नेपाल र भारतबीचको सम्बन्ध अरू देशको जस्तो औपचारिकता र कूटनीतिक आवरणमा सीमित छैन । सांस्कृतिक समानता, आपसी सहयोग, पारस्परिक निर्भरता आदिका कारण विश्वका अन्य कुनै पनि देशबीच सम्बन्ध नेपाल र भारतको जस्तो निकट हुनै सक्दैन । नेपालका अधिकृत दर्जाका सैनिकलाई भारतको सैनिक तालिम केन्द्रले प्रशिक्षण प्रदान गर्नेदेखि नेपालका सेना प्रमुखलाई मानार्थ भारतीय सेनाको जनरलको उपाधिसम्मले स्वत विभूषित हुने व्यवस्था छ । भारतीय सेनामा थुप्रै नेपालीले उच्च स्तरको सेवा प्रदान गरिआएका छन् । दुवै देशका नागरिक राहदानीबिना नै दुवै देशमा आवागमन गर्ने, बसोबास गर्ने र रोजगारीसमेत प्राप्त गरिरहेका छन् ।
दुवै देशका सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकबीच देशको सिमानाले कुनै प्रभाव पार्न सकेको छैन । दुवै देशका नागरिकले दुवै देशको स्वामित्व भाव र अपनत्व प्रकट गर्दछन् । समय समयमा सरकारी स्तरमा दुई देशबीच सम्बन्धमा उतारचढाव आउँदा पनि जनस्तरमा अत्यन्त मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहिआएको छ । यसको प्रतिनिधि उदाहरणका रूपमा लिम्पियाधुरा सिमाना क्षेत्रको विवादले उग्ररूप लिई नेपालको संसद्ले संविधानमै संशोधन गरी आफ्नो देशको नक्सामा उक्त क्षेत्र समेटी नयाँ नक्सा जारी गर्दा दुई देशबीच तनाव बढिराहेका समयमा नेपाली जनताको ठूलो संख्याले सामाजिक मेडियामार्फत बलिउड सिने कलाकार सुशान्त सिंह राजपुतका निधनमा शोक व्यक्त गर्दै समवेदना प्रकट गरिरहेका थिए ।
नेपाली राष्ट्रियता र राष्ट्रवादलाई नेपाली नेतृत्वले जानीबुझी विस्मरण गर्दै राष्ट्रिय स्वार्थका विषयमा गलत समझदारी गर्न पुगेका छन्
तर, लामो समयदेखिको दुई देशबीच सम्बन्ध व्यवस्थापनमा देखिएका कमी कमजोरीका कारण नेपाली जनस्तरमा भारतप्रति नकारात्मक धारणाको विकाश हुँदै आएको छ । यसरी दुई देशबीच सुसम्बन्धमा चिसोपना आउँदै जानुका पछाडि धेरै पक्ष जिम्मेवार छन् । यसलाई घटनाक्रम र तथ्यका आधारमा उल्लेख गर्ने प्रयास यस आलेखमा गरिएको छ ।
मनोवैज्ञानिक पक्षः
दुवै देशबीच देखिएको मनोवैज्ञानिक पक्ष सुसम्बन्ध विकास गर्न केही हदसम्म अवरोधका रूपमा देखिएका छन् । नेपाल कहिले पनि पराधीन रहेन, सधै स्वतन्त्र र स्वाभिमान कायम गरेको देश हो । भारतलगायत दक्षिण एसियाका धेरै देश ब्रिटिस उपनिवेशमा रहिरहेका बखत भारतलाई उपनिवेश बनाई शासन गरिराहेको बेलायतसँग सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र सम्मानित हैसियतमा नेपालले दौत्य सम्बन्ध कायम गरेको थियो । यो सम्बन्धले दुई शताब्दी पूरा गरिसकेको छ । भारत सन् १९४७ मा मात्र ब्रिटिस उपनिवेसबाट स्वतन्त्र हुनसकेको हो ।
