भगवती लेमिनेट्स राजस्व छली प्रकरणमा केन्द्रले थाल्यो अनुसन्धान

काठमाडौं । राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकमाथि राजस्व अनुसन्धान विभागले केन्द्रीयस्तरबाटै विस्तृत अनुसन्धान थालेको छ ।

सुरुमा अनुसन्धान कार्यालय इटहरीले छानबिन गर्दै आए पनि ‘चित्त बुझ्दो नभए’पछि भगवती लेमिनेट्सका सबै फाइल विभागमै तानिएको थियो । ती फाइल तानेपछि अनुसन्धान थालिएको हो ।

विभागका अनुसार आइतबार मात्रै भगवती लेमिनेट्सको राजस्व छली प्रकरण छानबिन गर्न नयाँ अनुसन्धान अधिकृत तोकिएको छ । यसअघि, तत्कालीन महानिर्देशक प्रकाश पौडेलले पनि अनुसन्धान अधिकृत तोकेर भगवती लेमिनेट्समाथि गहन अनुसन्धान थालेका थिए ।

यसैबीच, केही दिनअघि मात्रै पौडेलको सरुवा भएपछि छानबिन प्रक्रिया अवरुद्ध भएको थियो । तर, हालै आएका नयाँ महानिर्देशक झलकराम अधिकारीले फेरि नयाँ अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अगाडि बढाएका छन् । भगवती लेमिनेट्समाथिको विस्तृत छानबिन प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए । ‘नयाँ अनुसन्धान अधिकृत तोकेर भगवती लेमिनेट्समाथि अनुसन्धान थालेका छौं, सबै प्रमाण केलाएर गम्भीरतापूर्वक छानबिन गर्छौं,’ महानिर्देशक अधिकारीले राजधानीसँग भने ।

नयाँ अनुसन्धान अधिकृत तोकेर भगवती लेमिनेट्समाथि गम्भीर छानबिन थालेका छौं, सबै प्रमाण केलाएर वास्तविकता पत्ता लगाई आवश्यक कारबाही गर्छौं

– झलकराम अधिकारी, महानिर्देशक, राजस्व अनुसन्धान विभाग

विभागका अनुसार यसअघि सञ्चालकलाई समेत बयानका लागि बोलाउने निर्णय भएकाले नयाँ अनुसन्धान अधिकृतले पनि त्यसअनुसार बयान लिने छन् ।

विभागले भगवती लेमिनेट्सका सञ्चालक रजनिश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाललगायतलाई आवश्यकताअनुसार बोलाएर बयान लिने तयारी गरेको छ ।

यसअघि, इटहरी कार्यालयले छानबिन गर्नुको साटो उल्टै मिलेमतो गरेपछि केन्द्रले फाइल तानेको थियो । लेमिनेट्सका सञ्चालकले जिल्लास्तरमा विभिन्न शक्ति केन्द्र प्रयोग गरी राजस्व कार्यालय इटहरीको अनुसन्धान प्रक्रिया नै कमजोर बनाउने प्रयास गर्दै आइरहेका थिए । अब भने केन्द्रबाटै निष्पक्षतापूर्वक छानबिन हुने र कुनै मिलेमतो नहुने विश्वास गरिएको छ ।

छानबिनकै क्रममा यसअघि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयका अधिकृतले भगवती लेमिनेट्स प्रालिका सात सञ्चालकको सबै बैंक खाता र स्टेटमेन्ट माग गरे पनि उनीहरूले विवरण दिन आलटाल गरेका थिए । इटहरी कार्यालयले पनि उनीहरूमाथि कडाइ गर्न नसकेको र सबै सञ्चालकसँग बयान लिनसमेत सकेको थिएन ।

– नयाँ अनुसन्धान अधिकृत तोकिए

– इटहरी कार्यालयको मिलिमतोपछि तान्यो फाइल

– केन्द्रबाटै विस्तृत अनुसन्धान सुरु

– शक्तिकेन्द्र प्रयोग गरी उम्कने सञ्चालकको दाउ

भगवती लेमिनेट्सका सञ्चालकले विभिन्न शक्ति केन्द्रसँग आफूहरूको सम्बन्ध रहेकाले जतिसुकै राजस्व छली गरे पनि ‘उम्कन सक्ने’ बताउँदै आएका छन् ।

भगवती लेमिनेट्सले एक वर्षको अवधिमा कच्चा बिलमार्फत करोडौंको कारोबार गरी ठूलो परिमाणमा राजस्व छली गरेको आधार भेटिएपछि झापास्थित केन्द्रीय कार्यालयमा छापा मारेर फाइल नियन्त्रणमा लिइएको थियो ।

लामो समयदेखि प्लाइउड व्यापार गर्दै आएको र एकपछि अर्को राजस्व छली गर्दै आएको भगवती लेमिनेट्स प्रालिले नक्कली बिल (कच्चा बिल)मार्फत करोडौं कारोबार गरेको प्रमाण फेला परिसकेका छन् । त्यसकै आधारमा राजस्व विभागले छानबिन गर्दै आएको हो ।

सो कम्पनीले सबैजसो कारोबार ‘अन्डर इनभ्वाइस’मा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न ‘अन्डर इनभ्वाइस’मार्फत कारोबार गर्ने गरिएको जनाइएको छ ।

भगवती लेमिनेट्सका कन्ट्री म्यानेजर विकास सिंहको नाममा करोडौंको चेक काट्ने गरेका प्रमाणसमेत फेला परेका छन् । लेमिनेट्सले राजस्व छल्ने उद्देश्यले कारोबार गरिएका डिलरलाई संस्थाको नाममा नभई कन्ट्री म्यानेजर सिंहको नाममा चेक काट्न लगाउने गरेको छ ।

भगवती लेमिनेट्सको ‘ट्याक्स प्लानिङ’ नीतिअनुसार सिंहको व्यक्तिगत नाममा चेक काट्ने गरिएको हो । यसरी विभिन्न डिलरले भुक्तानीक्रममा भगवती लेमिनेट्सका नाममा नकाटी सिंहको नाममा काट्ने गरेका कैयौं चेकको विवरण नै सार्वजनिक हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा ‘सिट’ हिसाब किताब, कांग्रेस ६०-४० को पक्षमा

कुरी-कुरी