बदनाम बन्दै मुलुककै जेठो विश्वविद्यालय

काठमाडौं । देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ ।

प्रधानमन्त्री कुलपति रहने त्रिविमा पछिल्लो दिन गम्भीर प्रकारका गल्ती दोहोरिनेक्रम बढेका छन् । प्रश्नपत्र गत वर्षको हुबहु हुने, परीक्षाफल समयमै प्रकाशन नहुने, ढिलासुस्ती तथा अनियमिततालगायत कारण जेठो विश्वविद्यालयको प्रतिष्ठा र विश्वासमाथि प्रश्न उठ्न थालेको छ ।

त्रिविले गत १८ जेठमा लिएको मानविकी संकाय स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत पब्लिक इकोनोमिक्स र २३ जेठमा स्नातकोत्तर तहको राजनीतिशास्त्र पहिलो सेमेस्टारको इन्टरनेसनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मिलेको थियो । ६० पूर्णांकको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको हुबहु मिलेको होे ।

– हुबहु प्रश्नपत्र पटकपटक दोहोरिँदै

– वर्ष बित्दासमेत प्रकाशन हुँदैन परीक्षाफल

– सामान्य काममा घण्टौं लाइन बस्नुपर्ने बाध्यता

त्रिविले हुबहु प्रश्नपत्र दोहोरिएको’bout छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको अवस्थामा अर्को विषयको पनि प्रश्नपत्र हुबहु दोहोरियो । त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाउन लगाउने गरेको छ । तर, प्रश्नपत्र भने हुबहु दोहोरिने गरिएको छ । यस घटनाप्रति त्रिविको चर्को आलोचनासमेत भएको छ ।

त्रिविअन्तर्गतकै बीबीए छैटौं सेमेस्टर नेपाली राजनीति र समाज विषयको प्रश्नपत्रमा पनि गम्भीर लापरबाही पाइयो । असार अन्तिम साता भएको परीक्षामा पाँचौं सेमेस्टरको समाजशास्त्र विषयको प्रश्न राखेर प्रश्नावली बाँडिएपछि विवादित बन्यो ।

त्रिविमा यो वर्ष मात्रै झन्डै डेढ सय दिन ताला लागेको छ । सरकारको नेतृत्व गरिरहेको पार्टीनिकट नेपाल विद्यार्थी संघले त्रिवि उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्ष कार्यालयमा ताला लगाएको हो ।

कर्मचारी संघसंगठनले पनि त्रिविमा तालाबन्दी गरे । विश्वविद्यालय कार्यकारी परिषद्ले युथ क्याम्पस जनकपुरलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सञ्चालनका लागि दिएको सम्बन्धन खारेज गरेपछि नेविसंघ तालाबन्दीमा उत्रियो । लामो समय तालाबन्दी हुँदासमेत खुलाउन नसकेको तथा सम्बन्धित निकायले चासो नदेखाएको पाइयो ।

त्रिविले समयमै परीक्षाफल प्रकाशित नगरेका कारण पनि त्रिविप्रतिको विश्वास घट्दो मात्रामा रहेको पाइएको छ । त्रिविले लिएको परीक्षा सम्पन्न भएको वर्ष दिन बित्दासमेत कतिपय विषयको परीक्षाफल प्रकाशित नहुने गरेको छ ।

समयमै परीक्षाफल प्रकाशित गर्न त्रिवि असफल देखिएको छ भने विद्यार्थीले त्यसको चर्को विरोध गर्ने गरेका छन् । परीक्षाफल प्रकाशनमा मात्र नभएर त्रिविले दिने सेवासुविधामा ढिलासुस्ती हुने गरेको विद्यार्थी गुनासो गर्छन् । सामान्य काममा लागि पनि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यतामा विद्यार्थी छन् ।

उपकुलपति डा. धर्मकान्त बाँस्कोटा

प्रश्नपत्र हुबहु हुनुमा प्राध्यापककै लापरबाही: उपकुलपति
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले ‘प्रश्नपत्र बनाउने प्राध्यापकको लापरबाहीकै कारण प्रश्नपत्र हुबहु भएको’ प्रस्ट पारेका छन् ।

‘हुबहु प्रश्नपत्र प्रकरण’मा प्राध्यापक नै दोषी रहेको पाइएको बताउँदै उनले ‘प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्नेजस्ता समस्या देखिएको’ बताएका हुन् ।

त्रिवि शिक्षा तथा स्वास्थ्य समिति बैठकमा उपकुलपति बाँस्कोटाले ‘त्रिवि परीक्षामा प्रश्नपत्र हुबहु सम्बन्धमा सम्बन्धित प्राध्यापकलाई कारबाही गरिएको’ पनि जानकारी दिए ।

त्रिविले प्रश्नपत्र हुबहु सम्बन्धमा प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिकै सिफारिसमा तीन प्राध्यापकलाई कारबाही गरिएको उनले जानकारी दिए ।

त्रिविमा मानविकी संकायले गत १८ जेठमा स्नातकोत्तर तह तेस्रो सेमेस्टर अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र २३ जेठमा स्नातकोत्तर तह राजनीतिशास्त्र पहिलो सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

त्यस्तै, व्यवस्थापन संकाय स्नातक तह बीबीए छैटौं सेमेस्टरको गत २२ र २५ असारमाको प्रश्नपत्र पनि हुबहु पाइएको छ ।

यसैगरी, मोडर्न नेपाल कलेजको तीन महिनाअघि सोधिएको प्रश्नपत्र २२ असारको परीक्षामा र शंकरदेव क्याम्पसले लिएको प्री–बोर्ड परीक्षामा सोधिएको प्रश्नपत्र २५ असारमा बीबीएलाई सोधिएको थियो ।

‘ती उपप्राध्यापकलाई प्रश्नपत्र बनाउन दिँदा उहाँले मोडर्न कलेजमै सोधिएको प्रश्नपत्र दिनुभयो,’ उनले भने, ‘यसरी तीन महिनाअघि मोडर्न कलेजको आन्तरिक परीक्षामा सोधिएको प्रश्नपत्र त्रिवि परीक्षामा पनि सोधिएको पाइयो ।’

समाजिक सञ्जालका कारण हुबहु प्रश्नपत्र’bout जानकारी प्राप्त भएको भन्दै उनले ‘अबदेखि हस्तलिखित प्रश्नपत्र माग्ने’ प्रतिबद्धता जनाए । ‘प्राध्यापकले प्रश्नपत्र बनाउनुभन्दा अर्काको किताबबाट सार्ने गरेको पाइएको छ,’ त्रिवि उपकुलपति डा. बास्कोटाले भने, ‘अबदेखि हामी हस्तलिखित प्रश्नपत्र माग्नेछौं ।’

प्रश्नपत्रका हुबहु सम्बन्धमा त्रिविले प्राडा भोजराज अर्यालको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको बताए । ‘हुबहु प्रश्नपत्र अल्छीपनाले होइन, गल्ती गरेका हुन्,’ उनले भने, ‘हुबहु प्रश्नपत्र बनाउनेलाई कारबाही गर्नुपर्दछ ।’

त्यस्तै, समिति सभापति जयपुरी घर्तीले हुबहु प्रश्नपत्र बनाउनेलाई कारबाही गर्न निर्देशन दिएकी छन् । प्रश्नपत्र सम्बन्धमा ‘कहाँ–कहाँ गल्ती भएको’ भन्दै उनले थपिन्, ‘ती गल्ती गर्नेलाई कारबाही गर्नुपर्दछ ।’

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रैनादेवीछहरामा गठबन्धनका उम्मेदवार विजयी विजयी