त्यसैले विश्व संस्थालगायतका सबै प्रकारका अन्तर्राष्ट्रिय संस्था र मञ्चमा नेपालले भारतसरहको अधिकार र सम्मान प्राप्त गरिआएको छ । तर, भारतीय सोचाई अलि भिन्न छ । समुन्द्रसम्मको पहुँच भारत भएर मात्र उपयोग गर्न सकिने, दैनिक उपभोगका सामान भारतसँग बढी निर्भर रहनुपर्ने, जनसंख्या र क्षेत्रफलका हिसाबले नेपालभन्दा धेरै ठूलो, लामो समयदेखि लोकतन्त्रको अभ्यास भएको शक्ति सम्पन्न राष्ट्रका हिसाबले आफूलाई ‘बडे भाइ’ (बिग ब्रदर)को श्रेणीमा राखी नेपाललाई ‘छोटे भाइ’को व्यवहार गर्दै आएको छ । भारतको लामो समयदेखि गरिआएका कामबाट नेपालप्रतिको उसको व्यवहार सम्मान र समानता प्रदान गर्नेभन्दा दया माया गर्ने सोचाइबाट ग्रसित छ । नेपालका सानातिना व्यवस्थापनमा समेत भारतको प्रभाव र हस्तक्षेप विभिन्न समयमा देखिँदै आएको छ ।
राणाको शासन इस्ट इन्डिया कम्पनीकै समर्थनमा १०४ वर्षसम्म निरन्तरता प्राप्त गरेको, राना शासनलाई समाप्त गर्न भारतले नै राजा त्रिभुवनलाई भारतमा सरन दिई सहयोग गर्नु, नेपालको प्रशासन सुधारका विषयमा सरकारलाई सुझाव दिन भारतबाटै विज्ञहरू नेपालमा आई काम गर्नु, नेपालको मन्त्री परिषद् भारतका राजदूत उपस्थिति हुने चलन कुनै कालखण्डमा रहनु, नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतले नै समन्वय र सहयोग गर्दै आउनु, आदि केही उदाहरणहरू हुन्, जसले गर्दा नेपालका उच्च पदस्थ राजनीतिज्ञ प्रायः सबैको भक्तिभाव भारतीय शासकतर्फ देखिँदै गएको छ ।
यसले गर्दा नेपालको स्वतन्त्र हैसियत सार्वभौमसत्ता जस्ता विषय नै छायामा परेको स्थिति छ । यिनै कारणले गर्दा भारतले हाम्रा राज्नीतिज्ञको उचाइ र हैसियतको हेक्का राम्ररी राखेकाले उनीहरू सबै दृष्टिकोणले आफूलाई बडेभाइकै हैसियतमा राख्न मन पराउँछन् । तर, राष्ट्रियता र सार्वभौमसत्ता भौतिक आकार, जनसंख्या, शक्ति स्रोतसाधन एवं सामथ्र्यसँग तुलना गर्न मिल्दैन । यस यथार्थतालाई भारतीयले मनन गर्न सकेका छैनन् ।
पटक पटकको नाकाबन्दीः
उल्लेख भइसकेको छ समुन्द्र तटसम्म पुग्ने मार्ग भारत भएर जानुपर्ने भएकाले आफ्नो अनुकूल नेपाललाई परिचालन गर्न नसक्दाको अवस्थामा नाकाबन्दी गरी आफ्नो अनुकूल सहमतिमा ल्याउने गर्दै जाँदा नेपालीहरू धेरैपटक प्रताडित हुन पुगेका छन्, सन् १९७५, १९८९ र २०१५ मा नाकाबन्दी गरेर नेपाललाई दुःख दिएको थियो । यसरी पीडाबोध गरिराखेका जनताको भावना बिस्तारै भारतीय शासकवर्गविरूद्ध विकास हुँदै गएको छ । दुई देशका सरकारबीच सम्बन्ध सुधार भए पनि जनस्तरमा परेको यो नकारात्मक प्रभाव मेट्न भारतलाई धेरै मिहिनेत गर्नुपर्छ । तर, हालसम्म यसका लागि तयार देखिएको छैन । यस्तो गलत कदम उठाउनुपूर्व यसबाट दुई देशका जनताबीच पर्न जाने प्रभावका विषयमा विश्लेषण गर्नु जरूरी हुन्छ । तर, भारतको ध्यान कहिल्यै यसतर्फ गएन र आफू विरोधी जनमत आफैं सिर्जना गर्दै अत्यन्त गलत रबैया अवलम्वन गरिराखेको छ ।
