेका एमालेले सो गठबन्धन भत्काउन खोजेको छ । एमालेले भित्रभित्र कम्युनिस्ट पार्टीबीच चुनावी गठबन्धन बनाउन खोजेको छ । त्यसका लागि एमालेले चरणबद्ध छलफल समेत गरेको छ ।

एमाले स्रोतका अनुसार २८ जेठमा एमाले सचिव प्रदिप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच करिब दुई घण्टा छलफल भएको थियो । सो भेटमा समेत यही विषयमा छलफल भएको थियो । ज्ञवालीले समान्य छलफल र भेटघाट मात्रै भएको बताउँछन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सार्वजनिक कार्यक्रममै पाँच दलीय गठबन्धनको आलोचना गर्दै कांग्रेसले सहयोग लिने काम मात्रै गरेको बताउँदै आएका छन् । कांग्रेसले सहयोग नगरेको भन्दै खनाल वामगठबन्धन गर्नुपर्ने पक्षमा उभिँदै आएका छन् ।

आगामी कात्तिक वा मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने चर्चा भइरहेकै बीचमा तीन कम्युनिस्ट पार्टीबीच गठबन्धन गर्ने गृहकार्य सुरु भएको हो । सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेताले आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन रहने बताए पनि भित्रभित्र बामगठबन्धन’bout समेत छलफल भइरहेको छ ।

एकीकृत समाजवादी उपमहासचिव जगन्नाथ खतिवडाले कांग्रेसले देशमा अब प्रतिगमनको खतरा समाप्त भएको ठानेको अवस्थामा बामगठबन्धन हुन सक्ने बताए ।

‘इमानदारितापूर्वक पाँच दलीय गठबन्धन बन्ने हो भने पहिलो प्राथमिकता पाँच दलीय गठबन्धनकै हो, एकीकृत समाजवादी त्यसका लागि तयार छ’ खतिवडाले भने, ‘तर नेपालका कम्युनिस्ट एकआपसमा लड्दा त्यसको फाइदा गैरकम्युनिस्टले लिइरहेका छन् ।’

तर, विगतमा नेकपा किन विभाजन भयो ? कसका कारण विभाजन भयो त्यो विषयमा छलफल र गरेको कमजोरी नसच्याएसम्म बामगठबन्धन सम्भव नभएको खतिवडाले बताए ।

माओवादी केन्द्रका नेता गणेश शाहले राजनीतिमा असम्भव केही नभएको बताए । तर, अहिलेकै अवस्थामा कम्युनिस्टबीच बामगठबन्धन असम्भव भएको उनले बताए । यद्यपि कम्युनिस्ट पार्टीबीच एकता हुनुपर्ने उद्देश्यसहित हुने बहसले सकारात्मक सन्देश प्रवाह गर्ने साहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा ‘सिट’ हिसाब किताब, कांग्रेस ६०-४० को पक्षमा

कुरी-कुरी