मुख्यमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

पोखरा । अनेरास्ववियु र युवा संघले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गर्दै मंगलबार प्रदेशसभा भवन अगाडि प्रदर्शन गरे । बिहान साढे १० देखि करिब २ घण्टासम्म उनीहरुले नदीपुरस्थित प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका हुन् । जसका कारण सो क्षेत्रमा यातायात अबरुद्ध बनेको थियो ।

मुख्यमन्त्री पोखरेलले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा उठेका विषयमाथि मंगलबार संसदमा जवाफ दिने कार्यक्रम पूर्व विरोध गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

मुख्यमन्त्री पोखरेल सहित प्रदेशका मन्त्री, सांसद लगायतले आप्mना बाबुआमाको नाममा खोलिएका ट्रष्टमा करोडौं रुपैयाँ बराबरको बजेट विनियोजन गरेपछि व्यापक विरोध छ । प्रमुख प्रतिपक्ष दल एमाले निकट अनेरास्ववियुले पोखरामा मुख्यमन्त्रीलाई रु. १ दान अभियान थालेको छ । सोमबारदेखि सुरु सो अभियानमा संकलित रकम प्रदेश सरकारलाई एकुमष्ठ बुझाइने अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले जानकारी दिए ।

रकम विनियोजन वैधानिक : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुनै पनि ट्रष्ट र प्रतिष्ठानका नाममा सरकारको रकम विनियोजन वैधानिक हुने जिकिर गरेका छन् । गण्डकी प्रदेशसभाको १० औं अधिवेशनअन्तर्गत २५ औ बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै मुख्यमन्त्री पोखरेलले सो जिकिर गरेका हुन् ।

विभिन्न आन्दोलनका क्रममा सहिद भएकाहरुलाई राज्यले सम्मान गर्नुपर्ने प्राक्टिक्स रहेको भन्दै उनले आफ्ना बाबु गोबद्र्धन शर्मालाई अहिलेको पुस्ताले नचिनेको पनि बताए ।

उनले भने, ‘२००७ सालको क्रान्तिदेखि छुवाछूत विरुद्धको आन्दोलन, हलोक्रान्ति लगायतका आन्दोलनमा निरन्तर खटिनुभयो । २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरिसकेपछि परवासमा बस्नु भो । उहाँको सारा सम्पत्ति हरण भो । परिवारजन आश्रित भए । पटक पटक जेलजीवन र हिरासत हुनुभयो । अहिलेको पुस्ताले चिनेन । अघिल्लो पुस्ता त्यो व्यक्तिको नाम लिंदै गर्दा सम्मानको रुपमा लिने गर्दछ ।’
मुख्यमन्त्री पोखरेलले अगाडि भने, ‘इतिहासमा त्यस्ता व्यक्तिहरु पनि हुनुहुन्छ जो राष्ट्रको कुनै पदमा बस्नु भो, जो जसले जिन्दगीभर आफ्नो व्यक्तिगत कुरातर्फ लाग्नुभएन । नेपाललाई परिवर्तन गर्नका लागि योगदान दिनुभो । राष्ट्रले प्रदेशले सम्झिने कि नसम्झिने ?’

यसखालका ट्रष्टहरुलाई केन्द्रीय सरकारले करोडौं रुपैयाँ दिएको छ भन्दै आफ्नो परिवारले खान बनाएको पनि होइन, भविष्यमा पनि अमर रहोस् भनेर त्यस्ता प्रतिष्ठान बनेका हुन्छन् । त्यहाँ सहयोग पुगेको हुन्छ । यो आमप्राक्टिक्स हो,’ उनले भने ।

उनले अघिल्लो सरकारले पनि स्व.रवीन्द्र अधिकारीको नाममा रहेका संस्थालाई रकम विनियोजन भएको स्मरण गराए । अहिले भने पूर्वाग्रही ढंगले सोचिएको दुखेसो पोखे । उनले आफूमाथि विरोधको शैलीसमेत गलत भएको बताए । उनले भने, ‘प्रस्तुतिकरण हुँदै गर्दा शब्द चयन राम्रो गर्न पर्छ । संचारकर्मीलाई पनि आग्रह छ । व्यक्ति भनेर दान, उपदानलाई भनेर दिएको दान होइन ।’

उनले रकम विनियोजन वैधानिक रुपमा हुँदाहुँदै पनि नागरिक समाज, सामाजिक सञ्जालमा आएका टिप्पणी, प्रमुख प्रतिपक्षी दलको भावनालाई आत्मसात गर्दै त्यसखालका ट्रष्ट तथा प्रतिष्ठान लगायत कार्यक्रममा विनियोजित श्रोत प्रदेशका प्राथमिकताका क्षेत्रमा विनियोजन गर्न आफूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको दोहो-याए ।

मुख्यमन्त्री पोखरेलले तनहुँको व्यास १० मा आफ्ना बाबु गोबद्र्धन शर्माको नामको कोषमा ५० लाख रूपैयाँ विनियोजन गरेका थिए । यस्तै, शिक्षामन्त्री मेखलाल श्रेष्ठको आमाबुवाको नामको ‘पुन नारायण–धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट’ मा १ करोड रुपैयाँ विनियोजन गरेका थिए । कांग्रेस नेता अर्जुनप्रसाद जोशीका पिता अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क निर्माण गर्न ४० लाख, पर्वतका कांग्रेस नेता स्व. डिल्लीराम लामिछानेको नाममा समेत प्रतिष्ठान बनाउन गण्डकी सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 383 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?