विदेशीसँग झुक्नुभन्दा बरू नेपाली जनतासँग झुक्न तयार भई आफ्नो अधिकार कटौती गर्न मन्जुर गर्नेसम्मका राजाहरू देख्न पाइयो
सिमाना अतिक्रमणः
सिमाना अतिक्रमण गर्न भारत अभ्यस्त छ । सीमा सुरक्षा बल खडा गरी आफ्नो सिमानाको सुरक्षा गर्दै नेपालमा घट्ने राजनीतिक घटना क्रममा सहयोग गर्दै प्रत्येक घटनाक्रमपश्चात् नेपाली भूभाग अतिक्रमण गरिराखेको छ । नेपालले आफ्नो सिमानाको रक्षा गर्ने जिम्मेवारी स्थायी संयन्त्र खडा गरेर गराउन नसक्नुको कारण भारतलाई नेपाली भूभाग अतिक्रमण गर्न सहज भएको छ । सिमाना अतिक्रमण गर्न नदिने र अतिक्रमण भएकै बखत बिरोध गरी यस्ता गलत प्रक्रियालाई निषेध गर्ने हैसियतमा नेपालका विभिन्न कालखण्डका सरकार नदेखिनु, अघिल्लो सरकारलाई जिम्मेवार बनाउँदै पछिल्लो सरकार जिम्मेवारी र जवाफदेहीताबाट पछि हट्दै जानु, भारतीय सुरक्षा दस्ता पटक पटक नेपाल प्रवेश गरी नेपाली नागरिकको हत्या र कुटपिट गर्नु, नेपालीलाई भारतीय सिमानामा अमानवीय व्यवहार पटक पटक हुनु जस्ता कारणले गर्दा नेपालीको भावनामा गम्भीर असर पार्ने काम भारतीय पक्षबाट भइराखेको छ । यस रबैयामा सुधार गर्ने सोच भारतीय पक्षमा देखिएको छैन ।
असन्तुलित सन्धि र समझदारीः
नेपालका नदीनालामा भारतीय स्वार्थनिहीत रहेको छ । नेपालमा जलस्रोतको अपार भण्डार रहेकोले यसबाट बढी लाभान्वित हुने रणनीति र तानाबाना भारतले बुनिरहेको छ र प्रस्ट फाइदा लिइरहेको छ । गण्डकी, कोसी, महाकालीमा सम्झौता गर्दा नेपाललाई नगन्य सुविधा दिई बढी फाइदा भारतले लिइराखेको छ । सन् १९५० मा सम्पन्न भारत र नेपालबीच शान्ति र मैत्री सन्धिले पनि नेपाली जनताको भारतप्रतिको सोचमा नकारात्मक सन्देश प्रवाह भएको छ । यसबाट नेपाललाई भारतको सुरक्षा कवच बनाउन भारत सफल भएको छ । यी सबै यस्ता सन्धिहरू हुन् जसमा नेपालीलाई धेरैतिर चुकाइएको छ । यसमा नेपाली राष्ट्रियता र राष्ट्रवादलाई नेपाली नेतृत्वले जानीबुझी विस्मरण गर्दै राष्ट्रिय स्वार्थका विषयमा गलत समझदारी गर्न पुगेको छ ।
यसका अतिरिक्त भगवान बुद्धको जन्मस्थल र प्राचीन कपिलवस्तु’bout पनि भारतले समय समयमा विवाद गर्दै आएको छ । सबै तथ्यले यी दुवै स्थान नेपालको रूपन्देही र कपिलवस्तु जिल्लामा पर्ने हो तापनि भारतले कपिलवस्तु जिल्लाको सिमाना नजिकै चाकरचौडा क्षेत्रनजिक प्राचीन कपिलवस्तु खडा गरी प्रचारप्रसार गर्दै आएको छ । बुद्धको जन्म स्थल’bout लुम्बिनीले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार पाइरहेको छ । तर, भारतले अझै पनि विभिन्न मञ्चमा भारतमै भएको दाबी गर्न छाडेको छैन ।
यद्यपि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्लाई सम्बोधन गर्दै भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा नै भएको स्पस्ट पारेका छन् । यी सबै स्थितिबाट नेपालप्रतिको भारतीय सोचाइ अत्यन्त नकारात्मक देखिँदै गएको आलोचना नेपालमा मात्र होइन भारतीय विद्वानले समेत गरिरहेका छन् । यो अवस्थामा सुधार ल्याउन भारतीय पक्ष स्पस्ट भई प्रयासरत रहनुपर्नेमा सो प्रयास गर्ने संकेतसम्म पनि देखिएको छैन ।
नेपाली पक्ष पनि यो अवस्था सिर्जना हुनुमा जिम्मेवार देखिन्छन् । नेपालमा विभिन्न काल खण्डमा विचित्र प्रकारका शासक देखिएका छन् । प्रधानमन्त्री नियुक्त गर्न भारतीय प्रधानमन्त्रीसँग निकासा माग गर्ने, रिट्रिटका लागि कलकतामा गएर महिनौसम्म बस्नेदेखि विदेशीसँग झुक्नुभन्दा नेपाली जनतासँग झुक्न तयार भई आफ्नो अधिकार कटौती गर्न मन्जुर गर्नेसम्मका राजा देख्न पाइयो । नेपालको उतरी सिमानामा १८ स्थानमा भारतीय सैनिकलाई स्वागत गर्दै अनन्त कालसम्म बस्न दिने प्रधानमन्त्रीदेखि भारतको उत्तरी सिमाना हिमाल नै भएको अभिव्यक्ति भारतीय प्रधानमन्त्री पण्डित नेहरूले दिँदा त्यसको विरोध गर्दै उक्त अभिव्यक्ति सुधार गर्न लगाउनेसम्मका राष्ट्रियताको भावनाले ओतप्रोत भएका प्रधानमन्त्री पनि संयोगवस एकै परिवारका सदस्य देखिए । यसरी नेपालसँगको सम्बन्ध सुधार हुन नसकेको अवस्थामा गैरकूटनीतिक अभिव्यक्तिको निरन्तरताका कारण दुई देशबीच सम्बन्धमा थप तिक्तता थपिई भारतका सांसद र सञ्चार माध्यमका साथै प्राज्ञहरू समेत लिम्पियाधुरा क्षेत्रमा नेपाललाई अन्याय भएको भनी सरकारलाई दबाब दिइरहेको स्थितिमा मोदी सरकारलाई अप्ठ्यारो पर्ने स्थिति बनिरहेको थियो ।
तर, हाम्रो अभिव्यक्तिले अब भारतको ध्यान अन्यत्र मोडिएको छ । अब सिमानासम्बन्धी विषयमा दुई देशबीच वार्ताको ढोका बन्द गर्ने स्थितिमा भारत पुगिरहेको छ । यसबाट नेपाललाई फेरि पनि अप्ठ्यारो परेको छ किनकि, सिमानासम्बन्धी समस्याको एक मात्र समाधान भारतसँग वार्ता गरेर मात्र हुन सक्दछ । यस्तै, अदूरदर्शी काम कारबाहीले गर्दा दुई देशबीच सम्बन्धमा चिसोपना बढ्दै गएकाले दुवै पक्ष सम्बन्ध सुधारका लागि इमानदारीता साथ लागिपर्नु जरुरी छ ।






